Logo

माउन्टेनिजम मोडेलको खाँचो

जति पनि संसारका ठूलाठूला मुख्य आविष्कार भएका छन्, तिनीहरू नाफाको उद्देश्यले नभई समस्यासँगको जुधाइ र दिमागको सोच्न सक्ने शक्तिका कारणले भएका हुन् ।

प्रकृतिले हरेक जीवजन्तु प्राणीलाई बाँच्नका लागि केही न केही प्रायोजन गरिरहेको हुन्छ, जस्तै यदि भोलिदेखि सूर्य सेलाउने हो भने पृथिवीमा कुनै पनि जीवजन्तु र प्राणीहरूको अस्तित्व रहनेछैन । हामी देख्न सक्छौं , हात्तीको ठूलो शरीर छ, त्यसैले उसलाई आफ्नो खाना मुखसम्म पु-याउनका लागि प्रकृतिले नै उसलाई सुँड हालिदिएको हो, उँटको अग्लो शरीरका लागि खान समस्या हुने हुँदा उसलाई लामो घाँटीको प्रायोजन गरेको हो, त्यस्तै बाघले मासु खाने हुँदा उसलाई आक्रमण गरेर खानुपर्ने हुँदा प्रकृतिले नै उसलाई छिटो दगुर्न सक्ने र साथै बल पनि प्रायोजन गरेको छ ।
गाई, भैंसी आदिको शरीर पनि अलिकति अग्लो हुने हुँदा उनीहरूलाई पनि खाना सजिलो होस् भनेर मुख टाउकाको तलपट्टि झुन्ड्याइदिएको छ । मानिसलाई मुख टाउकोसँगै जोडिएको अग्लो ठाउँमा राख्दिएका कारण दुई खुट्टाले हिन्न सक्ने र हातको प्रयोगले खाना सक्ने प्रयोजन गरेको छ, त्यसमाथि मानिसलाई अत्याधिक तर्कवितर्क गर्ने लामो समयसम्म सम्झिन सक्ने अद्भुत क्षमताको दिमाग प्रायोजन गरेको छ । यसरी हरेक जीवजन्तु र प्राणीलाई प्रकृतिले नै बाँच्नका लागि धेरै कुराको प्रायोजन गरेको हुन्छ ।
अरू प्राणी प्रकृतिको लयमा छन्, त्यसैले उनीहरूको जीवन सहज छ, तर मानिस आफ्नो त्यही अद्भुत दिमाग प्रयोग गरी प्रकृतिको लयबाट टाढा भएको हुँदा मानिसजति दुःखी प्राणी अरू छैन । बरु अरू प्राणीलाई पनि दुःख दिने कामचाहिँ मानिसबाट हुँदै आएको छ । करिब ३ लाख वर्षअघि होमो सापिएन्स जातिबाट सुरु भएको मानिस आफ्रिका हुँदै संसारभर फैलिएको हो भन्ने विश्वास गर्दै आइएको छ । करिब १२ हजार वर्षअघिबाट मात्रै मानिसले व्यवस्थित तरिकाले खेतीपाती र पशुपालनको सुरुवात गरेको मानिन्छ ।
यही सुरुवातसँगै विभिन्न काम गर्दै बाँच्नका लागि प्रकृतिसँग जुधाइ गर्दै आफ्नो दिमागलाई प्रयोग गरेर नयाँ–नयाँ आविष्कार गर्न अफल भएको हो । प्रायःजसो नयाँ आविष्कार नाफा कमाउने उद्देश्यले आविष्कार भएका होइन कि समस्याका कारण र मान्छेको नयाँनयाँ आविष्कार गर्ने रुचिका कारण भएका हुन्, जस्तै लाइटको आविष्कार, जहाजको आविष्कार, न्युटनको सिद्धान्त, आइस्टाइनको सिद्धान्त, इलेक्ट्रोम्याग्नेटिक वेभ को पहिचान अहिलेको फेसबुक आदिलाई लिन सकिन्छ । आविष्कारपछि प्रयोगमा गइसकेपछि नाफा कमिनु त्यो बेग्लै कुरा हो, तर जति पनि संसारका ठूलाठूला मुख्य आविष्कार छन्, तिनीहरू नाफाको उद्देश्यले नभई समस्यासँगको जुधाइ र दिमागको सोच्न सक्ने शक्तिका कारणले भएका हुन् ।
