प्रतिबद्धता बढेझैं वास्तविक लगानी बढ्ने आशा «

प्रतिबद्धता बढेझैं वास्तविक लगानी बढ्ने आशा

विदेशी लगानीकर्ताको चासो र आकर्षणका बीच अझै नेपालमा विदेशी लगानी भित्रिन सकेको छैन ।
नेपालमा विदेशी लगानी भित्रिन थालेको धेरै वर्ष भए तापनि मुलुकमा उल्लेख्य विदेशी लगानी आउन सकेको छैन । विदेशी लगानीकर्ताको छनोटमा ठूलो बजारमा भएको भारत तथा चीनको बीचमा रहेको नेपाल प्रमुख लगानी गन्तव्य मानिन्छ । जसको लोभमा विदेशी लगानीकर्र्ताहरू नेपालमा लगानी गर्न चाहन्छन् । नेपाल आफैं पनि सानो बजार होइन । तर विदेशी लगानीकर्ताको चासो र आकर्षणका बीच अझै नेपालमा विदेशी लगानी भित्रिन सकेको छैन ।
सरकारको प्राथमिकतामा विदेशी सहायता रहेको भए तापनि पछिल्ला वर्षहरूमा नेपालमा विदेशी सहायता घट्दै गएको छ । स्वाभाविक रूपमा नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख पुलुकमा स्तरोन्नतितर्फ लाग्दै गर्दा अबको पाँच वर्षमा विदेशी सहायता तथा सहुलियत कटौती हुदै जान्छ नै । त्यसकारण पनि नेपालमा विदेशी लगानीको ठूलो महत्व छ । तर, राजनीतिक अस्थिरता, कानुनी तथा प्रशासनिक झन्झटका कारण विदेशी लगानीकर्ताहरू नेपालप्रति आकर्षित हुन सकेनन् । केही विदेशी लगानीकर्ता त नेपालबाट पलायन नै पनि भए । पछिल्ला वर्षहरूमा नेपालले विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन पनि गरेको थियो ।
तर विदेशी लगानीकर्ताले सम्मेलनमा पनि भिसा तथा प्रशासनिक झन्झटका कारण नेपालमा लगानी गर्न गा-हो भएको गुनासो गरे । सरकारले विदेशी लगानीकर्ताको सहजीकरण गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र कानुन संशोधन गर्ने तथा नियमावली ल्याउने वाचा ग-यो । सरकारको वाचाअनुरूप नभए पनि सरकारले हालै ऐन तथा त्यसपछि ढिलै भए पनि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली ल्याएको छ । जसमा उद्योग दर्ता गरी सञ्चालन गरेको दुई वर्षभित्र पुँजी भित्र्याउने गरी सहमति दिइएको छ ।
किनकि यसअघि उद्योग दर्ता गर्ने विदेशी लगानीकर्ताले लगानीको वाचा गर्ने तर लगानी नल्याउने समस्या रहेको थियो । अब विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीले लगानीको सीमा ५ करोडको हाराहारी हुँदा २५ प्रतिशत पुंजी एक वर्षमा ल्याउनुपर्ने, सिलिङ बढ्दै जाँदा प्रतिशत कम गर्दै कम्तीमा दुई वर्षमा प्रतिबद्धताबमोजिमको पुँजी ल्याउनुपर्ने व्यवस्था गरेको छ । साथै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीले लगानी ल्याउनुपर्ने सिमा र समय निर्धारण गरेको छ । जसका कारण विदेशी लगानीकर्ताले लगानी प्रतिबद्धता गर्ने तर लगानी नल्याउने रोगको उपचार हुने आशा गर्न सकिन्छ । साथै लगानीकर्ताको गुनासो समाधान गर्न समयमा लगानी ल्याउनेलाई भिसालगायतका अन्य सुविधा सिफारिस गर्न सहजीकरण पनि गर्ने भएको छ ।
त्यसैले विदेशी लगानी प्रतिबद्धताको दाँजोमा लगानी आउने क्रम पनि अब बढ्ने आशा गर्न सकिन्छ । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा ८२ अर्ब ३३ रुपैयाँको प्रतिबद्धता आएको छ । जुन २५ अर्ब ३१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) हो भने ५७ अर्ब रुपैयाँ आन्तरिक लगानीकर्ताबाट आएको प्रतिबद्धता हो । तर, चालू आर्थिक वर्षकै पुस मसान्तसम्मको तथ्यांक हेर्ने होे भने नेपालमा १ सय २३ ओटा वैदेशिक लगानीका आयोजना दर्ता भएकोमा ७ अर्ब ६६ करोडमात्र लगानी आएको छ । हुन त विभागमा दर्ता ती आयोजनाले २१ अर्ब ५७ करोड लगानी प्रतिबद्धता गरेका थिए । किनकि विदेशी ऋण तथा सहयताभन्दा विदेशी लगानी धेरै अर्थमा मुलुकको हितमा हुने हुनाले विदेशी लगानी प्रतिबद्धता आउनु सकारात्मक पक्ष भए तापनि वास्तविक लगानी नआउने पुरानै रोग पत्ता लगाएर सरकारले सहजीकरण गर्न सके नेपालमा रोजगारी सिर्जना पनि हुने तथा औद्योगिक वातावरण भइएको सन्देश पनि जाने थियो । विदेशी लगानीकर्ताको आकर्षण बढेपछि स्वतः स्वदेशी लगानीकर्ताहरूले पनि लगानी बढाउनेछन् । यसबाट हाल वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवालाई देशमा नै रोजागरी उपलब्ध हुनेछ भने आर्थिक विकासका लागि निजी क्षेत्रको पनि क्षमता विकासमा सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्