वायुसेवा सञ्चालक संघले मन्त्री भट्टलाई ज्ञापन पत्र बुझायो «

वायुसेवा सञ्चालक संघले मन्त्री भट्टलाई ज्ञापन पत्र बुझायो


वायुसेवा सञ्चालक संघले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्जमा लगाएको उडान प्रतिबन्धको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । संघले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको बिरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।
संघले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संरक्षित क्षेत्रहरुमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण प्रकृतिका हेलिकोप्टर उडानहरु निर्वाधरुपमा सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गरेका हुन् । हेलिकोप्टरहरु निर्वाध रुपले चल्न नपाए आर्थिक अभाव भई सेवा नै बन्द हुने अवस्था आउने भन्दै वायु सेवा सञ्चालकहरुले उडान रोक्का फुकुवा गर्न आवश्यक पहलका लागि मन्त्री भट्टलाई आग्रह गरेका छन् ।
संघका सचिव सुमन पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको निर्णयले हेलिकोप्टर उद्योगमा अनिश्चितता आएको बताए । हेलिकोप्टरलाई नियन्त्रण गर्न खोजे हेलिकोप्टर उद्योग मात्रै नभई पर्यटन उद्योगमा समेत असर परि आर्थिक क्षेत्रमा समेत असर पर्ने र धेरैको रोजगारी समेत गुम्ने सचिव सुमन पाण्डेले बताए । विदेशी बजारमा नेपाली पर्यटन क्षेत्रको विश्वसनीयताप्रति प्रश्न उठ्ने भन्दै हेलिकोप्टरलाई निर्वाध रुपमा चल्न दिनुपर्ने संघको माग थियो । ज्ञापन पत्र बुझ्दै मन्त्री भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताए ।
ऐन, कानुनको पालना हुनेगरी सन्तुलित ढंगले अघि बढ्नुपर्ने भन्दैमन्त्री भट्टले सबैलाई बोलाएर व्यवस्थित ढंग्ले छलफल गरी समस्या आउन नदिन दीर्घकालीन उपाय खोज्नु पहल गर्ने धारण राखेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकोप्टर अवतरणमा नियमनको परिपत्रमा हेलि अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङबोचे र नाम्चे स्थितका ३ स्थानबाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो । यो निर्णयले हेलिकोप्टर सञ्चालक कम्पनीहरु तथा समग्र पर्यटन व्यवसाय मर्कामा परेको भन्दै पूर्ववत रुपमा अवतरण गर्ने संघले माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्