प्रकृतिमा उपलब्ध साधन र स्रोतको प्रयोग गरी त्यसलाई जीवन उपयोगी सामान बनाउने क्रममा नै मानिसले अनेकौं सामानहरू बनाउँदै आएको हामी सबैलाई थाहा नै छ । यो सामान बनाउने क्रममा संसारभर नै ठूलो बहस हुनुका साथै विभिन्न प्रयोग पनि हुँदै आएका छन् । एकथरी जसलाई पुँजीवाद भनिन्छ, उनीहरूले हरेक व्यक्तिले आफ्ना लागि आफैं गरेपछि स्वतः नै सबैको राम्रो हुन्छ भन्ने मान्यता राखेको हुन्छ भने अर्को थरी जसलाई कम्युनिजम भनिन्छ, उनीहरूले सबै कुरा केन्द्रीकृत गरी उत्पादन गर्ने र सबैलाई उनीहरूको योगदानअनुसार सामान उपलब्ध गराउने जसले गर्दा सबैलाई राम्रो हुन्छ भन्ने मान्यता लिएको हुन्छ । भावानात्मक रूपमा यी दुवैको कुरा राम्रो छ, तर व्यवहारमा लागू गर्दा यी दुवै अति नै असफल हुँदै गएका कारणले करोडांै मानिस जनावरको जीवनस्तरभन्दा पनि तल्लो तहको जीवन जिउन बाध्य छन् । पुँजीवादमा केही व्यक्तिहरूले प्रायः ठूलो मात्रामा साधन र स्रोतको कब्जा गरेको हुनाले अन्य ठूलो जनसंख्या दास बन्न बाध्य पारिएको छ । ठूलाठूला कम्पनी खडा गरेर आमजनतालाई अलिअलि सेयर पनि दिएर आफू माथिल्लो पदमा बसी अत्याधिक धेरै तलब र सुविधा लिने व्यवस्था मिलाइएको छ, कुनै कुनै कम्पनीमा तल्लो तहको कामदारभन्दा करिब ३ सय गुणासम्म बढी तलब लिएका छन् ।
जनतालाई दोस्रो सेयर बजार खडा गरी जुवा खेलाइएको छ । अनि यो मोडलमा मानिस अत्यधिक पैसा र नाफाको पछि कुद्ने हुँदा मानिस पैसा र नाफाका लागि जे पनि गर्नका लागि तयार छ । पैसाको लागि हत्या, लुटपाट, झूट, ठगी गर्दै हिँडेको छ, खाने सामानमा खाना नहुने सामान पनि मिसावट गरेको छ, अनावश्यक झूट विज्ञापन गरेर बेच्न तल्लीन छ । मान्छेको सुविधाभन्दा पैसाको गन्तीलाई सफलताको प्रतीक मानेको छ । पैसाको गन्तीलाई वृद्धि गर्ने उद्देश्यले प्रकृतिको अत्यधिक दोहन गरेर वातावरणलाई अत्याधिक प्रदूषित पारेको छ । अत्यधिक तलब भिन्नताका कारणले पढ्न नसकेका मान्छेलाई जीवनभर काम गरे तापनि सामान्य सुविधाको जीवन जिउनसमेत कठिनाइको अवस्था खडा गरिएको छ । यस्ता अनेकौं समस्याले धेरैभन्दा धेरै मानिसहरू मानसिक रोगी भई आत्महत्या गर्न बाध्य पारिएको छ, जसको उदाहरणमा जापानको आत्महत्या दरलाई नियाल्दा पनि थाहा पाउन सकिन्छ, यो समस्या जापानमा मात्रै होइन, संसारभर छ, यसको मूल कारण यही गलत आर्थिक मोडेलले सिर्जना गरेको खराब प्रतिफल हो ।
के पढ्न नसक्नु कुनै अपराध हो ? के नपढ्दैमा उसको काम बिकेको छैन र ? जब उसको काम बिक्छ भने किन उसलाई चरम शोषण गरेर अत्यधिक कम तलब दिने प्रायोजन खडा पारिएको छ ? हो, पढ्नका लागि उत्प्रेरित गर्न अलिकति धेरै रकम तलबको व्यवस्था गर्नु जायज नै छ, किनकि शिक्षाबाट नै नयाँनयाँ सिर्जना हुने हो, तर त्यो भन्दैमा अत्यधिक तलब कम दिनु यो दास युगको निरन्तरता हो ।
