बन्दीपुरको गुरुयोजनाका लागि सुझाव संकलन «

बन्दीपुरको गुरुयोजनाका लागि सुझाव संकलन

दमौली-तनहुँको बन्दीपुर गाउँपालिकाले दीर्घकालीन गुरुयोजनाका सम्बन्धमा सुझाव संकलन गरेको छ । गाउँपालिकाले स्थानीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी गुरुयोजनाका सम्बन्धमा सुझाव संकलन गरेको हो ।
उक्त कार्यक्रममा बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ, कांग्रेस बन्दीपुर गाउँपालिका सभापति कर्ण खत्री, राप्रपाका नेता गोवद्र्धन भट्टराई, युवा बुद्धिजीवी आशुतोष प्रधानलगायतले गुरुयोजनामा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई समेट्नुपर्नेमा जोड दिएका छन् ।
गाउँपालिकाले गुरुयोजना निर्माणका लागि हेमराज लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको छ । गाउँपालिकाका प्रमुख पूर्णसिं थापाले बन्दीपुरलाई कस्तो बनाउने भन्ने सन्दर्भमा सबै सरोकारवालासँग समन्वय गरी २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउन लागिएको जानकारी दिए । थापाले गुरुयोजना निर्माणका सन्दर्भमा हरेक वडामा समेत सुझाव संकलन गर्ने कार्यक्रम भइरहेको बताए । सरकारले २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरिसकेकोले पर्यटन वर्षमा बन्दीपुरले गर्नसक्ने योगदानका बारेमा समेत छलफल भइरहेको उनले बताए । “बन्दीपुर नेपालको मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीयस्थल हो,” थापाले भने, “यसको थप विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक ठानेकोले काम सुरु गरेका हौं ।” उनका अनुसार गुरुयोजना अनुरुपका नीति तयार गरी विकासका कार्यक्रमलाई कार्यान्वयन गर्दै लगिनेछ । उनका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको प्रयोग गरिनेछ । बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरूको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई बन्दीपुरको विकासमा प्रयोग गरिने थापाले जानकारी दिए ।
काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरूको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रूपमा विकास गर्ने गाउँपालिकाको सोच छ । बन्दीपुर आफैंमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने लक्ष्य लिएको थापाको भनाइ छ ।
गाउँपालिकाले बन्दीपुरको पर्यटन विकासका लागि रानीवन क्षेत्रमा भ्युटावर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । भ्युटावरबाट एउटै रेन्जमा धांैलागिरिदेखि लाङटाङसम्मका ८ हजार उचाइभन्दा माथिका हिमाल देख्न सकिन्छ । यसैगरी बन्दीपुरमा कृत्रिम तालको निर्माणकार्यलाई समेत अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्