वडाध्यक्षसँग नेपाल र भारतको नागरिकता «

वडाध्यक्षसँग नेपाल र भारतको नागरिकता

विराटनगर-मोरङको सुनबर्षी नगरपालिका ८ का वडाध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको पाइएको छ ।
मियाँको नेपाल र भारतको दोहोरो नागरिकता रहेको खुलेको हो । वडाध्यक्ष मियाँले ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधारकार्ड रहेको छ । उक्त आधारकार्डमा १९७९–१–१ लेखिएको छ । नेपाली नागरिकतामा भने नुरुलको जन्म २०३६ वैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ नम्बरको र जारी मिति २०५५ असार ५ गते भएको पाइएको छ । आधारकार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खातासमेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९) मा एटिएमसमेत लिएको देखिन्छ । उनले बैंकमा ९०६५६८८१९८ नम्बरको भारतीय सम्पर्क नम्बर राखेका छन् । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मियाँ सोनापुर वडा नम्बर ८ अररिया देखिन्छ ।
नेपालमा पनि नुरुल मियाँको नाममा वंशजकै नागरिकता रहेको छ । उनले वंशजको नागरिकता लिएको देखिएको छ । आधार कार्डको आधारमा भारतीय बैंकहरूमा खाता खोलेर एटीएम, भारतबाटै सिम कार्ड निकालेर प्रयोग गरेको देखिन्छ । वडाअध्यक्ष मियाँले व्यवसाय गरेपछि बैंकमा खाता खोलेको बताउँदै अहिले ठेक्कापट्टा लगायतका विषयमा जोडिएका केही व्यक्तिहरूले अनावश्यक उचालेर प्रभावित बनाउन खोजेको बताए । उनले दिल्लीमा बस्दा आधारकार्ड बनाएको स्वीकार गर्दै आफू भारतीय नागरिक नभएको जिकिर गरे । आधारकार्ड बनाएपछि बस्नका लागि सहज हुने भएका कारण बनाएको बताउँदै अध्यक्ष मियाँले भारतीय नागरिक भएको पुष्टि हुने अन्य कागजात नभएको दाबी गरे ।
स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरूकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा नुरुल मियाँको दोहोरो नागरिकताबारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी हालेका छन् । नुरुलले भारतको नागरिकताबाट त्यहाँको सुविधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बदर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न उनीहरूले पत्रकार सम्मेलन गरि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्