बजेट अभावले नाग्म–गमगढी सडक स्तरवृद्धि रोकियो «

बजेट अभावले नाग्म–गमगढी सडक स्तरवृद्धि रोकियो

जुम्ला-नाग्म गमगडी सडकको स्तरउन्नतिमा २० करोड बजेट अभाव हुँदाबीचमै काम प्रभावित भएको छ । सडक ग्राभेल, ढल निकासा, ग्यामिन पर्खाललगायतका काम भइरहेको उक्त सडकमा बजेट अभाव भएपछि बीचमै स्तरोन्नतिको काम रोकिएको छ ।
संघीय सरकारले नाग्म–गमगडी सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट गएको असोजमै सकिएपछि निर्माण रोकिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताए । उनले भने, “बजेट सकिएपछि संघीय सरकारले दोस्रो चरणमा ५ करोड बजेट छुट्याएको थियो । तर त्यो बजेट पनि प्रयाप्त भएन् । बजेट अभावले सडकको लागत अनुमानअनुसार काम गर्न सकिएको छैन ।”
असोजमै बजेट सकिएपछि नाग्म–गमगडी सडकको ग्राभेल र ढल निकासको काम अधुरै रहेको समेत कार्यालय प्रमुख भण्डारीले उल्लेख गरे । अझै ठेकेदारलाई १२ करोड भुक्तानी दिन बाँकी रहेको र कतैबाट बजेट नजुटेकोले ठेकेदोरी कसरी भुक्तानी दिने भन्ने समस्या भएको भण्डारीको भनाइ छ ।
चालू आवमा नाग्म गमगडी सडकको ९३ किमी ग्राभेल गरेर सकाउने लक्ष्य लिएको सडक डिभिजनले बजेट अभावका कारण काम अघि बढाउन सकेको छैन् । कार्यालय प्रमुख भण्डारीले भने,“नाग्म–गमगडी सडकको बाँकी ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि २० करोड अभाव रहेको छ । बजेट जुटाउन मन्त्रालय धाइरहेको छु । कहिले बजेट जुट्ने र काम अघि बढ्ने टुंगो छैन ।”
साथै,चालू आवमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको कार्यालय प्रमुख भण्डारीले उल्लेख गरे ।
चालू आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावले लक्ष्य हासिल गर्न नसकिने चिन्तामा सडक डिभिजन छ । चालू आवमा सडकको १० ठाउँमा आरसीसी पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुुरु गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङ्ला सम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो ।
यसका लागि ८० करोड आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताए । सबै चालु आवमा नाग्म–गमगडी सडकको ग्राभेल गरेर कालोपत्र गर्न संघीय सरकारसँग ३ अर्ब बजेटसमेत माग गरिएको छ ।
नाग्म–गमगढी सडकमा गाडी गुड्न थालेको ९ वर्षपछि सरकारले स्तरोन्नतिको काम शुरू गरेको छ । रारा जाने पर्यटक संगै सिंजा, मुगुका नागरिकलाई आवतजावमा सहज हुने अपेक्षा गरिएकोमा बीचै स्तरबृद्धि रोकिएपछि नागरिक निराश भएका छन् । बजेट व्यवस्थापन गरी नाग्म–गमगडी सडक स्तरवृद्धि गति दिने सडक डिभिजनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्