कवाडी उठाउने अनुमति नदिँदा सिडियोको सरुवा «

कवाडी उठाउने अनुमति नदिँदा सिडियोको सरुवा

दोलखा-तामाकोसी सरसफाइ अभियानको नामबाट माथिल्लो तामाकोसी जलविद्युत् आयोजना क्षेत्रका करोडौंको कवाडी उठाउन नपाएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडियो) कै सरुवा भएको छ । ६ महिनाअघि मात्र प्रमुख जिल्ला अधिकारी भएर दोलखा आएका रमेश शिवाकोटी बुधबार जिल्लाबाट बिदाइ भएका छन् । उनको गृह मन्त्रालयले सरुवा गरी उनको ठाउँमा वासुदेव घिमिरेलाई पठाएको छ ।
दोलखामा प्रथम श्रेणीको कर्मचारी प्रमुख जिल्ला अधिकारी पठाउने निर्णयपछि शिवाकोटी पहिलो हुन् । आफ्नो सेवाअवधि ९ महिनामात्र बाँकी रहेका शिवाकोटी सरुवा भएपछि पुनः द्वितीय श्रेणीका कर्मचारीलाई नै प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।
शिवाकोटी सिडियो भएर आएपछि तामाकोसी कोसी सरसफाइको फलामका सामानको खियाले जलचरलाई असर गरेको भन्दै तामाकोसी सरसफाइ अभियान सञ्चालन गर्न एक हुल व्यक्ति लागेका थिए । तामाकोसी सरसफाइ गरेर माथिल्लो तामाकोसी जलविद्युत् आयोजना क्षेत्र गोगरदेखि जगतसम्मको क्षेत्र सरसफाइ गर्ने मुख्य उद्देश्य थियो ।
रूपन्देही जिल्ला ठेगाना भएको जानकी हार्डवेयर एन्ड स्क्रेप सप्लायर्सले निवेदन लिएर स्थानीय नै लागिपरेका थिए । गौरीशंकर गाउँपालिका र विगू गाउँपालिकाबाट सिफारिससमेत लिएर निःशुल्क सरसफाइ गर्ने अभियानकर्ताको माग थियो । अभियानकर्मीकै मागबमोजिम वातावरण विभागका शाखा अधिकृत सागरप्रसाद सिग्देलले २०७७ पुस २१ मा चलानी नम्बर ४९८ मार्फत फोहरजन्य वस्तुको व्यवस्थापन गर्ने कार्यमा कुनै आपत्ति नहुने भनेर पत्राचारसमेत गरेका थिए ।
तर आयोजना पूरा नभएकाले आफ्नो क्षेत्रबाट कवाडी उठाउन नपाउने भन्दै आयोजना व्यवस्थापनले विरोध गरेपछि यसको विषय प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो । यस विषयमा अनुमति दिन प्रमुख जिल्ला अधिकारीलाई सरकारको माथिल्लो तहबाट ठूलै दबाब आएको जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ ।
सरकारमा रहेका माथिल्लो तहको स्वार्थ अनुकूल काम नहुने भएपछि छोटो समयमै प्रमुख जिल्ला अधिकारीको सरुवा भएको कार्यालयका कर्मचारीले आशंका गरेका छन् । कवाडीको विषय माथिसम्म पुगेपछि दुवै गाउँपालिकाले आफ्नो सिफारिससमेत फिर्ता गरेका छन् । “पहिला नदी सरसफाइ भन्ने पवित्र उद्देश्य होला भनेर सिफारिस दियौं,” गौरीशंकर गाउँपालिकाका एक कर्मचारीले भने, “तर विषय ठूलै स्वार्थसँग गाँसिएर माथिसम्म पुगेपछि सिफारिस फिर्ता ग¥यौं ।”
सोही पत्रको आधारमा जानकी हार्डवेयरले विगू र गौरीशंकर गाउँपालिकामा पुनः निवेदन दिएपछि निःशुल्क सरसफाइ गर्न अनुमति प्रदान गरेको ती स्थानीय तहको विभिन्न पत्रबाट खुल्न आएको छ । गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकुमार श्रेष्ठले २०७७ असोज २५ मा चलानी नम्बर २६० मार्फत सरसफाइ गर्न अनुमति दिएका थिए । बिगु गाउँपालिकाका निमित्त अध्यक्ष बनेर सञ्जीव ओलीले २०७७ मंसिर ५ मा चलानी नम्बर ७१४ मार्फत सरसफाइ गर्न अनुमति दिएको पत्रमा उल्लेख छ ।

केके छन् कवाडी
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । ४५६ मेगावाट क्षमताको आयोजना स्वदेशी लगानीमा बनेको पब्लिक कम्पनीले बनाएको हो । आयोजना पूरा हुन लागेपछि त्यहाँ प्रयोग भएका करोडौं मूल्यका कवाडी सामानमा धेरैको ध्यान खिचेको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले २०७२ को भूकम्प र सोही वर्ष आएको बाढीले बगाएको एउटा बेलिब्रिज, ९ वटा कन्टेनर पावर हाउसमा प्रयोग हुने सामान खोलामै छन् । त्यस्तै आयोजनामा निर्माण कम्पनीहरूले प्रयोग गरेर रहेका पनि करोडौंका कवाडी छन् । आयोजना पूरा भएपछि सम्बन्धित कम्पनी र आयोजनाले प्रक्रिया पु-याएर लिलामी गर्छ ।
विदाइ हुने बेला स्थानीयसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवाकोटीले सरुवाको विषयमा अनेक आशंका नगर्न आग्रह गरे । जागिरको अन्तिम समयमा जिल्लाको विकास निर्माणमा समेत केही सहयोग गर्न सकिन्छ कि भनेर आएको तर निर्वाचन हुने भएपछि आफू जिल्ला नबस्ने मनसाय राखेकाले सरुवा भएको हुनसक्ने बताए । फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले संसद पुनःस्थापना भएसँगै निर्वाचनसमेत टरेपछि प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्