Logo

उद्योग विभाग र महासंघबीच समझदारी


नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारी भएको छ । नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरे ।
दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् । आपसी सहमति अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरुको सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
उद्योग व्यवसायको निरन्तर सञ्चालनमार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु-याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने समझदारी पत्रमा उल्लेख छ ।
आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्थाबीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख गरिएको छ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने बताए । उनले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास व्यक्त गरे ।
उद्योग विभागका महानिर्देशक भुसालले महासंघसँग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने बताए । उनले उद्योग विस्तार गर्न भएका समस्याहरुको पहिचान गरी समस्या समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा भएको सहमति महत्वपूर्ण पहल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्