दु्रत गतिमा विकास हुँदै आएको प्रविधिले धेरै मानिसहरूलाई बेरोजगार बनाउँदैछ, अमेजनको स्टोर मात्रै २ लाख रोबटहरूले काम गर्छन्, अब ड्राइभरविहीन कार आइसक्यो, सामान पु¥याउने काममा ड्रोनको प्रयोग हुँदैछ, बिस्तारै ठूलो लगानी प्रविधिमा हुँदैछ, मानिसहरू बेरोजगार बन्दै छन्, अब प्रविधि प्रयोग गरेर बनाइएका सामान बजारसम्मत आइपुग्छन्, तर अब बेरोजगार मानिस संगीत सामानहरू किन्ने पैसा नहुने हुँदा मानिसहरूले सुविधा र सामानको प्रयोग गर्न नपाउने तर बजारमा सामानहरू अट्किएर बस्ने अवस्थाको सिर्जना हुँदैछ । प्रविधिको प्रयोग बन्द गरेर फेरि मानिसलाई काममा लगाउँदा प्रविधिमा गरेको ठूलो लगानी घाटा भई व्यवसायी तथा बैंक नै डुब्ने अवस्था आउनेछ । प्रविधिको प्रयोग गरे सामान बजारमा अट्किने मानिसले किन्न नसक्ने अवस्था भई अबको २५– ३० वर्षमा पुँजीवादको युग सकिनेछ ।
कम्युनिजममा चाहिँ सरकारमा सधैंभरि असल शासक नहुने हुँदा जनताले कुनै पनि बेला ठूलो दुःख झेल्नुपर्ने हुन्छ, यो मोडेलमा जनताले आफ्नो तरिकाले काम गर्न नपाउने हुँदा काममा अल्छीपन आउने, सिर्जनशीलता हराएर जाने जसका कारणले ठूलो आर्थिक रूपले सम्पन्नशाली बन्न यो मोडेलमा निकै कठिनाइ हुने हुँदा सँसारमा यो मोडेल क्युबा र नर्थ कोरियामा मात्रै सीमित हुन पुगेको छ । यी दुवै मोडेलका केही राम्रा पक्ष र केही खराब पक्षलाई राम्रोसँग बुझेर यिनै दुई मोडेलका बीचमा बसेर अब नेपालीले संसारलाई उपयुक्त मोडेल दिनुपर्ने अवस्था आएको हो, जसरी बुद्धले संसारलाई शान्तिको बाटो सिकाए, त्यसै गरी फेरि हामी नेपालीको काँधमा ठूलो जिम्मेवारी संसारले सुम्पेको छ । संसारको सबैभन्दा अग्लो हिमाल पनि हाम्रै भूमिमा रहेको हुँदा त्यही भूमिको नाम र माटोबाट अब संसारलाई उपयुक्त आर्थिक मोडेल दिएर संसारभरको यो गरिबी र बेअर्थको वादविवाद सुल्झाउने समय आएको छ ।
माउन्टेनिजम
संसारमा थुप्रै मोडेल प्रयोगमा आए, तर कुनै त्यस्तो मोडेल निर्विकल्प बन्न सकेन, त्यसैले अब नेपालीले संसारलाई हरेक कोणबाट निर्विकल्प मोडेल दिने हिम्मत गर्नुपर्ने अवस्था आएको छ । पृथिवीको अग्लो भाग जसरी निर्विकल्प भएर नेपालमा बसेको छ त्यही भागको नामकरण गरेर यो मोडेललाई संसारभर निर्विकल्प गराउनुपर्नेछ, त्यसको सुरुवात नेपालबाट नै गरी हामीले केवल २५–३० वर्षमा संसारकै उत्कृष्ट देश बनाएर देखाइयो भने अनि संसारले कुनै विकल्पका बारेमा नसोची हाम्रो माउन्टेनिजम मोडेल प्रयोग गर्नेछ ।
