कालिगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्रेको काम सुरु «

कालिगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्रेको काम सुरु

पर्वत-दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्रे तथा स्तरोन्नतिको काम सुरु भएको छ । पर्वत खण्डअन्तर्गत रानीपानी–कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आइतबारदेखि सुरु गरिएको हो ।
धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालिगण्डकी करिडोर अन्तर्गतको यो खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्रे हुने भएको छ । आयोजनाको नियमित कामका लागि सहजीकरण भएमा, आवश्यक निर्माण सामग्रीको अभाव नभएमा ढिलासुस्ती नहुने कालिगण्डकी करिडोर आयोजनाका प्रमुख सुवोध देवकोटाले जानकारी दिए । पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिकाको ढिकसम्मको खण्डका लागि आवश्यक बहुवर्षीय ठेक्काअन्तर्गत १ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थ मन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रेको काम सुरु हुन लागेको हो । सबै प्रक्रिया पुगेकाले अबको दुई सातापछि सडक कालोपत्रेको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुवोध देवकोटाले जानकारी दिए ।
कालिगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीय खसी भएका छन् । यसैबीच पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानको ढिकमा आइतबार आयोजित एक कार्यक्रमका बीच आयोजनाको शिलान्यास गरिएको हो । कालोपत्रे कार्यको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेका छन् । सडक शिलान्यास गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले निर्वाचनअघि गरेका वाचा पूरा हुँदै गएको बताए । उनले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको बताउँदै कुनै पनि पालिका र वडामा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । यो पर्वत जिल्लाको मात्र नभएर राष्ट्रिय महत्वको आयोजना भएकाले समयमै काम सम्पन्न गर्न उनले आयोजनालाई निर्देशनसमेत दिए ।
अर्को प्रसँंगमा अध्यक्ष तिमिल्सिनाले मुलुक समृद्धिको दिशामा अघि बढिरहेका बेला बहुमतको सरकारलाई काम गर्न नदिइएको प्रति असन्तुष्टि व्यक्त गरे । उनले दलहरू मिलेर अघि बढ्नुपर्ने बताउँदै व्यक्तिगत स्वार्थ र लाभका लागि कल झगडा गर्न नहुने बताए । उनले जनताको विश्वासमाथि घात गर्नेलाई खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरिले पर्वत जिल्लाको विकास निर्माणले दिन दोगुना, रात चौगुना फड्को मार्दै गएको बताए । उनले यो सरकारको मुख्य लक्ष्य नै मुलुकको समृद्धि र विकासमात्र भएको बताउँदै सरकारले गरेका जनमुखी कामदेखि अत्तालिएर पार्टीभित्रकै शीर्ष नेताले सरकार गिराउने चलखेल गरेको बताए । उनले यही सरकारबाट मात्र मुलुकको समृद्धि सम्भव भएकाले सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले कालिगण्डकी करिडोर आयोजनाका लागि आफू लामो समयदेखि निरन्तर लागिरहेको बताउँदै यो सडकले पूर्णता नपाउने बेलासम्म आफूले विश्राम नलिने बताए । उनले अबको दुई वर्ष भित्रमा पर्वत खण्ड पूर्णरूपमा सम्पन्न हुनेगरी काम गर्न आयोजनालाई आग्रह गरे । भारतीय र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन तथा धार्मिक रुटको रूपमा यो सडकलाई विकास गरिने मन्त्री लम्सालको भनाइ छ ।
करिडोर आयोजना पाल्पाका प्रमुख सुवोध देवकोटाले आगामी दुई वर्ष भित्र यो २३ किलोमिटर मात्र नभएर स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्मको सडक खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्रे सम्पन्न गर्ने बताए । उनले सडकको गुणस्तरमा कुनै सम्झौता नहुने बताउँदै ठेकेदारलाई तदारुकताका साथ काम गराउन पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्