जनप्रतिनिधिले नै लगाएनन् कोरोनाविरुद्धको खोप «

जनप्रतिनिधिले नै लगाएनन् कोरोनाविरुद्धको खोप

दाङमा जनप्रतिनिधिले नै कोभिड–१९ विरुद्धको खोप नलगाउने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार दोस्रो चरणमा जिल्लामा रहेका दशवटा स्थानीय तहका ५ सय ८० जना जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम भए पनि करिब ४० प्रतिशत जनप्रतिनिधिले मात्र खोप लगाएका हुुन् ।
जिल्लामा करिब ६० प्रतिशत जनप्रतिनिधि विभिन्न बहानामा खोप लगाउन नचाहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए । “कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा दाङमा जनप्रतिनिधिलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको थियो । जसअन्तर्गत दाङमा ५ सय ८० जनालाई खोप लगाउने कार्यक्रम थियो,” कोभिड–१९ विरुद्धको खोप अभियान जिल्ला समन्वय समितिका सदस्य सचिवसमेत रहेका प्रमुख शाहीले भने, “तर अभियानका क्रममा दुई सय ४५ जनाले मात्र खोप लगाएका छन् । ३ सय ३५ जनाले लगाएनन् ।” जसले गर्दा लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउने जिल्लामा पहिलो स्थानमा भएको दाङ खोपविरुद्धको अभियानमा जन प्रतिनिधिको सहभागिता भने अन्तिम स्थानमा रहेको बताए । “कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशका १२ जिल्लामध्ये दाङ पहिलो स्थानमा छ । यो हिसाबले जिल्लामा खोप अभियान राम्रै मान्न सकिन्छ,” प्रमुख शाहीले भने, “तर जनप्रतिनिधिको सहभागिता भने कम छ । खोप नलगाउने जनप्रतिनिधिका हिसाबले लुम्बिनी प्रदेशमा दाङ १२आंै स्थानमा छ ।” दोस्रो अभियानअन्तर्गत जिल्लामा फागुनको २ गतेदेखि १० गतेसम्म कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

त्यसैगरी कोरोनाविरुद्धको खोप अभियानमा प्रहरीको पनि सहभागिता हुन नसकेको उनले बताए ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो र दोस्रो चरणमा गरी ७ हजार ८ सय ७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । जसअन्तर्गत पहिलो चरणमा ३ हजार ५ सय ४६ जना र दोस्रो चरणको खोप अभियानमा ४ हजार ३ सय ३३ जनाले खोप लगाएको उनले बताए । सरकारले पहिलो चरणमा गत माघ १४ गतेदेखि २४ गतेसम्म अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीलगायतलाई खोप लगाइएको थियो ।
कोभिड–१९ विरुद्धको तेस्रो खोप अभियान जिल्लामा फागुन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । जसअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहका विभिन्न लक्षित समुदायका ६४ हजार ५ सय ७७ जना व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्