पोखरामा हुने एट ए साइड भेट्रान्स फुटबल प्रतियोगितामा काठमाडौंका ११ टिम सहभागी हुने «

पोखरामा हुने एट ए साइड भेट्रान्स फुटबल प्रतियोगितामा काठमाडौंका ११ टिम सहभागी हुने

पोखरा-बगर भाइ खलकको आयोजनामा पोखरामा यही सोमबारदेखि दसौं बगर भाई खलक एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको छ । यही फागुन २४ देखि २९ गतेसम्म पोखराको पुरानो टुँडिखेल मैदानमा चौथो स्व.रन्जित गुरुङ स्मृति तथा दशौं बगर भाई खलक एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा काठमाडौंका ११ सहित २८ टिमको सहभागिता हुने भएको बगर भाइ खलकका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीलबहादुर गुरुङले बताए । वीरगन्ज, हेटौंडा, चितवन, बुटवल, वालिङसहित पोखराका टिमहरूको प्रतियोगितामा सहभागी हुने भएको उनले जनाए । प्रतियोगिताको विजेता टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको साथमा रनिङ शिल्ड पदक र प्रमाण—पत्र प्रदान गरिने भएको छ ।
उपविजेतालाई भने ५५ हजार ५ सय ५५ को साथमा ट्रफीको साथमा मेडल प्रमाणपत्र वितरण गरिने भएको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड ट्रफीको साथमा जनही ५ हजार र अनुशासित टीमलाई समेत ट्रफी प्रदान गरिने भएको छ । हरेक खेला वेलायतबाट ल्याएको आकर्षक म्यान अफ दी म्याच ट्रफी प्रदान गनिरे भएको छ । प्रतियोगिताको नवौं संस्करण टि बर्गर जाउलाखेल प्रथम भएको थियो ।
उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने भएको महासचिव यामबहादुर गुरुङले बताए । प्रतियोगिताबाट १६ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको उनले जनाए ।
कोरोनाले गर्दा यस वर्षको प्रतियोगितालाई सफल पार्न बगर भाई खलकका सदस्यहरूबाट जनही ५ हजारको सहयोग प्रदान गर्ने निर्णय भएको अध्यक्ष गुरुङले जनाए । बगर भाइ खलकले स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरूका लागि नौलो आयामका साथ विगत २०६८ सालदेखि निरन्तर रुपमा उक्त प्रतियोगितालाई निरन्तरता दिँदै आएको उपाध्यक्ष तेजबहादुर गुरुङले बताए । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्षसमेत रहेका उपाध्यक्ष गुरुङले पुरानो टुडिखेल मैदान ऐतिहासिक खेल मैदान भएकाले त्यसको संरक्षणमा सरोकार पक्षको ध्यान जानुपर्ने बताए । प्रतियोगिताले ४० बर्ष देखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीहरूको खेलबाट नयाँ पिँढीलाई खेलकुदप्रति अभिरुचि जगाई भविश्यमा खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास लिइएको बगर भाइ खलकले जनाएको छ ।
प्रतियोगिताको अवसरमा पूर्व राष्ट्रिय फुटवल खेलाडी, पूर्वप्रशिक्षकm भूपू खेलाडी मञ्च नेपालका महासचिव खेमबहादुर गुरुङलाई ताम्रपत्र सहित सम्मान गरिने भएको छ । लामो समयदेखि पृथ्बीनारायण क्याम्पसका खेल शिक्षक, पोखरामा टेनिस, हक्कि, बास्केटबल, क्रिकेट, फुटबल, भलिबलसहित अन्य खेलको विकासमा योगदान पुराएका रन्जित गुरुङको स्मृतिमा उक्त प्रतियोगिता हुने भएको महासचिव गुरुङले जनाए । पत्रकार सम्मेलनमा सहारा हङकङका प्रतिनिधि ओम गुरुङलाई बगर भाइ खलकले आजिवन सदस्यता प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्