Logo

जीडीपीको आकार साढे ३९ खर्ब पुग्यो

गत वर्षको वृद्धिदर भने दुई प्रतिशतले ऋणात्मक

आर्थिक वर्ष २०७६-०७७ को आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक बनेको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०१०-११ लाई आधार वर्ष मानेर मापन गर्दा अर्थतन्त्र ऋणात्मक देखिएको हो ।
यसअघि सन् २०००-००१ लाई आधार वर्ष मानेर तथ्यांकको मापन गरेको थियो । राष्ट्रिय तथ्यांक विभागले प्रत्येक १० वर्षको अवधिमा जीडीपी रिबेसिङ (नयाँ आधार वर्ष) गरी मापन गर्ने गर्छ । कोभिड–१९ अघि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि ६.२ प्रतिशत अनुमान गरेकोमा कोभिडका कारणले ०.६ प्रतिशत हुने राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको थियो । तर, नयाँ आधार वर्षको आधारमा माइनस १.९९ प्रतिशत हुने देखाएको हो । पुरानो वर्षको आधारमा भने २.२७ प्रतिशतको वृद्धिदर उल्लेख थियो । कोरोना महामारीअघि विभागले २.२७ प्रतिशतको वृद्धिदर उल्लेख गरेको थियो ।
आधारभूत मूल्यमा मात्र होइन, खरिद मूल्यको आधारमा पनि ऋणात्मक अर्थात् माइनस १.८८ प्रतिशत रहेको विभागले जनाएको छ । पहिले उत्पादनको आधारमा मात्र नेपालको जीडीपी मापन गर्ने गरेकोमा आधार वर्ष परिवर्तनसँगै आय र व्ययलाई समेत विश्लेषण गरी राष्ट्रिय लेखा तथ्यांक तयार पारिएको विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताए । ‘पहिले १५ समूहको आधारमा मापन हुने गरेकोमा नयाँ आधार वर्षको आधारमा मापन गर्दा २१ वटा समूहमा विभाजन गरेर गरिएको छ । पहिले उत्पादनको मात्र विश्लेषण गरिएकोमा अहिले आय र व्यय पनि समावेश गरिएको छ,’ उनले भने ।
आर्थिक वृद्धिदर ऋणात्मक हुँदा गत वर्षको जीडीपीको आकार भने ३९ खर्ब ४३ अर्ब ७० करोड पुगेको छ । पुरानो आधार वर्षको आधारमा भने ३७ खर्ब ६७ अर्ब अनुमान थियो । आर्थिक वर्ष २०७५-०७६ को नेपालको कुल अर्थतन्त्रको आकार पुरानो वर्षको आधारमा ३४ खर्ब ५८ अर्ब रूपैयाँ र नयाँ आधारमा ३८ खर्ब ५९ अर्ब थियो ।
विभागका अनुसार गत वर्षको लेखा प्रतिवेदन सार्वजनिक गर्दा प्रतिव्यक्ति आय ११ सय ३४ डलर पुगेको छ । पुरानो आधार वर्षको आधारमा १ हजार ८५ डलर थियो । यो अघिल्लो वर्ष २०७५÷०७६ को आधारमा भने घटेको हो । नयाँ आधार वर्षको आधारमा त्यो वर्ष ११ सय ५९ डलर थियो भने पुरानो वर्षको आधारमा १ हजार ३९ डलर थियो । विभागको तथ्यांकले पुरानो वर्ष मापनको आधारमा ८१.९ प्रतिशत कुल जीडीपीको उपभोग्य खर्च रहेकोमा नयाँ आधारमा ९१.१ प्रतिशत छ ।

चालू वर्षमा सुधार हुने आशा
विभागको तथ्यांकले चालू वर्षको पहिलो त्रैमासिकमा भने आर्थिक वृद्धिदर सुधार हुँदै गएको देखिएको छ । विभागका अनुसार जीडीपीको अवस्था माइनस ४.६ प्रतिशत छ । गत आर्थिक वर्षको अन्तिम चौमासिकको आधारमा यसमा सुधार आएको हो । अन्तिम चौमासिकमा माइनस १५.४ प्रतिशत थियो । विभागका उपमहानिर्देशक डा. रेग्मीले अर्थतन्त्र ‘भी’ आकारमा सुधारोन्मुख भएको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नयाँ तथ्यांकको आधारमा आयोगका योजनाहरुमा पुनर्विचार र सुधार गर्नुपर्ने अवस्था देखिएको बताए । ‘तथ्यांकको आधारमा यसमा परिवर्तन हुन्छ,’ उनले भने, ‘राष्ट्रिय जनगणना सकेपछि पनि यसको आधारमा वर्ष परिवर्तन गरेर तथ्यांकको विश्लेषण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्