पर्यटनमार्फत् समृद्धिको आधार सुनिश्चित «

पर्यटनमार्फत् समृद्धिको आधार सुनिश्चित

विश्वमा हरित आर्थिक विकासको अवधारणा लागू हुन–हुन थालेको अवस्थामा नेपालजस्तो पर्यावरणीय मुलुकले पर्यटन क्षेत्रबाट लाभ लिने सम्भावना अथाह रहन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो बहुचर्चित निबन्ध ‘के नेपाल सानो छ ?’ मा नेपाल सानो भए पनि सुन्दर र विशाल भएको दर्साएका थिए । कवि देवकोटाले आँखाको नानी सानो हुन्छ, बालुवाको कण झन् सानो हुन्छ । तर पनि त्यसको महत्व विशाल हुन्छ, त्यस्तै नेपाल सानो भए पनि निकै विशाल महत्वको छ भनेर लेखेका थिए । सात दशकअघि लेखिएको उनको निबन्धले नेपालबारे निकै दूरदर्शी महत्व प्रस्ट्याएको थियो । हुन पनि संसारमै अनौठोझैं लाग्ने भौगोलिक विविधता, जैविक विविधता र प्राकृतिक सौन्दर्यताले भरिभराउ छ नेपाल । तर ‘बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड‘ भन्ने नेपाली उखान सावित भएको छ यहाँको प्राकृतिक सम्पदा । न हामीले यसको प्राकृतिक विछट्टतालाई उज्जागर गर्न, संरक्षण गर्न सकेका छौं, न त विश्वसमुदाय माझ राम्रोसँग चिनाउन सकेका छौं ।
पर्यटनमा अथाह सम्भावना हुँदाहुँदै हामी अभाव र गरिबीमा रुमल्लिएका छौं । हालका वर्षहरूमा विश्वमा जति–जति आधुनिकता र कृत्रिमताले व्यापकता पाउँदै गएको देखिन्छ उति नै प्रकृति र पर्यावरणको महत्व उजागर हुँदै आएको छ । त्यसका अतिरिक्त कृत्रिम खालका अनियन्त्रित विकासले पर्यावरणलाई ध्वस्त बनाउँदै लगेको छ । एकातिर कृत्रिमताले व्यापकता पाएको छ, अर्कातर्फ प्रकृतिप्रेमीहरूको सङ्ख्या तीव्र बढ्दै गएको देखिन्छ । पछिल्लो दशक प्राकृतिक सौन्र्दयता नियाल्ने र त्यसबाट आनन्द लिनेहरूको संख्या विश्वव्यापी रूपमा बेजोडले बढ्दै गएको छ । प्रकृतिप्रेमीहरूको जनघनत्व बढ्दै जाँदा महाकविले भनेजस्तो सुन्दर नेपालको महत्व झन् विशाल हुँदै गएको महसुस हुन्छ । वास्तवमा कवि देवकोटाले भनेजस्तो के छैन र नेपालमा ? हरियाली वन सम्पदा छ, जडीबुटीको सागर छ, विश्वमै सबैभन्दा अग्ला सुन्दर गगनचुम्बी सेता हिमालहरू छन् ।
आँखाले हेरेर नभ्याउने भीमकाय महाभारत पहाड, पर्वतहरू छन् । समथर तराईका उर्वर जमिनहरू छन् । नेपालमा विश्वमै दुर्लभ मानिने ७ सय ५० भन्दा बढी प्रजातिका पन्छीहरू छन् । दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैंडाहरू यही नेपालमा छन् । वर्षैभरि अविछिन्न बगिरहने नदीहरूले जताततै जुलुस निकालिरहेका हुन्छन् । सयौं भाषा, सयौं भेष र संस्कृति यहीं छन् । फरक–फरक जलवायु छ; अर्थात् नेपालमा अथाह सम्भावनाका स्रोत छन् । तर पनि नेपाल विश्वसामु किन पछि परिरहेको छ त ? किन खुसी, सम्पन्नता, शान्ति र विकास व्यवस्थित हुन सकिरहेको छैन ? चिन्ताको विषय बनेको देखिन्छ ।
नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ राम्ररी प्रवद्र्धन गर्ने हो भने, आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लग्ने हो भने समृद्धिको ढोका सहजै खुल्ने सम्भावना छ । ‘वल्र्ड टुरिजम अर्गनाइजेसन’ले गर्ने सर्वेक्षणले विश्वको प्रमुख पर्यटकीय गन्तब्यमध्ये ६ नै टप १० आकर्षक गन्तव्यमा पर्ने गरेको छ । जबकि नेपालका कैयौं पर्यटकीय महत्वका स्थलहरू प्रचारमा आउन सकेका छैनन् । पर्यटकीय पूर्वाधारको अभाव उस्तै छ । अर्को अन्तर्राष्ट्रिय तथ्यअनुसार पछिल्लो समय पर्यटकीय क्षेत्रको व्यापार अचाक्ली बढेको छ । त्यस्तै पर्यटन क्षेत्रकै लागि विश्वमा हाल ४ सय बिलियन डलरभन्दा बढी लगानी भइसकेको छ । जसमा आधा खर्च चीन र अमेरिकाले गरेको बताइन्छ । लगानी उच्च भएकै कारण हुन सक्छ, चीनमा बर्सेनि झन्डै १० करोड मानिसले पर्यटक भएर भ्रमण गर्ने गरेका छन् । चीनमा बढ्दै गएको पर्यटकीय व्यापारलाई राजनीतिक स्थायित्व र शान्ति, सुव्यवस्थालाई पनि जोडेर हेरिएको पाइन्छ ।
