Logo

सहकारीकर्मीको गुनासो : कानुनी समस्याले उद्यम गर्न सकेनौं


सहकारीमा क्रियाशिल अगुवाहरुले विभिन्न कानुनी झमेलाका कारण उत्पादन, प्रशोधन तथा वितरण उद्योगमा काम गर्न नसकिएको गुनासो गरेका छन् । सोमबारदेखि काठमाडौंमा सुरु गोष्ठीमा बोल्दै उनीहरुले सहकारी संस्थासँग स्रोत र पुँजी भएपनि विभिन्न क्षेत्रका कानुनले सहकारीलाई नचिन्दा उद्योग व्यवसाय गर्न अनुमति नपाएको गुनासो गरे ।
“सहकारी ऐनसँग विभिन्न क्षेत्रका ४७ वटा कानुन बाँझिएका छन्” कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराँज कँडेलले भने, “जसका कारण शिक्षा, स्वास्थ्य, उद्योगलगायका क्षेत्रमा सहकारी संघसंस्थामार्फत व्यवसाय सञ्चालन हुन सकेको छैन ।” व्यवसाय गर्नका लागि कि कम्पनी या साझेदारी फर्म दर्ता गर्नुपर्ने प्रावधानका कारण व्यावसायीक क्रियाकलापमा सहकारी प्रवद्र्धन हुन नसकेको उनको भनाइ थियो ।
कार्यक्रममा महासंघका सञ्चालक तथा युवा उपसमितका संयोजक सागर ढकालले निजी क्षेत्रबाट व्यवसाय सञ्चालन गर्न सजिलो भए पनि सहकारीमार्फत व्यवसाय सञ्चालन गर्न कठिन भएको उल्लेख गरे । सहकारीले सदस्यलाई प्रोजेक्ट बेसमा ऋण दिन सक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ थियो ।
देशभर २९ हजार सहकारी संघसंस्था दर्ता भएकोमा अधिकांश बचत तथा ऋण कारोबारमा केन्द्रीत छन् । उत्पादन र वितरण क्षेत्रमा काम गर्ने उद्देश्य राखेर दर्ता भएका कृषि, बहुउद्देश्यीयलगायतका विषयगत सहकारीहरु पनि वित्तीय कारोबारमै लागेका छन् । महासंघका अनुसार देशभर ५ सय सहकारी उद्यमशीलतामा प्रत्यक्ष जोडिएका छन् ।
कार्यक्रममा सहभागीहरुको गुनासो सुनेपछि वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारीसँग बाँझिएका ऐन, कानुन संशोधन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । “यहाँ आउनुअघि बालुवाटार गएको थिएँ प्रधानमन्त्रीज्यूले सहकारीहरुलाई काम गर्नका लागि बाधा पर्ने कानुनहरु संंशोधन हुने कुरा भनिदिनु भन्नु भएको छ” उनले भने, “अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुँदैन, समस्या समाधान गर्नतर्फ सरकार अघि बढ्छ ।” जडिबुटी खेती कार्यक्रमलाई सहकारीमार्फत संचालन गर्नका लागि मन्त्रालयले नीतिगत व्यवस्था गर्ने समेत आश्वासन दिए ।
सहकारी ऐनसँग बाँझिएका ऐन, कानुन परिवर्तनका लागि महासंघले धेरै अघिदेखि आवाज उठाए पनि सुनुवाई भएको छैन । यसका लागि महासंघले सहकारी मन्त्रालयमार्फत संशोधन मस्यौदा पनि पेश गरेको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीका माध्यमबाट उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यात गर्नुपर्ने बताए । सहकारीमार्फत कुनैपनि उत्पादनको पकेट क्षेत्र घोषणा गरे गाउँगाउँमा आवश्यकताअनुसारका सामग्री उत्पादन गर्न सकिने उनको भनाइ थियो ।
सहकारीमा युवा समावेशिता विषयक गोष्ठीमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नविन कर्णले सहकारीमार्फत उद्यमशिलता प्रवद्र्धनका लागि युवाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी युवा उद्यमीहरु अर्वान गर्लकी निकिता आचार्य, खालीसीसीकी आयुसी केसी र अन्र्तरप्रेरणाका निरज खनालले पनि आफ्नो अनुभव बाडेका थिए ।
गोष्ठीमा मंगलबार सहकारीमा युवा र नविनतम् प्रविधिको प्रयोग विषयमा कार्यपत्र प्रस्तुती तथा छलफल हुने महासंघकी प्रबन्धक चित्राकुमारी थामसुहाङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्