अपराधी नै आन्दोलनको नाइके «

अपराधी नै आन्दोलनको नाइके

पछिल्ला घटनाहरूमा अपराधीको अनौठो रूप देखिएको छ । देशव्यापी बनेको बैतडीकी भागरथी भट्टको हत्यामा संग्लन भएका दिनेश भट्टदेखि गुल्मीको एक घटनामा संलग्न अभियुक्तको रूप एउटै देखिएको छ ।
बैतडीको दोगडाकेदार ७ की भट्टको हत्यामा संग्लन भएका दिनेश भट्ट उनको न्यायका लागि आन्दोलनमा थिए । भागरथी भट्टलाई न्याय दे भन्दै नारा लगाउने दिनेश केही दिनपछि पक्राउ परे । पक्राउपछिको बयानमा हत्या स्विकार गरे । गुल्मीको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजनिक गरेको छ । सार्वजानिक गरिएका लालबहादुर खत्री केही दिनअगाडी सम्झनाको न्यायका लागि जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलनमा थिए । आन्दोलनको योजना तयार गर्ने लालबहादुर नाइकेको रुपमा थिए । उनीसहित आन्दोलन टोली सम्झनाको खोजीका लागि भन्दै प्रशासन कार्यालय ढोका तोडेर भित्र छिरेका थिए ।
अझ अचम्मको कुरा आन्दोलनमा सहभागी गराउन उनी भाडगाउँका स्थानीयको घरघरमा पुगेर निम्तो दिएका थिए । तोमकला खत्रीको शव अन्त्येष्टीदेखि सबैखाले क्रियाकलापमा लालबहादुरले सक्रियता देखाएका थिए । “सार्वजानिक गरिएका अभियुक्त सम्झनाको खोजीका लागि हाम्रो कार्यालयमा आएका थिए ।” जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले भने, “हामीले संकाको आधारमा उनलाई सुरुदेखि नै निगरानी गरेका थियौं ।” तोमकला खत्री सम्झना बोहोराकी सासू हुन् । सम्झनाको बेपत्ता भएको २ दिनपछि सासू तोमकलाले आत्महत्या गरेकी थिइन् ।
अनुसन्धानको क्रममा लालबहादुरले सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए । अभियुक्त खत्रीलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सम्झनाकी सासूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अनुसन्धानको अर्को दिन सासू तोमकली खत्री फागुन २ गते घर नजिकै खनियाँको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । सम्झनाको खोजी र तोमकलाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा भएको आन्दोलनमा नाइकेको रुपमा अहिले सार्वजानिक भएका लालबहादुर नै थिए ।
माघ २९ गते रातिदेखि बेपत्ता भएकी सम्झनाको शव १८ दिनपछि घरनजिक टाउको बोरामा र शरीर स्याउला सहित ढुङ्गाले च्यापेर राखेको अवस्थामा फेला परेको थियो । शवको गन्ध आएको आधारमा स्थानीयले खबर गरेपछि सम्झनाको शव फेला परेको हो । लालबहादुरले सम्झनाको हत्या गरेको स्विकार गरे पनि के कसरी हत्या भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
सम्झनाको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । तोमकलाले आत्महत्या नै गरेको पोष्टमार्टम रिपोर्टबाट खुलेको प्रहरीले जनाएको छ ।

आफन्तसँग नै डर
बैतडीकी भागरथी भट्टको हत्यामा संग्लन भएका दिनेश भट्ट नजिकैका छिमेकी हुन् । नाताले दाजु पर्ने उनलाई प्रहरीले पक्राउ गरेपछि भागरथीको हत्या गरेको स्विकार गरेका थिए । गुल्मीको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा भएको घटनामा पनि नजिकैका नाताले ससूरा पर्ने लालबहादुर सार्वजानिक भएका छन् । यसरी अपराधीक क्रियाकलापमा पनि आफन्त संलग्न हुनुले आफन्त सँग नै डर मान्नुपर्ने स्थिती आएको रेसुङ्गा नगरपालिका ३ भाडगाउँका स्थानीयले बताउँछन् । पछिल्लो समयमा घटेका प्राय अपराधीक घटनाहरू यौनीक क्रियाकलापसँग सम्बन्धित छन् ।

सन्तोष महतारा

प्रतिक्रिया दिनुहोस्