डिग्रे मेलामा आन्तरिक पर्यटकको ओइरो

रुकुम – राप्ती क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल रुकुम पश्चिमको थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा लाग्ने डिग्रे मेला सम्पन्न भएको छ । हरेक वर्ष हरिवोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मेला लाग्ने गरेको छ । डिग्रे मेलामा डिग्रे शाईकुमारी मन्दिरमा सयौंको संख्यामा बोकाको बली समेत दिइने गरेको छ । मेला अवधिमा बिहान सबेरैदेखि साँझ अबेरसम्म पनि मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भिड लाग्ने गरेको छ ।
मेलामा सुर्खेत, जाजरकोट, रोल्पा, सल्यान, दाङ, बर्दिया जिल्लालगायत रुकुम जिल्लाका विभिन्न ठाउँबाट आएर झण्डै एक लाख बढी भक्तजनले मन्दिरमा पूजापाठ तथा दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । डिग्रे शाईकुमारीको मन्दिरमा पूजा गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रही आएको छ ।