बजेट अभावले खुल्लामञ्च स्तरोन्नति अलपत्र «

बजेट अभावले खुल्लामञ्च स्तरोन्नति अलपत्र

म्याग्दी-सदरमुकाम बेनीमा रहेको खुल्लामञ्चको स्तरोन्नति अलपत्र भएको छ । चालू आर्थिक वर्षमा जिल्लामा निर्वाचित तीन तहका जनप्रतिनिधिले मञ्चको पूर्वाधार निर्माणमा बजेट विनियोजन नगर्दा खुल्लामञ्च अलपत्र बनेको हो ।
मिनि स्टेडियम बनाउने जनप्रतिनिधिको भाषणअनुसार बजेट विनियोजन नगर्ने र जिल्ला खेलकुद विकास समिति नेतृत्वविहीन हुँदा खुल्लामञ्चको स्तरोन्नति अलपत्र बनेको छ । जिल्लामा फराकिलो, प्यारापिटसहितको गुणस्तर रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले डीपीआरसहित ९ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो । जनप्रतिनिधि राजनीतिक रूपमा बोलेको बाचाअनुसार बजेट विनियोजन नगर्ने र कार्यकर्ता केन्द्रित टुक्रे योजनामा बजेट केन्द्रित गर्दा जिल्लामा ठूला आयोजनामध्ये खुल्लामञ्च पनि अलपत्र छ ।
जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिकाका भौतिक पूर्वाधार विकास संयोजक कृष्णकुमार विश्वकर्माले नगरपालिकाबाट धेरै रकम हाल्न नसकिने र थोरै रकम यस वर्ष छुट्याउन सकेनौं र संघबाट प्राप्त रकम हाल्ने आश्वासन भए पनि यस वर्ष बजेट विनियोजन नुहँदा काम रोकिएको बताए । नगरपालिकाले कोभिडको खर्चका लागि छुट्याइएको रकमबाट बचेको खुल्लामञ्च निर्माणमा छुट्याउन पहल गर्ने जानकारी गराए ।
फुटबल, भलिबल, क्रिकेट, महोत्सव, जेसिज कप, महोत्सवलगायतका विभिन्न प्रतियोगिता हुन सकेको छैन । मिनि स्टेडियम बनाउने योजनाअनुसार पुराना संरचना भत्काउँदा र बजेट अभावले स्तरोन्नतिको काम ढिलासुस्ती हुदाँ खेलकुदका गतिविधि ठप्प बनेको छ
कालिगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानोभन्दा फराकिलो ११÷११ जना फुटबल खेल्न मिल्ने योजनासहित ९६ मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको मिनी स्टेडियम बनाउने डीपीआरमा छ । हालसम्म ३ करोडभन्दा बढी लगानी भएको खुल्लामञ्चलाई ब्यवस्थित बनाउन ९ करोड अनुमानित लागत छ । कोरोना पश्चातको लकडाउन र जनप्रतिनिधिले बोलेको वाचा भाषणमा सीमित हँुदा सदरमुकाम बेनीको एकमात्र खुल्लामञ्चसँंगै सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीले सरोकारवालालाई बेवास्ता गरेको प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्