बन्दीपुरको गुरुयोजनाका लागि सुझाव संकलन

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले दीर्घकालिन गुरुयोजनाका सम्बन्धमा सुझाव संकलन गरेको छ । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरी गुरुयोजनाका सम्बन्धमा सुझाव संकलन गरेको हो ।
कार्यक्रममा बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ, नेपाली कांग्रेस बन्दीपुर गाउँपालिका सभापति कर्ण खत्री, राप्रपाका नेता गोबद्र्धन भट्टराई, युवा बुद्धिजीवि आशुतोष प्रधानलगायतले गुरुयोजनामा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई समेट्नुपर्नेमा जोड दिएका छन् ।
गाउँपालिकाले गुरुयोजना निर्माणका लागि हेमराज लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको छ । गाउँपालिकाका प्रमुख पूर्णसिंह थापाले बन्दीपुरलाई कस्तो बनाउने भन्ने सन्दर्भमा सबै सरोकारवालासँग समन्वय गरी २० वर्षे दीर्घकालिन गुरुयोजना बनाउन लागिएको जानकारी दिए ।
थापाले गुरुयोजना निर्माणका सन्दर्भमा हरेक वडाहरुमा समेत सुझाव संकलन गर्ने कार्यक्रम भइरहेको बताए । सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरिसकेकोले पर्यटन वर्षमा बन्दीपुरले गर्न सक्ने योगदानको बारेमा समेत छलफल भइरहेको उनले जानकारी दिए ।
“बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीय स्थल हो । यसको थप विकासका लागि दीर्घकालिन गुरुयोजना बनाउन आवश्यक ठानेकोले काम शुरु गरेका हौं,” थापाले भने । उनका अनुसार गुरुयोजना अनुरुपका नीति तयार गरी विकासका कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै लगिनेछ ।
काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच छ । बन्दीपुर आफैंमा एउटा प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, सम्बद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने लक्ष्य लिएको थापाको भनाइ छ ।
गाउँपालिकाले बन्दीपुरको पर्यटन विकासका लागि रानीवन क्षेत्रमा भ्युटावर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । भ्युटावरबाट एउटै रेञ्जमा धौलागिरीदेखि लाङटाङसम्मका ८ हजार उचाइभन्दा माथिका हिमालहरु देख्न सकिन्छ । यसैगरी बन्दीपुरमा कृत्रिम तालको निर्माण कार्यलाई समेत अगाडि बढाइएको छ ।