सेयर लगानीकर्तालाई मंसिर २३ देखि युजरनेम र पासवर्ड

अनलाइन कारोबारमा समस्या आएर पटकपटक धोका भएको भन्दै सेयर लगानीकर्ताले सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन् । उनीहरुले अनलाइन कारोबार तुरुन्त सहज बनाउन मागसमेत गरे । गत साता पनि कारोबारकै क्रममा हार्डवेयरले धोका दिएको तथा नाममात्रको अनलाइन कारोबार प्रणाली लागू गरेको भन्दै लगानीकर्ताले नेप्से परिसर घेराउ गरेका हुन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र नेपाल पुँजीबजार संघले संयुक्त रूपमा नेप्से कार्यालय घेराउ गरेका हुन् । नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले लगानीकर्तासँग भेटेर सिस्टममा सुधार प्रक्रिया जारी रहेको बताए पनि उनीहरु ढुक्क हुन नसकेको बताउँदै विरोधमा उत्रिएका हुन् । अब केही समयमा समस्या समाधान नभएमा सफ्टवेयर फिर्ता गरिने आश्वासन पनि साउदले लगानीकर्तालाई दिए । कारोबार गडबडीले नेप्सेमा लगातार गिरावट आइरहेको छ । लगानीकर्ता भने आश्वस्त हुन सकिरहेका छैनन् । उनीहरुले अनलाइनमा कारोबार गर्न युजरनेम र पासवर्ड दिनुपर्ने माग पनि गरे । जवाफमा नेप्सेको लागि सफ्टवेयर सेवा प्रदायक कम्पनी वाइकोका प्रबन्ध निर्देशक दिपेश प्रधानले लगानीकर्तालाई एक साताभित्र युजर नेम र पासवर्ड उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । नेप्से र वाइकोबीचको बैठकले युजर नेम पासवर्ड वितरणबारे अन्तिम निर्णय लिने नेप्सेका महाप्रबन्धक साउदले बताए । साउदले पनि लगानीकर्ताले मंसिर २३ गतेबाट युजर नेम र पासवर्ड पाउने बताए । उनले जनवरी १ देखि अनिवार्य अनलाइन कारोबार हुने पनि बताए ।
नेपाल इन्भेष्टर्स फोरमले पुँजी बजारमा आबद्ध लगानीकर्ताको अर्बौ लगानी डुब्दै गएको भए पनि सरकारी निकायहरु असहयोगी बनेको बताए । केही लगानीकर्ताले पटकपटक अनलाइनमा समस्या आएकोले अनलाइन प्रणाली ल्याउँदा नै भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्नसमेत माग गरे ।