त्यस्तै भारतमा करोडभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगारी पाइरहेको समाचार छन् । राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ । उसले पर्यटन क्षेत्रमा रोजगारी दिलाउने महत्वकांक्षी लक्ष्य अघि बढिरहेको छ । त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भिœयाउने राष्ट्रमा पर्ने गर्छ । पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, युकेलगायत मुलुकहरू पर्यटक आगमनमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन् । पर्यटक आगमनको यस खालको तथ्याङ्कले प्रकृतिमात्रै सबै थोक होइन, पर्यटनमैत्री वातावरणको पनि खाँचो छ भन्ने प्रस्ट गर्छ । यसर्थ नेपालमा खाँचो भनेको दीर्घकालीन पर्यटन नीति र पर्यटनमैत्री वातावरणको हो । पर्यटनका लागि प्रविधिको विकास, बाटोघाटो एवं पूलपुलेसाको विकास, शान्ति–सुरक्षाको प्रत्याभूति, सम्मानजनक व्यवहारको विकास, पर्यटक अनुसारको भाषाको विकास, स्थान चिनारीमा सहजता, खाद्य सुरक्षा, सुविधाजनक होटल–रेस्टुराँको ग्यारेन्टी, यातायातको सहजता, हवाई सुविधाजस्ता थुप्रै कुरामा सरकारले ध्यान पु¥याउन जरुरी देखिन्छ । नेपालका लागि पर्यटन थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने क्षेत्र भए पनि बाँझो खेतसरह हँुदै आएको छ, जुन दुःखदायी छ ।
पर्यटन क्षेत्रको सामान्य प्रवद्र्धन हुँदा पर्यटन आय बढ्छ र पर्यटक आगमन बढ्छ भन्ने तथ्य सन् २०११ मा मनाइएको पर्यटन वर्षले दिएकै हो । सन् २००९ सम्ममा ५ लाखको हाराहारीमा पर्यटकहरू भित्रिरहेको परिपे्रक्ष्यमा सन् २०११ मा पर्यटन वर्ष मनाउँदा ३० प्रतिशतले वृद्धि भएर ७ लाख ५० हजारको संख्यामा पर्यटक भित्रिएका हुन् । त्यसले कुल राष्ट्रिय आम्दानीमा सो वर्ष ३ प्रतिशत योगदान गरेको थियो । सरकारले अघिल्लो सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।
विडम्बना वर्षको सुरुवातीमै कोरोना महामारीले विश्वव्यापी रूप लिएपछि नेपाल सरकारले आफूले घोषणा गरेको कार्यक्रम नै स्थगित गर्नुप-यो । त्यतिमात्रै होइन, कोरोना महामारीकै अन्त्य नभइसकेको अवस्थाले अझै पनि पर्यटन क्षेत्र राम्रोसँग सक्रिय हुन पाएको छैन । क्रमशः सुधार हुँदै जाने अवस्था भने अब सुरु हुँदै छ ।
यसरी पर्यटकीय सम्भावना रहेको नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन र पर्यटनमैत्री वातावरणको ठूलो खाँचो छ । अभूतपूर्व रूपमा सूचना र सञ्चारको क्षेत्रमा भएको प्रगतिले विश्व नै एउटा गाउँमा सीमित भएको परिदृश्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि सहजता पनि थपिएको छ । तर, नेपालमा राजनीतिक अन्योलता, अस्थिरता र अराजकताले यस क्षेत्र झन् प्रताडित भएको छ । शान्ति–सुरक्षाको प्रत्याभूति, स्थायित्व पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण सर्त हुन् । तर नेपाल अस्थिर, आत्मकेन्द्रित, स्वार्थी, अनपढ एवं विवेकहीन अराजक राजनीतिक नेतृत्वको सिकार हुनुपरेकाले पर्यटकीय माहौल कहिल्यै बन्न सकेको छैन ।
