कोरोना महामारीको संक्रमणले अर्थतन्त्र चौपट «

कोरोना महामारीको संक्रमणले अर्थतन्त्र चौपट

नेपालको कोरोनाविरुद्धको प्रयास र तदारुकता जति राम्रो देखिए पनि भौगोलिक अवस्था, सामाजिक बनोट तथा अल्पविकसित मुलुकको स्टाटसका कारण प्रयास अपर्याप्त देखिएको छ ।

विगत केही दिनदेखि विद्युतीय सञ्चारमाध्यमले छिमेकी मुलुक भारतमा फेरि एकपटक कोरोनाको संक्रमणमा व्यापक वृद्धि भएको देखाइरहेका छन् । विशाल जनसंख्या भएको भारतमा यसरी कोरोना संक्रमण बढ्नु नेपालका लागि पनि राम्रो होइन । भारतको मुम्बइमा पछिल्ला सातामा कोरोना संक्रमण बढिरहेको समाचार आइरहेका छन् ।
यस्तै, दुई मुलुकबीच खुला सिमानाका कारण सिमाना बन्द गर्दा पनि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । नेपाल र भारतबीच सदियौंदेखि ‘रोटी र बेटी’ को सम्बन्ध रहिआएको छ । त्यसैले सिमानामा ब्यवस्थितरुपमा आवतजावत गर्न दिँदा बरु एकप्रकारले संक्रमणको खतरा टार्न मद्दत गर्दछ । पारिवारिक सम्बन्ध सीमा वारपार जोडिएका यी दुई देशबीच सीमाबाट आवतजावत रोक्नु सहज काम पक्कै होइन । त्यसमाथि नेपाल–भारत सीमामा लुकीछिपी भन्सार छलेर सामान ओहोरदोहोर गराउनेहरू पहिलेदेखि नै सक्रिय छन् । तिनीहरू नै अहिले मानव ओसारपसारमा सक्रिय नहोलान् भन्न पनि सकिन्न ।
धेरै जनसंख्या भएका कारण भारतमा केन्द्रीय र प्रादेशिक सरकारको निर्देशनसमेत नागरिकले अवज्ञा गरिरहेका छन् । विशेष गरी भारतमा मुस्लिम समुदायबाट लकडाउनको धेरै अवज्ञा भएको देखिन्छ, जसका कारण नेपाल पनि ढुक्क भएर बस्ने अवस्था छैन । भारतमा भएको कुनै पनि घटनाको तत्काल र प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भएकाले भारतको यो ट्रेन्डले नेपालमा यस्तै परिस्थिति सिर्जना हुने खतरा कायमै छ । यसमाथि भारतीय च्यानलको नेपालमा अत्यन्तै प्रभाव रहेकाले भारतका यी घटनाक्रमहरू नेपालीबाट लुक्न सक्ने अवस्था पनि रहेन । यसअघि पनि भारतमा कोरोना संक्रमण रोक्न बन्दाबन्दी गरेपछि नेपालमा पनि गत चैत ११ गतेदेखि बन्दाबन्दी गरेको हो ।
तर, भारतमा अर्को तथ्य के राम्रो देखियो भने त्यहाँका स्वास्थ्यकर्मी चिकित्सकहरू अत्यन्तै खटेको र जिम्मेवार देखिए भने त्यहाँको सरकार र सरकारी निकायहरू नागरिकप्रति र व्यवसायी निजी क्षेत्रप्रति उत्तिकै जवाफदेही र जिम्मेवार देखिए । राहतका आर्थिक प्याकेजहरू त्यहाँको केन्द्रीय र प्रादेशिक सरकारले केन्द्रीय बैंकले जुन ढंगले ल्याए, यो हेर्दा भारतले विश्वव्यापी कोरोना नियन्त्रण गर्न निकै राम्रो व्यवस्थापन र पहल लिएको देखिन्छ । साथै, नेपाललगायत मित्रराष्ट्रलाई सहयोग पनि गर्यो ।
