कानुन कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक «

कानुन कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले कानुन कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका रहने बताए ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार सिंहदरबारमा आयोजित पत्रकार महिलाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभाउपाध्यक्ष दहालले कानुन कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चारमाध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताए ।
संसदले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानुनहरू बनाएको भए पनि तिनको कार्यान्वयन पक्ष निकै फितलो रहेको चर्चा गर्दै उपाध्यक्ष दहालले त्यसका लागि सञ्चार क्षेत्रले कानुन कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई खबरदारी गरिरहनुपर्ने बताए ।
पदीय दायित्वले गर्दा संसदमा आफूले प्रत्यक्ष रुपमा आमचासो, चिन्ताका विषयहरू उठाउन नसके पनि अन्य सांसदहरूमार्फत ती आवाजहरू उठाउने भन्दै उपाध्यक्ष दहालले लैंगिक विभेद, महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्न आफ्नो ठाउँमा सक्दो कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले नेपालमा कानुन निर्माण पर्याप्त भए पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका थिए। कानुन निर्माण भइसकेपछि त्यसको कार्यान्वयन नभएको, अदालतले गरेको फैसलाको समेत कार्यान्वयन गराउन निकै झन्झटिलो प्रक्रियाबाट गुज्रिनु परेको, कानुन कार्यान्वयन भए÷नभएको अनुगमन र खबरदारी गर्ने संयन्त्र नै नभएजस्तो अवस्था रहेको सहभागीहरूले बताएका छन् ।
संसदमा सञ्चार र लैंगिक सवालसँग जोडिएका थुप्रै विधेयकहरू प्रक्रियामा रहेको चर्चा गर्दै सहभागीहरूले कानुन निर्माणको चरणमै गम्भीर छलफल र अध्ययन गरेर मात्रै ऐन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कतिपय विधेयकहरू लामो समयदेखि संसदमै थन्किएका बताउँदै उनीहरूले ऐन कानुन नहुँदाको समस्या र बनेका कानुनहरू कार्यान्वयन नहुँदाको समस्याउत्तिकै रहेको बताएका थिए । कानुन निर्माणमा लैंगिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने भन्दै सहभागीहरूले कार्यान्वयनमै मुख्य समस्या रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा पत्रकारहरू बन्दना राणा, बबिता बस्नेत, यशोदा तिम्सिना, निर्मला शर्मा, संगीता खड्का, नितु पण्डित, चन्दा विष्ट, भाषा शर्मा, शोविता रिसाल, रुबी रौनियार, सविता शर्मा, कमलाहमाल, श्वेतासिन्हा, लक्ष्मी बस्नेतलगायतले बोलेका थिए ।
संघीय संसद सचिवालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले गरे ।

प्रतिक्रिया दिनुहोस्