नष्ट नगरी अखाद्य चिनी लिलामी गर्दै राजस्व «

नष्ट नगरी अखाद्य चिनी लिलामी गर्दै राजस्व

बारा-राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले गत वर्ष म्याद गुजे्रको खान अयोग्य ७२ हजार केजी चिनी नष्ट गर्न छाडेर आयातकर्ताको मिलोमतोमा लिलाम गर्न प्रक्रिया थालेको छ ।
मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने उक्त चिनी नष्ट गर्ने प्रकृया छाडेर राजस्व अनुसन्धानले पुनः नमुना खाद्य परीक्षणका लागि जनकपुर पठाएपछि मिलोमतो हुन सक्ने आशंका देखिएको हो ।
राजस्व अनुसन्धानलले पठाएको नमुनासमेत कुन चिनी हो भन्ने सर्जिमिन मुचुल्काको रोहबर नखोलेपछि कुन चिनीको नमुना पठाएको हो भन्ने आशंका उब्जिएको छ । करीब ८० लाखको उक्त चिनी अयोग्य भए पनि मदिरा उत्पादनमा मिसावट गर्ने उद्देश्यले आयातकर्ताहरुको मिलोमतोमा लिलामी प्रक्रिया थालिएको श्रोतले बताएको छ ।
गत वर्ष महोत्तरी जिल्लबाट अनुष्का मल्टिपर्पोज कम्पनीले आयात गर्दा खाद्य क्वारेन्टाइनले म्याद गुजे्रकाले खान अयोग्य भनी प्रमाणित गरेसँगै राजस्व अनुसन्धान कार्यालय पथलैयाले सो चिनी नियन्त्रणमा लिएको थियो ।
तीन प्रकारको फरक मिति रहेको कयौैं बोरामा टिपेक्स लगाई मेटिएको, मार्करले लेखिएको पाइएको थियो । त्यसपछि गत वर्ष फागुन २५ गते खाद्य प्रमाणीकरण कार्यालय जलेश्वरले प्रयोगशालामा विश्लेषण गरी पारामिटरको आधारमा प्राप्त नमुना आयात गर्न योग्य नदेखिएको तथा उपयुक्त नमुनाको उपभोग्य मिति समाप्त भइसकेको भनी आयात नगर्न भन्सार कार्यालयलाई पत्रारचार गरेको थियो ।
तर, तत्कालीन जलेश्वर भन्सार प्रमुख केशवकुमार भण्डारी र भन्सार कर्मचारीकै मिलेमतोमा सो चिनी नेपाल भित्रिएको थियो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टंक पाण्डेले चिनी व्यवस्थापन गर्न उच्च अदालत र विभागको निर्देशन अनुसार पुन परीक्षण गर्न जनकपुर पठाएको र व्यवस्थापनका लागि लिलाम गरीने बताए ।

प्रतिक्रिया दिनुहोस्