फेवातालबाट माटो निकाल्न सुरु

पोखरा-पर्यटकीयस्थल फेवातालबाट माटो तथा ढुंगा निकाल्न सुरु भएको छ । पोखरा फेवाबाँधको मर्मत गर्न हाल पानीको सतह घटेको अवस्थामा फिर्केखोला केदारेश्वर महादेवमणि मन्दिर परिसर नजिकबाट मंगलबारदेखि माटो निकाल्न सुरु भएको हो ।
गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको संयोजनमा पोखरा महानगरपालिका, जलस्रोत तथा सिंँचाइ डिभिजन कार्यालय कास्की, बृहत् जलाधार व्यवस्थापन कार्यालय कास्की, जलाधार व्यवस्थापन कार्यालय तनहुँ, डिभिजन वन कार्यालय कास्की, ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा फेवातालमा थिग्रानको माटो निकाल्ने कार्य सुरु भएको पर्यटन मन्त्रालयका महाशाखा प्रमुख रामकाजी श्रेष्ठले बताए । उनका अनुसार हाल फिर्केखोला क्षेत्रबाट माटो निकाल्ने काम सुरु भएको छ । करिब साढे ३ मिटरको भाग माटो, ढुंगा तथा फोहरले तालको भाग पुरिएको फिर्के खोलामा पानीको सतहमा पु-याउन कम्तीमा २ मिटर माटो फाल्नु पर्ने महाशाखा प्रमुख एवं फेवाताल माटो निकाल्ने अभियानका संयोजकसमेत रहेका श्रेष्ठले बताए ।
फिर्केखोलाको माटो निकालेसँंगै कोमागाने पार्क र वसुन्धरा पार्क क्षेत्रमा रहेका खाल्डा खुल्डीहित घोल क्षेत्रमा उक्त माटो व्यवस्थापन गरिने संयोजक श्रेष्ठले बताए । फिर्केखोला क्षेत्रको माटो, बाराहीघाट नजिक, खहरेखोला क्षेत्रमा, चिसाखोला लगायतका क्षेत्रको पहिलो चरणमा करिब १५ हजार घनमिटर माटो निकाल्ने लक्ष्य राखिएकोे उनले जनाए । उक्त माटो निकाल्न करिब २५ लाख लाग्ने भएको संयोजक श्रेष्ठले बताए ।
हालसम्म ताल संरक्षण तथा विकास प्राधिकरणले उत्त माटो निकाल्ने अभियानमा करिब ५ लाख लगानी गर्ने भएको छ भने अन्य निकायसँंग समन्वय गर्दै गरेको उनले जनाए । प्राधिकरणले कोमागाने र वसुन्धरा पार्कको सौन्दर्यकरण गर्ने बजेटमध्ये उक्त पार्कको सतह मिलाउने गरी उक्त रकम फेवातालको माटो तथा माटोजन्य पदार्थ निकाल्न खर्चिन लागेको प्राधिकरणका कार्यकारी निर्देशक डा. अनुप गुरुङले बताए । आवश्यक बजेटको जोहो सरोकार निकायसँंगको सहकार्यमा व्यवस्थापन गरिने उनले जनाए । हाल फेवाबाँधको गेट बन्द गरिएकाले जति सक्दो छिटो माटो निकाल्दा सहज हुने निर्देशक डा. गुरुङको भनाइ थियो ।
केही दिनदेखि फेवाबाँधको गेट बन्द गरिएकाले तालको पानी रिचार्ज हुन थालेको जलस्रोत तथा सिँंचाइ डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख ई. किरण आचार्यले बताए । करिब एक महिनामा तालको पानीको सतह पहिलाकै अवस्थामा पुग्ने अन्यथा अन्य पानीको स्रोत तालमा ल्याउनु पर्ने उनले बताए । फेवातालमा हाल हर्पन खोलाको पानी नै मुख्य स्रोतको रूपमा राखिएको हो ।
पोखराको फेवातालको बाँध करिब ३८ वर्षपछि मर्मत गर्न थालिएको हो ।