यस्तै, उता अर्को छिमेकी देश चीन त कोरोनाको कहालीलाग्दो अवस्थाबाट पार पाउँदै छिमेकी र मित्रराष्ट्रलाई सहयोग गर्नसमेत उद्यत देखिएको छ । कोरोनाको संक्रमण चीनबाटै सुरु भएको थियो । तर, उसले समयमै यो महामारीबाट पार पाउँदै अहिले सामान्य अवस्थामा फर्किंदै छ । सुरुवाती समयमा महामारीको इपिसेन्टर रहेको हुबेई प्रान्तको राजधानी वुहान अहिले कम जोखिमयुक्त घोषणा भइसकेको छ । अत्यन्तै जोखिमयुक्तबाट मध्यम जोखिमपूर्ण हुँदै अहिले न्यून जोखिमयुक्त घोषणा हुनुका पछाडि त्यहाँको कुशल व्यवस्थापन नै मुख्य कारक रह्यो । त्यहाँ पछिल्लो १४ दिनमा एक जना पनि नयाँ संक्रमित नदेखिएपछि बुहान सहरलाई कम जोखिमयुक्त घोषणा गरिएको हो । यति मात्र होइन, अहिले हुबेई प्रान्तमै उच्च जोखिमयुक्त वा मध्यम जोखिमयुक्त कुनै सहर, जिल्ला वा काउन्टी बाँकी छैनन् ।
यस्तै, जसले जे भने पनि अमेरिकाले सबै नागरिकको एकसरो टेस्ट गरेर त्यसपछि अपनाइने सतर्कता र लकडाउनको मुक्ति सँगसँगै अगाडि बढाएको छ । त्यसरी हेर्दा नेपालको कोरोनाविरुद्धको प्रयास र तदारुकता जति राम्रो देखिए पनि भौगोलिक अवस्था, सामाजिक बनोट तथा अल्पविकसित मुलुकको स्टाटसका कारण प्रयास अपर्याप्त देखिएको छ । नेपालले के गर्नुपर्ने देखियो भने कुनै एउटा जिल्लालाई पूरै टेस्ट गरेर कोरोना भए÷नभएको पहिचान गरेर त्यसको बाह्य आवतजावत नियन्त्रण गर्र्दै क्रमशः अगाडि बढ्नु आगामी दिनमा उपयुक्त होला । अन्यथा नेपालमा अझै कोरोनको प्रभावले अर्थतन्त्रमा राम्रै नकारात्मक प्रभाव देखिएको छ । यसरी नै योजनाबद्ध रूपमा अगाडि बढ्दा नेपालमा पनि अझै कोरोना भएका शंकास्पद र विदेशबाट आएका जतिलाई निश्चित दायराभित्र राखेर उपचार गर्ने र अरू बाँकी नागरिकलाई तिनीहरूको सम्पर्कभन्दा टाढा बन्दाबन्दीमुक्त राख्न सकिन्छ ।
त्यसो गर्दा स्कुल, कजेल, उद्योग, व्यवसाय पनि पूर्णरुपमा सञ्चालनमा आउन सक्ने र आर्थिक रूपले मुलुक चलायमान रहने, आर्थिक संकटबाट मुलुकले मुक्ति पाउन सक्ने हुन सक्छ । तर, दुःखको कुरा के हो भने जसरी छिमेकी मुलुक भारतमा, जसरी अर्को छिमेकी मुलुक चीनमा, अन्य मित्रराष्ट्रहरूमा जस्तो देखियो त्योभन्दा फरक हाम्रा स्वास्थ्यकर्मी चिकित्सक समग्रमा परिचालित भएका छैनन्, सरकारले गर्न सकेन ।
निजी क्षेत्रका स्वास्थ्य निकायहरू समग्रमा प्रयोगमा नआएको यो अवस्था सायद उपकरणको अभावले मात्र नहोला, राज्यको नीति–निर्देशक वा कानुनको अभावमा होला, जे भएर भए पनि दुःखलाग्दो पक्ष हो । निजी क्षेत्रका अस्पतालमा सामान्य बिरामी जाँदा बिरामी नलिने पनि देखियो । समग्र डाक्टरहरूको सोचाइमा यो कोरोना भाइरसको महामारी भनेको केवल सरुवा रोगसँग सम्बन्धित चिकित्सकको मात्रै विषय र जिम्मेवारी हो भन्ने सोचाइले काम गरेको देखियो । यो राम्रो पक्ष होइन ।
