पर्यटन पवद्र्धन गर्न लिङ्गा क्षेत्रमा सात करोडको पूर्वाधार बन्ने «

पर्यटन पवद्र्धन गर्न लिङ्गा क्षेत्रमा सात करोडको पूर्वाधार बन्ने

महेन्द्रनगर-कञ्चनपुरको वेदकोट नगरपालिकास्थित धार्मिक पर्यटकीय आस्थाको केन्द्र विन्दु मानिने लिङ्गा क्षेत्रमा पर्यटन प्रवद्र्धनका गर्न सात करोडको पूर्वाधार निर्माण गरिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमसँग नगरपालिकाको साझेदारीमा लिङ्गा क्षेत्रमा पर्यटन प्रवद्र्धनका गर्न सात करोडको पूर्वाधार निर्माण गरिने भएको हो । नगरपालिकाका अनुसार वेदकोट नगरपालिकाको २ करोड ४५ लाख र संघीय सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ४ करोड ५५ लाख गरेर ७ करोडमा उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनको आयोजना बन्न लागेको हो । आयोजना अबको २ वर्षभित्र सम्पन्न गर्ने नगरपालिकाले लक्ष्य राखेको छ । “२ वर्षभित्र सम्पन्न गराउने गरी नगरपालिकाले आयोजनालाई अगाडि बढाएको छ, खासगरी हामीले आयोजनाको डीपीआर र गुरुयोजना निर्माणको काम गरिसकेको अवस्था छ ।”
वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने, “लिङ्गा क्षेत्रमा बन्ने आयोजनाको डीपीआर र गुरुयोजनामा हामीले धार्मिक पर्यटनसँग सम्बन्धित सबै कुरा समेटेका छौं, वि.सं २०७९ सालको फागुन मसान्तसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।” लिङ्गा क्षेत्रमा विवाह मण्डप, पार्क, नदी तटबन्ध गर्ने कार्य, वायो इन्जिनियरिङ, ध्यान केन्द्र तथा हेल्थ केयर सेन्टर, बाहिरी बाउन्ड्री निर्माण, नेपालको पूर्वदेखि पश्चिमसम्म महादेवको मूर्ति स्थापना, सोसल कल्चरल एरिया, घण्टीस्थल, स्नान गृह, चिडियाघर, वेदकोट संग्रहालय, वेदकोटदेखि लिङ्गा क्षेत्र जोड्ने पदमार्ग, रिर्साेट, कटेज, रेस्टुराँ, विश्रामस्थल, खानेपानी व्यवस्थापन केन्द्रलगायतका विभिन्न पूर्वाधारका संरचना लिङ्गा क्षेत्रमा निर्माण हुने नगर प्रमुख चन्दले बताए । योसँगै लिङ्गा क्षेत्र आवतजावत गर्नका लागि २ किलोमिटर बढी सडक कालोपत्रेसमेत गरिनेछ । नगरपालिकाले पर्यटन पूर्वाधारको विकाससम्बन्धी विभिन्न योजनालाई पनि अघि सारेको छ । पर्यटन क्षेत्रमा पर्यटकको सजिलै पहुँच होस् भन्नका लागि नगरपालिकाले विभिन्न दीर्घकालीन योजनालाई अघि बढाएको छ । यस्तै लिङ्गा क्षेत्र आवतजावत गर्नका लागि मन्दिर पारि बीच बाटोमा पर्ने खोलामा पनि नगरपालिकाले झोलुुंगे पुल निर्माण गर्ने भएको छ ।
“वर्षात्को समयमा धार्मिक आस्था राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दर्शन गर्नका लागि असहज हुने भएकाले सहजताको निम्ति नगरपालिकाले उक्त क्षेत्रमा झोलुंगे पुलको योजनाअघि सारेको छ ।” नगर प्रमुख चन्दले भने, “योजना सम्पन्न गराउन तथा योजना निर्माणको इकाई छिटो र छरितो गराउन पनि नगरपालिका लागेको छ, केही महिनाभित्रै झोलुंगे पुल निर्माणको काम पनि सुरु हुने अवस्थामा छ ।” लिङ्गा क्षेत्रमा निर्माण हुने संरचनाले लिङ्गा क्षेत्रको धार्मिक महत्व पनि बढ्नेछ । यस्तै लिङ्गा क्षेत्रको प्रचारप्रसार भएर नगरको आम्दानीको स्रोत बन्ने नगर प्रमुख चन्दले बताए ।
यसैगरी नगरपालिकाले पर्यटन क्षेत्रमा थप एक करोड लगानी गरेको छ । नगरपालिकाले नगरभर रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूको वृद्धि विकासका लागि यस वर्ष थप एक करोड लगानी गरेको नगरपालिकाका प्रमुख अशोककुमार चन्दले जानकारी दिए ।
“नगरभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र वेदकोट ताल, भम्केश्वर मन्दिर, सिद्ध सरोवर ताल, शिव लिङ्गेश्वरलगायतका विभिन्न क्षेत्रमा नगरपालिकाको पर्यटन पूर्वाधारका लागि लगानी रहेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको क्षेत्रलाई विशेष प्राथमिकता दिएर नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रमा बजेट विनियोजित गरेको छ ।” नगर प्रमुख चन्दले भने, “धार्मिक तथा पर्यटकीयस्थलमा खानेपानीको व्यवस्था मिलाउने, धर्मशाला बनाउने, सुरक्षा व्यवस्था, बिजुली तथा सोलारको पहुँच गराउनेजस्ता कार्यमा नगरपालिकाले बजेट खर्च गर्ने गरेको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिकास्थित लिङ्गा क्षेत्र । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्