लसुन पकेट क्षेत्रका किसानको जीवनस्तर फेरियो «

लसुन पकेट क्षेत्रका किसानको जीवनस्तर फेरियो

नलगाड नगरपालिका–९ का रवीन्द्र सिंह दुई वर्ष पहिले एक दाना लसुन नहुँदा रुकुमको राडी बजारमा पुग्ने गरेको सुनाउँछन् । खच्चडमा लसुन र अन्य सामग्री लिएर त्रात्रगाउँमा पुगेको कथा उनीसँग छ ।
त्यस्तै भिरालो जमिन, सिँचाइ सुविधा नभएकाले आफ्नो जमिनमा केही उत्पादन नहुने तर अरुले उपादन गरेको वस्तुमात्र किन्दा पैसाजति त्यसैमा सकिने गरेको अर्का त्रात्रका किसान तपबहादुर सिंहको भनाइ छ । उत्पादनका लागि पर्याप्त जमिन हुँदाहुँदै पनि अर्काको भर पर्नुपर्ने रहर नभइ त्रात्र, घरंगा, रग्दा, दारिमपाटा, रोलीलगायतका ठाउँका किसानको बाध्यता दुई वर्षसम्म रहेको किसान प्रेमबहादुर सिंहले बताए । दुई वर्षपछि अहिले यहाँका किसान आफंै लसुनखेती मात्र गरेका छैनन्, बीउसमेत बाहिर जिल्लाका स्थानीयलाई बिक्री गर्ने हैसियत बनाएका छन् । स्थानीय खोलाबाट पाइपमा पानी ल्याई सिँचाइ सुविधा उपलब्ध भएपछि यहाँका ३ सयभन्दा बढी किसान अहिले लसुनको व्यावसायिक खेतीतर्फ लम्किएका छन् ।
अघिल्लो वर्ष करोड बराबरको लसुनको व्यापार भएको र अहिले त्योभन्दा बढी लसुनको बीउ नै उत्पादन हुने किसान नविन रावतले बताए । मेहनत गरेमा बाँझो जमिनमा हीरा फलाउन सकिन्छ भन्ने उखान त सुनेको थिएँ, तर आफ्नै जीवनमा कृषि पेशाबाट यति राम्रो कमाइ हुन्छ भन्ने आफंै उदाहरण भएको रावतको भनाइ छ । अहिले नलगाड नगरपालिकाभित्रका वडा ८, ९ र १० नम्बर वडालाई लसुनको पकट क्षेत्र घोषणा गरी काम भइरहेको छ । अघिल्लो आर्थिक वर्षमा ९ लाख रुपैयाँ अनुदान स्वरुप यहाँका किसानलाई नगरपालिकाले सहयोग गरेको थियो भने अहिले फेरि ३० लाख बराबरको रकम सहयोग गर्न लागेको नगरप्रमुख टेकबहादुर रावलले बताए ।
किसानको जीवनस्तर बदल्न नगरपालिकाले विभिन्न कृषिजन्य वस्तुको उत्पादन क्षेत्र हेरिरहेकाले, सम्भावित क्षेत्रमा लगानी गरिने उनले बताए । अहिले लसुनखेती राम्रो भएसँगै यहाँका किसानले छोरा, छोरी राम्रो विद्यालयमा पढाउन थालेको किसान इश्वरी डीसीले बताए । गहुँ लगाउने किसान अहिले पेशा बदल्दै सबै जग्गामा लसुनखेती लगाएका छन् । नगरपालिकाले पनि लसुनखेती भइरहेको क्षेत्रमा पटक क्षेत्र घोषणा गरी विशेष रूपमा सहयोग गरिरहेको छ । युद्धको बेला सबैभन्दा बढी थिलो, थिलो भएको यो साविकको रग्दा गाविस अहिले लसुन गाउँ भनेर परिचय फेर्न थालेको स्थानीय बुद्धिजीवी नविन डीसीले बताए ।
बिहान, बेलुकाको छाक टार्न सधंै भारतका कुना कुन्दरामा जाने यहाँका किसान अहिले आफ्नै बारीमा लसुन उत्पादन गरी राम्रो आम्दानीको स्रोत बनाई परिचय बदलिएको छ । अहिले दुई वर्षका अन्तरालमा यहाँका ५ जनाभन्दा बढी किसानले आफ्नै जीप तथा ट्र्याक्टर किनेर सेवा प्रवाह गरिरहेका छन् । डोल्पा, रुकुम र सल्यानसम्म यहाँको लसुन पुग्ने गरेको किसानहरूले बताएका छन् । स्थानीय बीउ प्रयोग गरी लसुनखेती गरिरहेको किसान डम्बर रावतले बताए । लसुनको मागसमेत अत्यधिक बढेको उनले बताए । लसुन किन्न घरमा व्यापारीहरू पुग्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्