त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय जगत्मा तथ्यवद्र्धक एवं विश्वसनीय रूपमा पर्यटन प्रवद्र्धन गर्न आवश्यक सकिएको छैन । सरकारले पर्यटन नीति २०६५ जारी गरी पर्यटकीय सम्भावनालाई लिएर निकै प्रगतिशिल नीति तथा कार्यक्रमको व्यवस्था गरेको त देखिन्छ । त्यस्तै पर्यटन क्षेत्रसँग सोझै जोडिएको अहम् महत्वको हवाई नीतिलाई पनि सरकारले परिमार्जित गर्दै ‘हवाई ऐन–२०६३ ’ ल्याएको पनि १३ वर्ष बितिसकेको छ ।
भौगोलिक अवस्थिति एवं भूधरातलीय स्वरूपका कारण आन्तरिक एवं बाह्य सम्र्पकका लागि हवाई सेवाको निकै महत्व रहँदै आएको छ । त्यसले गर्दा हवाई नीति पर्यटकीय क्षेत्रको विकास एवं विस्तारका लागि ज्यादै महत्वपूर्ण रहेको देखिन्छ ।
नेपालमा योजनाबद्ध विकास कार्यक्रमअन्तर्गतको नवौं योजनाले ग्रामीण पर्यटन, महोत्सव पर्यटन, खेलकुद पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनलगायतको नयाँ अवधारणाको सुरुवात गरेको पाइन्छ । त्यसपछिका वर्षहरूमा पर्यटन क्षेत्रको विकास हुँदै आएको छ ।
आन्तरिक रोजगारी सिर्जनाको अब्बल माध्यमका रूपमा पर्यटन क्षेत्रलाई लिन थालिएको छ । तर, वास्तवमा अझै पनि पर्यटकहरूलाई सोझै नेपालसम्म आउने भरपर्दो हवाई सेवा सञ्जाल विस्तार हुन सकेको छैन । संख्यात्मक एवं गुणत्मक रूपमा यस क्षेत्रको वृद्धि गर्न सकिएको छैन । हवाई, होटल, ट्राभल, टुर जस्ता गतिविधिहरूलाई व्यवस्थित गर्न सकिएको छैन । पर्यटन क्षेत्रमा संग्लन हुनेहरूबीच आपसी समन्वय हुन सकेको छैन । आन्तरिक पर्यटनलाई पर्यटन क्षेत्रको उपक्षेत्रका रूपमा लिइएको छ । तर, आन्तरिक पर्यटन बढाउन सकिएको छैन । यसरी आन्तरिक रूपमै पर्यटन गतिविधि वेवास्तामा परिरहँदा न पर्यटन क्षेत्रको महत्वबोध हुन सकेको छ, न पर्यटन व्यापार र प्रवद्र्धनमा नै वृद्धि गर्न सकिएको छ । भित्रिएका पर्यटकहरूको समेत बसाइ अवधि लम्ब्याउने तथा खर्च गर्ने इच्छा शक्ति जगाउन सकिएको छैन । नीतिमा निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा प्रोत्साहन गर्ने भनिएको छ ।
तर, उचित किसिमको कार्यक्रमसहितको सार्थक प्रोत्साहन हुन सकेको छैन । पर्यटन रणनीति, बजार, सम्भावना र वर्तमान अवस्थाबारे जुन खालको शोध तथा अध्ययन–अनुसन्धान बढाउँदै लैजानुपर्ने हो, त्यो झनै हुन सकेको देखिँदैन । ग्रामीण पर्यटनलाई गरिबी निवारणसँग जोड्ने भनिएको छ । तर, कसरी जोड्ने त भन्ने कुरामा सार्थक कार्यक्रमको कल्पनासम्म गरिएको छैन । एवंरीतका भनाइ र गराइमा अन्तर छन् । अनेकन समस्या एवं चुनौती छन् । तर, त्यसको यथोचित सम्बोधन हुन सकेको छैन । विडम्बना एनआरएनजस्तो लब्धप्रतिष्ठित संस्था भने के गर्ने, कसो गर्ने भनेर बरालिएको देखिन्छ ।
उसले वास्तवमा ध्यान दिनुपर्ने क्षेत्र भनेको पर्यटन नै हो । पर्यटनले नेपालको व्यापारघाटा घटाउने मात्र होइन, राष्ट्रिय आत्मनिर्भरतासमेत जागृत गर्छ । पर्यटन क्षेत्रभित्रकोे कृषि पर्यटनमार्फत खाद्य सम्प्रभुताको समेत ग्यारेन्टी गर्न सकिन्छ । त्यसकारण कृषि पर्यटन अझ नेपालका लागि महत्वपूर्ण छ । यसर्थ पर्यटनजस्तो विविध विधा समेटिएको दीर्घकालीन सम्भावनाको क्षेत्रमा नेपालले हात धोएरै लाग्नुपर्छ । अनुकूल वातावरण हुनासाथ नेपालमा पर्यटन बढेका अनुभव छन् । त्यसकारण नेपालले प्रकृतिको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्छ । जुन चुनौतीको विषय पनि हो । विश्वमा हरित आर्थिक विकासको अवधारणा लागू हुन–हुन थालेको अवस्थामा नेपालजस्तो पर्यावरणीय मुलुकले पर्यटन क्षेत्रबाट लाभ लिने सम्भावना अथाह रहन्छ । महाकवि देवकोटाले भनेजस्तो सानो नेपालमा पर्यटकीय विशाल सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्