Logo

निर्मला पन्त हत्या प्रकरणलाई अर्जुन दृष्टिले हेरेको छु : डीआईजी सुवेदी

बझाङ-सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले समाजमा हुने ८० प्रतिशत अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको बताएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङद्वारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सरोकारवालाहरू संगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै डीआईजी सुवेदीले हालसम्मको तथ्याङकलाई केलाएर हेर्दा ८० प्रतिशत अपराधिक घटना आफन्तबाटै भएको बताए ।
अपराधमा बढी जसो बालबालिका संलग्न हुने गरेको भन्दै सुवेदीले बालबालिकाहरूमा नैतिक शिक्षाको अभाव भएका कारण पनि समाजमा अपराधिक क्रियाकलाप हुने गरेको बताए । विद्यालय, कलेज र विश्वविद्यालयमा नयाँ प्रविधिलगायतका सबै विषयहरूको पठनपाठन हुने गरेको भए पनि नैतिक शिक्षालाई कसैले चासो दिएका छैनन । जस्को कारण दिनप्रतिदिन सामाजिक अपराध बढ्दै गएकोमा दुई मत छैन ।
पछिल्लो समयमा सामाजिक संजाल र प्रविधिको अधिकतम प्रयोगले किशोर किशोरीहरू अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाईएको छ । उनले भने सहर र गाउँमा फरक परिस्थिति छ, तर समस्या एउटै छ । सहरमा सामाजिक सञ्जालको दुरुपयोग धेरै भइरहेको छ । व्यस्तताका कारण अभिभावकहरूले छोराछोरीको बारेमा सोच्ने र सोध्ने समेत फुर्सद छैन । परिवारका सबै मानिसहरू मोबाइलमै व्यस्त भएका कारण एक–अर्कासँग बोल्ने फुर्सद हुँदैन । यता गाउँमा पनि पुरुषहरू आयआर्जनका लागि घर बाहिर हुने र महिलाहरू घरकै काममा व्यस्त हुने भएका कारण बालबालिकाहरूले सही अभिभावकत्व पाउन सकेका छैनन् ।
अभिभावकहरूसँग आफ्नो सन्तानलाई नैतिक शिक्षा दिने र सही मार्गनिर्देश गर्ने समय छैन । बालबालिकाहरूमाथि अभिभावकको निगरानी नहुँदा उनीहरू कलिलो उमेरमै अपराधको जालोमा फस्दै गएका छन । यस्ता अपराधिक क्रियाकलापमा सबैभन्दा बढी १६ वर्षदेखि २५ वर्ष उमेर समूहका बालबालिकाहरू छन् ।
फरक प्रसंगमा बोल्दै डीआईजी सुवेदीले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आफुले अर्जुन दृष्टिले हेरिरहेको बताए । कुनै पनि अपराधको बारेमा जानकार हुने भनेकै घटनास्थल वरपर वा समुदायकै मानिसहरू हुन । प्रहरीले सो घटनालाई गहिरो ढंगले अध्ययन गरिरहेको छ । उनले भने हामी लगभग अनुसन्धानको अन्तिम चरणमा पुगिसकेका छौं ।
पहिले केही अराजक तवरले घटना तोडमोड गर्ने क्रियाकलाप भए । प्रहरी पनि बाहिरिएको हल्लाको पछि लागेर अनुसन्धान गर्दा अनुसन्धान कार्य प्रभावित भएकोले पत्ता लाग्न नसकेको हो । निर्मला पन्त हत्याकाण्डले ठूलो पाठ सिकाउँदा बैतडीकी भागरथी हत्या प्रकरणमा प्रहरीले चनाखो भएर अनुसन्धान गर्दा सफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्