नयाँ स्वादमा गुद्पाक र पुस्टकारी ल्याउँदै माक्कुसे «

नयाँ स्वादमा गुद्पाक र पुस्टकारी ल्याउँदै माक्कुसे


आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्राण्ड माक्कुसे बजारमा आएको छ । नेवारी भाषामा माक्कुसेको वर्णन नै गर्न नसकिने अत्यन्तै मिठो भन्ने हुन्छ । माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफि मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन् ।
माक्कुसेका उत्पादनहरू परम्परागत नेपाली डेसर्टबाट प्रेरित छन् । उत्पादनहरू दूधको खुवा प्रयोग गरि बनाइएको छ । पहिलेको स्वाद र नयाँ तरिकाको बनावट रहेका यी उत्पादनहरूले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने बताइएको छ ।
“गुदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि उत्तिकै महत्व बोकेको छ । हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ ।” माक्कुसेका सिइओ तथा सह–संस्थापक अनुस्का श्रेष्ठले भनिन्, “हाम्रो उत्पादनहरु विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ ।”
गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गएको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संवेदनसिलतालाई मद्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुस्काको भनाइ छ । काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पदन तयार गरिने बताइएको छ । मिस नेपाल २०१९ को विजेता समेत रहेकी अनुस्का मिस वल्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको स्थापना गरेको बताउँछिन् । हाल माकुसेलाई अनुस्काले नै नेतृत्व गरिरहेकी छिन् ।
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुस्का विदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन् । परम्परागत डेसर्टलाई बजारमा ल्याएर व्यवसायमा जम्न सजिलो थिएन झन् माक्कुसे सुरु गर्नै लाग्दा कोभिड १९ का कारण समय जटिल पनि बन्या । यो चुनौतिलाई सामना गर्दै विभिन्न क्षेत्रमा सफल युवा तथा महिला उद्यमीहरूको समूहले पोषण तथा सरसफाइ ध्यानमा राखेर गुणस्तरीय उत्पादन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्