निर्माण पूरा भएका आयोजनाको भुक्तानीमा समस्या : महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिसन, मूल्यवृद्धिलगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष रवी सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयका नवनियुक्त सचिव देवकुमारी गुरागाईंलाई भेटेर आफ्ना समस्याका बारेमा ध्यानाकर्षण गराउएको हो ।
महासंघले सरकारले ल्याएको कानुनका कारण काम गर्न अफ्ठेरो भएको भन्दै कोभिड–१९ को असरले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रही बन्द प्राय रहेको निर्माण कार्यलाई पुनः सञ्चालन गरी आर्थिक कारोबारलाई चलायमान बनाउन पहल गरिदन आग्रह् गरेको हो ।
निर्माण व्यावसायीहरूका सम्पन्न भएका र चालु अवस्थामा रहेका ठेक्काको आफ्नो बीलबाट कट्टी भइ राज्यको ढुकुटीमा निष्क्रिय अवस्थामा रहेको पाँच प्रतिशत धरौटी बापत्को रकम निर्माण उद्योगलाई जिवन्तता दिन निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीको आधारमा फिर्ता पाउने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।