दुई महिनामा १८ हजार पर्यटक भित्रिए

कोरोना महामारी नियन्त्रणमा आउन थालेसँगै विदेशी पर्यटक आगमनमा पनि सुधार देखिएको छ । अंग्रेजी वर्षको पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा गरी १८ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ र फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये भारतीय ८ हजार ७ सय ९१, चिनियाँ २ हजार ५ सय ८५ र अमेरिकी १ हजार ९ सय ९४ जना छन् ।
सन् २०२० भर भने २ लाख ३० हजार पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । पर्यटन व्यवसायीहरुले कोरोना महामारीपछि पर्यटक आगमनमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आएका छन् । अहिले पनि विदेशबाट आउनेले ५ दिन अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्छ । नेपाल आउने पर्यटकलाई ५ हजार अमेरिकी डलरको कोरोना बिमाको व्यवस्था गर्ने र क्वारेन्टाइन हटाउने हो भने पर्यटकको संख्या बढ्ने व्यवसायीको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर प्रयोगशाला राखेर रिपोर्टका आधारमा आगमन सहजीकरण गर्नुपर्ने र चीन तथा भारतका नाका खोल्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।