ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकामा आगलागी «

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकामा आगलागी

फुङलिङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाका अनुसार ४७ घर जलेर नष्ट भएका छन् । आगलागीमा परेर लक्ष्मी बैंकको शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय र आईएमई मनि ट्रान्सफरको एउटा शाखा कार्यालय पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए ।
जिल्लाको दोस्रो ठूलो बजार हो दोभान । यस बजारमा करिब एक सय व्यापारिक भवन छन् । तीमध्ये ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हार्डवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ ।
बिहान करिब ९ बजे सुरु भएको आगलागी दिउँसो करिब १ बजे नियन्त्रणमा आएको थियो । दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परेका पीडितलाई बस्ती नजिकैको खाली ठाउँमा पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको छ । पीडितहरुलाई उद्योग वाणिज्य संघले खानेकुराको प्रबन्ध गर्ने र रेडक्रसले लत्ताकपडाको व्यवस्था मिलाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्