Logo

मनाङमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा सुरु

लमजुङ-लघु जलविद्युत्को भरमा चलेको हिमाली जिल्ला मनाङमा केन्द्रीय विद्युत् प्रसारणलाइन पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारणलाइन मार्फत मनाङको सदरमुकामसम्म विद्युत् सेवा उपलब्ध गराएको हो ।
मनाङको चिसो मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यस पटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलो पटक केन्द्रीय प्रसारणलाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मनाङले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार भौगोलिक विकटतासँगै अन्य प्राविधिक समस्या हुँदा जिल्लामा केन्द्रीय प्रसारणलाइन जडान गर्न निकै कठिनाइ भएको थियो । हाल भारतदेखि फाइबर इन्सुलेटर झिकाएर जडान गरेपछि केन्द्रीय विद्युत् बाल्न सफल भएको केन्द्रका प्रमुख सुवेदीले बताए ।
मनाङमा विद्युत् केन्द्रीय प्रसारण जोड्न प्रयास गरेको करिब २५ वर्षपछि राष्ट्रिय प्रसारणलाइन पुगेको हो । २०५२ सालमा मनाङमा राष्ट्रिय प्रसारणलाइन लैजान प्रक्रिया थालिएको थियो । केन्द्रीय प्रसारणलाइन जडानका निम्ती लमजुङको उदिपुर सबस्टेसनदेखि राधी हाइड्रोसँग जोडिएर मनाङको चामे गाउँपालिका–१ स्यार्कु सबस्टेसनमा जोडिएको छ ।
हाल सदरमुकाम चामेमा विद्युत् सेवा सुरु भइसकेको र मनाङकै तलेखु, भार्ताङसम्म विद्युत् वितरणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ । अहिले नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रले सदरमुकाम चामेमा विद्युत् मिटर वितरणसँगै मिटर जडानको काम सुरु गरेको छ । सदरमुकामस्थित सरकारी कार्यालय, अस्पताल विद्यालय र वडा तथा गाउँपालिका कार्यलयलगायत औद्योगिक क्षेत्रमा यसको पहुँच पुगिसकेको वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षमै उक्त प्रसारणलाइन विश्वको सबैभन्दा बढी उचाइमा रहेको तिलिचो तालको आधार शिविर र थोरङ्ला आधार शिविरसम्म पु-याउने लक्ष्य राखेको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्षभित्रै राष्ट्रिय प्रसारणलाइन मनाङको तिलिचो र अन्नपूर्ण पदमार्गको थोराङसम्म नै विस्तार गर्ने लक्ष्य राखे पनि अघिल्लो वर्ष विश्वव्यापी कोभिड–१९को प्राभावले काम सम्पन्न हुन नसकेको जनाएको छ ।
मनाङको माथिल्लो भेगसम्म लाइन विस्तारका लागि कुल तीन करोड ५४ लाख ४१ हजार रुपैयाँ लाग्ने अर्थ मन्त्रालयले जनाएको छ । प्राधिकरणका अनुसार मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ, खाङसार हुँंदै तिलिचो आधार शिविरसम्मका लागि एक करोड १८ लाख ८४ हजार एक सय ४० रुपैयाँ विनियोजन भएको छ भने जिल्लाको माथिल्लो भेगस्थित मनाङ, टङ्किमनाङ हुंँदै थोरोङला आधार शिविरसम्मका लागि दुई करोड ३५ लाख ५६ हजार नौ सय ३४ रुपैयाँ विनियोजन भएको थियो ।
लघु जलविद्युत्को भरमा विद्युत् सेवा उपभोग गर्दै आएका मनाङबासीले राष्ट्रिय प्रसारण लाइनको विस्तारसँगै सहज रूपमा आधुनिक प्रविधिका उपरकण प्रयोगमा ल्याउनसक्ने भएका छन् । पर्याप्त विद्युत् नहुँदा प्रभावित बनेका मनाङका अस्पताल, विद्यालय, सरकारी कार्यालय, बैक तथा वित्तीय सँस्थासहित स्थानीय उद्योगी व्यवसायीसमेत राष्ट्रिय प्रसारणलाइन पुगेपछि लाभान्वित हुने भएका छन् ।
राष्ट्रिय विद्युत् प्रसारण लाइनसंँग मनाङलाई जोडदा मनाङमा उत्पादन भएका विद्युत्लाई अन्यत्र बेच्न सकिने र आवश्यक पर्दा खरिद गर्न पनि सकिने सरोकारवालाले बताएका छन् । त्यसका साथै हाल सञ्चालनमा रहेका विद्युत्गृहमा खराबी आउँंदा पनि मनाङका जनता अँध्यारोमा बस्नु नपर्ने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्