वाटर एड र कोकाकोलाको सहयोगमा आकाशे पानी संकलन केन्द्र स्थापना «

वाटर एड र कोकाकोलाको सहयोगमा आकाशे पानी संकलन केन्द्र स्थापना

वाटर एड नेपाल र कोकाकोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द्रले आकाशे पानी संकलन तथा भूमिगत जल पुनः भरण परियोजना नेपाली सेनाको श्री राज दल गण हाताभित्र हस्तान्तरण गरेको छ । २०२० जनवरीमा सुरु भएको यो परियोजना परियोजना, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा एक समारोहका बीच सेनालाई हस्तान्तरण गरिएको हो ।
लगनखेल क्षेत्र एउटा प्राकृतिक पुनः भरण क्षेत्र रहेकाले भूमिगत जल पुन भरण हुन्छ । यसले सामुदायिक इनार र ढुङ्गे धारामा पानीको आपूर्ति गर्ने बताइएको छ । यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुन भरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ ।
ब्यारेकको परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुन भरण इनारहरू निर्माण गरिएका थिए । यी इनारमार्फत सम्भाव्य जल पुन भरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको छ ।
यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरूमा तीन वटा थिगर (सिल्ट) हटाउने बेसिनहरूको पनि निर्माण गरिएको थियो । भूमिगत जलको पुन भरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ ।
यस्तै स्थानीय निकायहरू, नागरिक समाज संगठन तथा शैक्षिक संस्थाहरूलाई संलग्न गर्दै भूमिगत जल पुन भरण सम्बन्धी प्रेरणामूलक तथा सचेतनामूलक कार्यक्रमहरू अझ व्यापक समुदायहरूमा सञ्चालन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्