नेपाल फ्रान्स विजनेश फोरम आयोजना हुँदै «

नेपाल फ्रान्स विजनेश फोरम आयोजना हुँदै


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच बीच भेटवार्ता भएको छ । भेटमा नेपाल र फ्रान्सबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको महासंघले जनाएको छ ।
छलफलमा आगामी जुन महिना अघि नेपाल फ्रान्स विजनेश फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिड पश्चात नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमति सहमति भएको छ ।
अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरे । उनले कोभिड पछि नेपालको अर्थतन्त्रले चाँडै नै लय समाउन थालेको बताए ।
उनले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतमा जोड दिए । यसका लागि कुटनीतिक सहयोग महत्वपूर्ण हुने उनले बताए ।
भेटमा राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरीरहेको बताए । गत वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको र सो क्रममा महासंघ र मेडेफ इन्टरनेशनलबीच सहमतिपत्रमा हस्ताक्षर भएको पनि उनले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्