यो मोडेलमा कुनै पनि व्यक्ति चाहेर पनि गरिबी र अभाबमा बाँच्नुपर्दैन, साथै कुनै पनि व्यक्तिले आफ्नो क्षमता प्रयोग गरी धेरै माथिल्लो स्तरमा पुग्नका लागि पनि बाटो खुल्ला रहेको हुन्छ, यो मोडेलमा प्रविधिको अत्यधिक प्रयोग गरेर मानिसहरूको काम गर्ने समयलाई छोटो पारी प्राकृतिसँग रमाउने, घुम्ने, पारिवारिक जमघट हुने र मानसिक रूपले स्वस्थ रहने अवस्था सिर्जना गर्न सकिन्छ । सामान्य अर्थमा विकास भनेको भौतिक र मानसिक रूपले सुविधासम्पन्न जीवन जिउनुलाई नै भन्ने गरिन्छ । कुनै पनि कुरा चाहे प्रविधि होस्, चाहे दैनिक रूपमा हामीले प्रयोग गर्ने सामान र सुविधा होु्, ती सबैको निर्माण प्रकृतिमा उपलब्ध साधन र स्रोतको प्रयोग गरी मानिसले त्यसमा काम गरेपछि बन्ने हो । अब मानिसलाई दैनिक रूपमा केके सामानको आवश्यक्ता परेको छ, त्योत्यो सामान उत्पादन गर्दै जानु नै यो मोडेलको मुख्य विशेषता हो ।
अब हामील हेरौं, एक जनामान्छेले एकवटा भैंसी, तीनवटा बाख्रा अनि अलिकति खेती गरेर ६५ प्रतिशत जनता यस्तो निर्वाहमुखी जीवन बिताउन बाध्य छन् । अब यी जनतालाई आफ्नो जीवन सुविधासम्पन्न गराउनका लागि चाहिने वस्तु र सेवाहरू धेरै छन्, तर त्यस्तो किसिमको निर्वाहमुखी काम गरेर ती वस्तु र सेवा कहिल्यै प्राप्त हुँदैनन्, यो गाउँगाउँको व्यथा भयो, अब सहरलाई निहाल्यौं, सहरमा पनि एक–एकवटा सटर भाडामा लियो, बिहान ७ बजे नै पसल खोल्न पुग्यो, बेलुका ९ बजेसम्म पसल कु-यो–कु-यो, अलिअलि बिक्री हुन्छ अनि त्यसैबाट जीविका चलायो, यो क्रम निरन्तर वर्षभरि नै चलिरहन्छ । यही हो मानिसको जिन्दगी ? यसरी नै चलेको जिन्दगीलाई के तपाईं सफल जीवन जिएको छु भन्ने सोच्नुभएको छ ? बिस्तारै आखा खोल्नो सर पैसा भनेको के हो, सोच्नोस् ? यसको उत्पत्ति कसरी भयो ? अहिले कसरी छापिन्छ ? आदिबारेमा पढ्नोस् । अनि हामीलाई के चाहिएको हो, तर हामी केमा अल्झेका छौं, बिस्तारै जताततै निहाल्नोस् । त्यहींबाट निर्विकल्प माउन्टेनिजम तपाईंहरू सबैको दिमागमा आउनेछ ।
यस मोडेलमा मान्छेका आधारभूत आवश्यकता सामानहरूजस्तै खाना, कपडा, जुत्ता सामान्य प्रकृतिका घरहरू यी सबैको उत्पादन र वितरण अब जिल्लाजिल्लामा उक्त जिल्लाका इच्छुक व्यक्तिहरूसँग सहकारी मोडेलबाट सेयर उठाएर भएसम्म आफ्नै स्रोत र साधनको प्रयोग गर्ने नभए आयात गरेर उत्पादन गर्ने र देशैभरि यिनै सहकारीको माध्यमबाट बिक्री–वितरण गर्न सकिन्छ । कुनै पनि व्यक्तिलाई कानुनले दिएको आधिकारभित्र रहेर कुनै पनि व्यवसाय गर्न निषेध गरिएको हुँदैन, त्यसैले कुनै पनि व्यक्ति विशेषको क्षमता र र्सिजनशीलता कहिल्यै पनि मर्दैन । प्रत्येक जिल्लामा सहकारीबाट ठूलो मात्रामा उत्पादन र वितरणको काम हुने हुँदा काम गर्न इच्छुक व्यक्तिले उसको योग्यता र क्षमताअनुसार काम पाउनेछ ।