राज्यसँग मुलुकमा कति चिकित्सक छन्, को कहाँ छन् ? कति राज्यले छात्रवृत्तिमा पढाएका छन्, कति विकास साझेदार मुलुकका वा एजेन्सीका छात्रवृत्तिमा पढेका छन्, कति अनुदान सहयोगमा पढेका छन्, ती सबैले राज्यलाई आजको महामारीसँग लड्नुपर्दा नागरिकलाई उपचारका लागि साथ दिनुपर्ने हो कि होइन ? यी सबैको तथ्यांक केलाउने र जिम्मेवारी दिने तदारुकताको कमी देखियो । सरकारसँग यसको तथ्यांक नहुनु, यसरी लुकेका, भागेका वा थन्किएर बसेका डाक्टरहरूलाई घरबाट ल्याएर महामारीका विरुद्ध नागरिकको उपचारमा लगाउन नसक्नु सरकारको पनि अक्षम्य कमजोरी देखियो । यो दुःखदायक हो । अन्यथा अहिलेको २१ औं शताब्दीमा मुलुक र मुलुकवासीले आज जे देखे अनि भोगे, त्यसले आगामी दिनका लागि ठूलो पाठ सिकायो । महामारीले पक्कै सरकारलाई पनि राम्रो पाठ पढाउको छ ।
तर, मुलुकको समग्र विकास, सबै पक्षमा उत्तिकै विकास र जनचेतना साथसाथै मुलुकको अग्रगमनलाई यो एउटा विश्वव्यापी घटनाले नेपालीलाई आउने दिनमा अर्थतन्त्रको विकास लिएर अगाडि बढ्न जाँगर र जोस, उमंग मिल्ने कुरा नकार्न सकिँदैन ।
वर्तमान सरकारले आफनो पहिलो वर्षको बजेटदेखि साढे ८ प्रतिशत हुने लक्ष्य राखेको थियो । तात्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्रलाई ट्रयाकमा ल्उान सकेनन् । बरु तथ्यांक विभागको त्रैमासिकको आर्थिक वृद्धिको विवरण नै रोकिदिए । तर, कोभिड–१९ का कारण सरकारले देशैभरी बन्दाबन्दी गरेपछि उनलाई बाहना मिल्यो । करिब चार महिना पूर्ण र त्यसपछि पनि आंशिक बन्दाबनदीले उद्योगधन्दा, कलकारखाना, कृषि क्षेत्र सबै चौपट भए । सेवा क्षेत्र त धरासायि नै भयो । जसका कारण गत आर्थिक वर्षको बृद्धिदर नकारात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको छ । बन्दाबन्दी अगाडि नै आर्थिक वृद्धिदर २.८ प्रतिशत रहने प्रक्षेपण गरेको विभागले गत आर्थिक वर्षको आर्थिक वृद्धि पुरै ऋणात्मक देखाएको छ । तर, कोरोनाकै बिच चालु आर्थिक बर्षको बजेट ल्याउँदा खतिवडाले त्यसको प्रक्षेपण नगरि ७ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य बजेटमा राखे । जसबाट सरकार अर्थतन्त्रप्रति गम्भिर नरहेको स्पष्ट देखिन्छ । वर्तमान सरकारले प्रस्तुत गरेको तीन वटै बजेट असफल रहे । झन् कोरोनाकालको बजेट त पूर्णरुपमा नै असफल हुने नै भयो । सरकारले आर्थिक परिसूचक राम्रो रहेको भ्रम बेचरेर बस्यो । तर, विहीबार सार्वजनिक तथ्यांकले कोरोनाभन्दा अगाडिदेखि नै आर्थिक गतिविधि कमजोर रहेको स्पष्ट पारेको छ । कोरोना कारण सबैभन्दा धेरै आवास, भोजन, यातायात तथा भण्डारण क्षेत्रमा परेको विभागको तथ्यांक छ । यस्तै, विभागले थोक तथा खुद्रा व्यापारमा १०.७ प्रतिशत, औद्योगिक उत्पादनमा ९.१ प्रतिशत, निर्माण क्षेत्रमा ५.६ प्रतिशत, खानी तथा उत्पादन क्षेत्रमा २.६ प्रतिशतले कमी आउने जनाएको छ ।
यसरी सरकारले छिमेकि मुलुकबाट पाठ नसिकि आफनै ढिपी गर्दा नेपालको अर्थतन्त्र महाभूकम्प गएको वर्षभन्दा पनि चौपट भएको छ । सरकार गैरजिम्मेवार हँुदा अर्थतन्त्र कसरी चौपट हुन्छ भन्ने अध्ययनको एउटा प्रमुख विषय नेपाल भएको छ ।

प्रतिक्रिया दिनुहोस्