फोरजी विस्तार गर्दै स्मार्ट टेलिकम

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गरी सहर प्रवेश गरेको स्मार्ट टेलिकम फोरजी सेवामा भने सुस्ताएको छ । गत कात्तिक पहिलो साता तेस्रो फोरजी सेवा विस्तारकका रुपमा आएको स्मार्ट ग्राहकले अनुभव गर्न सक्नेगरी बजारमा प्रभाव भने देखाउन सकेको छैन । मंसिरदेखि व्यावसायिक रुपमा फोरजीको फोरजी सेवा विस्तार गर्ने घोषणा गरेको कम्पनी पुस बित्न लाग्दा समेत औपचारिकतामै सिमित छ ।
कम्पनीका प्रमुख प्रशासकिय अधिकृत सजिनराज राजभण्डारीले सेवा विस्तारमा ढिलाइ हुनुमा उपकरणहरुको स्वीकृति, माइक्रोवेभ फ्रिक्वेन्सी लगायतका कारणले केही ढिलाइ भएको बताए । “हामीले बजार प्रतिक्रियालाई विषेश ध्यान दिएका छौ, छिट्टै ग्राहकले अनुभव गर्न सक्ने गरी सेवा बजारमा आउँछ,” राजभण्डारी भन्छन् । निजी लगानीमा स्मार्टले ‘स्मार्ट सेल’ ब्राण्डबाट सेवा विस्तार गरेको छ । स्मार्टको फोरजी आज अहिले राजधानी र पोखराका ग्राहकमा यदाकदा पुगेपनि सुलभ भने गर्न सकेको छैन । यसअघि नेपाल टेलिकम र एनसेलले फोरजी सेवा सञ्चालन गरिसकेका छन । स्मार्ट फोरजीमा तेस्रो प्रतिस्पर्धी कम्पनी हो ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट फोरजीको सञ्चालन अनुमति पाएको ५ महिनापछि कात्तिकमा कम्पनीले सेवाको औपचारिक शुभारम्भ गरेको थियो । फारेजीको सवै तयारी पुरा भएपनि प्राविधिक पक्ष भएकोले केही समय परीक्षणको रुपमा राखेर परिक्षणमा देखिएका कमी कमजोरीलाइ सुधार गर्दै व्यावसायिक सुरुवात गर्ने प्रमुख प्रशासकिय अधिकृत राजभण्डारीले बताए । “सस्तो, सुलभ र तिब्र गतिको इन्टरनेट सेवा उपलव्ध गराउने योजनासहित हामी आएका छौं, प्रतिस्पर्धी कम्पनीको तुलनामा ग्राहकले हाम्रो सेवा सस्तो र गुणस्तरीय हुनेछ ।” उनी भन्छन । पहिलो चरणमा राजधानी र पोखरामा सेवा विस्तार गरेपछि क्रमशः देशका अन्य भागमा फोरजी विस्तार हुनेछ । दूरसञ्चारमा ९ वर्ष अनुभवसहित सेवामा परिस्कृत गर्दै समय अनुकुलको सेवा ल्याएको कम्पनीको जनाएको छ । ३ करोड चुक्ता पुँजी रहेको कम्पनीमा हालसम्म ७ अर्ब रुपैयाँ लगानी भइसकेको छ । कम्पनीमा नेपाली लगानीकर्ताका तर्फबाट स्क्वायर नेटवर्कको २० प्रतिशत छ । स्मार्टका अध्यक्ष समेत रहेका सर्वेस जोशी यो सेयरका हकदार हुन । लालसाहु होल्डिङको (सिंगापुर) ५० प्रतिशत र कोस्वो इन्भेष्टेमेन्ट जर्जियाको ३० प्रतिशत सेयर छ ।
स्मार्टले सन् २००८ मा पूर्वाञ्चलबाहेकका ३ सय ९८ गाउँ विकास समितिमा सेवा पुराउनुपर्ने शर्तमा लाइसेन्स पाएको थियो । २०१३ मा यसले युनिफाइड लाइसेन्स पाएपछि ग्राहक बढेको हुन् । अहिले स्मार्ट सेल देशमा विभिन्न सुगम तथा दुर्गम गरी ३५ जिल्लामा पुगेको छ । स्मार्टले फोरजी सेवाका लागि १० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ । यो प्रिक्वेन्सीको अधिकतम उपयोग गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिने कम्पनीले जनाएको छ । दूरसञ्चार प्राधिकरणको म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआइएस) अनुसार स्मार्टसेलका ग्राहक १७ लाख छन । यो कुल दूरसञ्चार प्रयोगकर्ताको ५ प्रतिशत हो ।