यदि काम थोरै भयो र काम गर्ने इच्छुक व्यक्ति धेरै भए भने हामीले कामको घण्टालाई ८ घण्टाबाट घटाएर छोटो पार्न पनि सकिन्छ । यो मोडेलबाट जाँदा बित्तिकै कुनै पनि मानिस बेरोजगार बस्नुपर्दैन, बेरोजगार बस्नुपर्ने अवस्था आयो भने पनि उसलाई आधारभूत आवश्यकताका सामान किन्न सक्ने गरी बेरोजगार भत्ता दिन सकिन्छ किनकि बजारमा आएको सामानबाट सरकारले कर लिने हो र त्यही कर बेरोजगारीलाई दिँदा तिनै सामान किन्ने हो । तराईका सहकारीले खाद्यान्न तथा कपडा उत्पादन गरेजस्तै अब हिमालका सहकारीले जडीबुटीको प्रशोधन गर्नेछन्, साथै विभिन्न रोमान्चकारी खेलहरू खेल्ने सामान बनाउनेछन्, जसले आन्तरिक तथा बाहिरी पर्यटकलाई आकर्षित गर्नेछ । तराईका मानिस हिमाल घुम्न जानेछन्, उनीहरूको होटेलमा बसेर रमाइलो खेल खेल्दै प्रकृतिसँग रमाउँदै अलिकति पैसा दिएर आउनेछन्, फेरि हिमालतिरका मान्छे तराई आएर तिनै पैसाले आफूलाई चाहिने सामान किनेर लानेछन्, आखिरमा वास्तविक कुरा वस्तु विनिमय नै हो, तर पैसाको प्रयोग गरेको कारणले गर्दा सबै जना अलमलिएर दुःख पाएको अवस्था हो । त्यसैले फेरि हामी प्रविधिको अत्याधिक प्रयोग गर्दै केही आधारभूत सामानहरू यसरी उत्पादन गरेर प्रयोग गर्दा सबैको जीवन एकैपटकमा माथि ल्याउन सकिन्छ ।
छोटो अवधिमा विकास गर्नका लागि ठूलो बाधक कुरा महँगी हो, खुला बजारको अवधारणामा व्यापारीहरू आफ्नो सामानको मूल्य तय गर्न स्वतन्त्र हुने गर्छन् । जब विकासको गति बढाउनका लागि ऋणलाई सहज र सस्तो पारिन्छ तब धेरै आर्थिक गतिविधि बढ्न जान्छ र मानिसहरूले धेरै सामानको खरिद गर्न थाल्छन्, त्यही बेलामा कमाउने समय यही हो भनेर व्यापारीले सामानको मूल्य वृद्धि गर्छन् । जब सामानको मूल्य वृद्धि हुन्छ तब तल्लो तहमा बसेर काम गर्ने मानिसहरू काम गर्दागर्दै आफूलाई चाहिने आधारभूत सामानहरू पनि पहिलेजति खरिद गर्न नसक्ने अवस्थामा पुग्छन्, फेरि त्यति नै बेला महँगी बढेको कारणले पहिलेभन्दा विदेशी वस्तुहरूको प्रवेश अधिक हुने हुँदा अब स्वदेशी सामानको बिक्रीमा कमी आई स्वदेशी उद्योगहरू अप्ठेरो अवस्थामा पुग्छन्, त्यस्तो अवस्थालाई नियन्त्रण गर्न केन्द्रीय बैंकले फेरि ब्याज महँगो पार्ने र ऋण प्रवाह गर्न पनि कसिलो पार्ने नीति लागू गर्छ, जसका कारण आर्थिक गतिविधि घट्न गई बेरोजगारको दर वृद्धि हुन्छ ।
यही जटिल अवस्थाको बाटोबाट हिँड्नुपर्ने हुँदा खुलाबजारको नीतिबाट छोटो समयमा चमत्कारिक विकास गर्न सकिादैन । यो समस्याको सुद्ध हल अब माउन्टेनिम मोडेलमा हुनेछ । यस मोडेलमा मालिक, कामदार र उपभोक्ता पनि आफैं हुने हुँदा मूल्यतय पनि निश्चित अवधिसम्म स्थिर राख्न सकिन्छ, माग बढ्दैमा मूल्य बढाउनुपर्ने आवश्यकता नहुने हुँदा अनावश्यक विदेशी वस्तुको प्रवेशलाई स्वतः निरुत्साहित गर्न सकिन्छ । सहकारी मोडेलबाट ठूलो मात्रामा उत्पादन र बिक्री–वितरण हुने हुँदा लागत कम पर्न आउँछ जब लागत कम पर्छ तब हाम्रा वस्तु अन्य देशहरूमा पनि बिक्री हुनेछन् । साथै देशभित्र अन्य व्यक्तिले पनि व्यवसाय गर्न त पाउँछ, तर समग्र बजारको मूल्यलाई व्यक्तिको वस्तुको मूल्यले असर गर्दैन, त्यसैले हामीले निरन्तर रूपमा ब्याजलाई सस्तो र सहज गराएर विकास छोटो अवधिमा माथि पु-याउन सकिन्छ ।
