जलविद्युत् उत्पादनका समस्या «

जलविद्युत् उत्पादनका समस्या

विकास एक निरन्तर प्रक्रिया हो, जसका लागि ऊर्जाले एक महत्वपूर्ण भूमिका खेल्छ । वस्तुतः ऊर्जाका विभिन्न स्रोतहरू छन्, जसमध्ये जलविद्युत्को धेरै महत्व छ ।
कुनै पनि देशको चौतर्फी विकासका लागि जलविद्युत्ले महŒवपूर्ण भूमिका राख्छ । तसर्थ आज केही देशहरूमा यसको उत्पादनमा विशेष जोड दिइएको छ ।
हाल यहाँ १ हजार ३ सय ८६ दशमलव ८ मेगावट जलविद्युत् उत्पादन क्षमताको पावर हाउस सञ्चालनमा छ । वर्तमान सरकारले चालू आर्थिक वर्ष २०७७-७८ को अत्यसम्ममा ३ हजार मेगावट पुग्ने प्रक्षेपण गरेको छ ।
वर्तमान समयमा यहाँ राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् सेवामा पहुँच पुगेका जनसंख्या ९०.१ प्रतिशत छ । परन्तु प्रतिव्यक्ति जलविद्युत् खपत २ सय ६० किलोवाट घण्टा छ, जुन विकसित मुलुकहरूको जनताले गर्ने खपतको तुलनामा निकै कम हो ।
चार–पाँच वर्षअघि झन्डै २७ प्रतिशत विद्युत् चुहावट हुने देशमा हाल १४.०७ प्रतिशत मात्र चुहावट हुन्छ । यो विद्युत् चुहावट नियन्त्रण कार्यमा सफलता नै हो ।
नेपालमा जलविद्युत् उत्पादनको इतिहास वि.स. १९६८ मा सुरु भएको हो । केही वर्षयता यहाँ जलविद्युत् उत्पादनका लागि विशेष जोड दिन थालिए पनि हालसम्म पनि आशा गरेअनुरूप सफलता प्राप्त हुन सकेको छैन ।
यथार्थतः यहाँ उत्पादित जलविद्युत् संसारकै महँगोमध्ये एक मानिन्छ । यसको मुख्य कारण यहाँ सञ्चालित विद्युत् आयोजना तथा परियोजनाहरूमा बढी लगानी गर्नाले हो । वर्तमान समयमा पनि यहाँको प्रतिव्यक्ति बिजुली खपत दक्षिण एसियाली राष्ट्रहरूमा सबैभन्दा न्यून छ । हालको खपतभन्दा ६ गुणा बढी खपत गर्न सके मात्र नेपाल सार्क क्षेत्रको प्रतिव्यक्ति खपतको औसतसम्म पुग्न सक्छ ।
वस्तुतः नेपाल जलविद्युत् उत्पादनका लागि सुधारोन्मुख अवस्थामा छ । यसका लागि धेरै समस्या सामना गर्नुपरेको छ ।
जलविद्युत् उत्पादनका लागि निकुञ्ज क्षेत्र नजिकको जग्गा पाउन निकै कठिन छ । वनक्षेत्रको जमिन पाउन पनि गाह्रो छ । यदि उक्त क्षेत्रमा जग्गा पाए पनि एक रूख बराबर २५ बिरुवा रोप्नुपर्ने प्रावधानले उत्पादकहरूलाई असहज बनाएको छ ।
वस्तुतः उत्पादकहरूले स्थानीय जनतालाई सुखी पार्न सके मात्र कुनै पनि जलविद्युत् आयोजना वा परियोजना यथोचित समयमा सम्पन्न गर्न सकिन्छ । तर जुनसुकै ठाउँमा पनि विभिन्न राजनीतिक दलका व्यक्तिहरू हुनाले सबैलाई खुसी पार्न सकिँदैन । फलतः जलविद्युत्सम्बन्धी काममा बेलाबेलामा अवरोध खडा हुन्छ ।
प्रसारणलाइनमुनि परेका जमिनको मुआब्जा र यसको हकभोगका लागि बेग्लै समस्या छ । केही ठाउँमा तार तान्नका लागि प्रहरीको सहयोग लिनुपर्छ भने सम्बन्धित वन कार्यालयका कर्मचारीहरूलाई मनाएर वनक्षेत्र निर्वाध गर्न सहज छैन ।
वास्तवमा यहाँ एउटा कानुनअनुसार दिइने सुविधा अर्को कानुनअनुसार दिन मिल्दैन । त्यसैले लगानीकर्ताहरूले चाहेर पनि तोकिएको समयमा काम गर्न सक्दैनन् ।
हाल पनि यहाँका केही व्यक्तिहरूले २०–२५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने इजाजत–पत्रहरू लिएका छन् । तर, यिनीहरूमध्ये अधिकांश लगानीकर्ताहरूको खोजीमा छन् । यसबाट जलविद्युत् उत्पादनमा बाधा पुगेको छ ।
यथार्थतः नेपालको आर्थिक समृद्धिका लागि जलविद्युत्को भूमिका महŒवपूर्ण भएकाले उपयुक्त समस्याहरू क्रमिक रूपमा समाधान गरी अगाडि बढ्न आवश्यक छ । यसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्