यो मोडेलमा सुरक्षा, शिक्षा र स्वास्थ्य सरकारले जिम्मा लिन्छ, त्यो पनि निःशुल्क, अब प्रश्न आउँछ, सरकारले कहाँबाट बजेट ल्याउँछ र निःशुल्क गर्छ भन्ने कुरा ती शिक्षा र स्वास्थ्यमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई चाहिने सामान बजारमा सहकारीले उत्पादन गरेर ल्याएको हुन्छ, सरकारले त्यसैबाट कर लिएर सबै कर्मचारीलाई तलब दिने हो र तिनै सामान खरिद गरी फेरि त्यो पैसा सहकारीमा नै पुग्ने हो भन्ने कुरा बुझ्न जरुरी छ ।
यस मोडेलको दीर्घकालीन योजनामा सम्पूर्ण आर्थिक कारोबार डिजिटल मनीको प्रयोग गरी केन्द्रीय बैंकले मात्रै संचालन गर्ने व्यवस्था गर्ने हो, साथै बिमा कम्पनीलाई पनि सरकारको मातहतमा राखी देशैभरिका सामान र जनता एकैपटकमा बिमा कभर गर्न सक्ने गराउने हो । जसरी सामान बिक्री गर्दा बिक्री कर जोडिन्छ, त्यसैगरी अलिकति पैसा सामान बिक्री हुँदाको बखतमा नै बिमाको कोषमा गएर जम्मा हुने व्यवस्था गरिएको हुन्छ, जसले गर्दा बैंक र बिमा कम्पनीमा अल्झेर अनुत्पादक काम गरेका धेरै कर्मचारीलाई उत्पादनमूलक काममा लगाउन सकिन्छ । साथै, संसारभर छरिएर रहेका नेपालीको पैसा नेपाल भित्र्या उन एउटा रेमिट्यान्स एप एनआरबी ले गराएर भिसा कार्डसँग समन्वय गरेपछि सबै रेमिट्यान्स कम्पनीमा अल्झेर बसेका मानिसहरूलाई उत्पादनशील काममा लगाउन सकिन्छ । अब संसार विद्युतीय गाडीमा अगाडि बडेको छ, जुन हाम्रा लागि पनि राम्रै कुरा हो ।
तत्कालै हामीले ब्याट्री उत्पादन गर्न नसके तापनि ब्याट्री आयात गरी विद्युतीय गाडी निर्माणमा हामी लाग्नुपर्ने हुन्छ । यसरी यो मोडेलले मान्छेलाई अनावश्यक ठाउँमा अल्झनबाट निकाली उत्पादनशील काममा लगाउने हुँदा संसार नै चकित हुने गरी हामीले विकास गर्न सकिन्छ र यो देखेपछि संसारभरका अर्थशास्त्रमा रुचि राख्नेहरू हाम्रो देशको माउन्टेनिजम मोडेल हेर्नका लागि पनि आउनेछन्, जुन हाम्रो विदेशी आयको स्रोत पनि हुनेछ । हामीले अहिले चलिरहेका निजी शिक्षा र स्वास्थ्य संस्थालाई राष्ट्रियकरण गर्न मिल्दैन, तर सरकारले आफ्नो गुणस्तर वृद्धि गरेपछि ती संस्थाहरू स्वतः घाटामा जानेछन् । सरकारले त्यही मौकामा सबै खरिद गरी शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सक्नेछ । खासमा, मुख्य कुरा सीमित साधन, स्रोत र मानिसलाई अधिकतम फाइदा हुने गरी प्रयोग गर्नु नै यो मोडेलको मुख्य उद्देश्य हो । अब यो मोडेल नै संसारको निर्विकल्प मोडेल बन्नेछ र संसारबाट बाध्यता बनाई सिर्जित गरिएको दासयुगको वास्तविक रूपले अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्