प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : पौडेल «

प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामु गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्यपि उनले सरकारले भयंकर गल्ती भने नगरेको बताए ।
आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागिमात्रै गठन नभएको बताउँदै भने, “यो सरकार ५ वर्षको लागि गठन भएको हो । सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ । तर अहिले प्रभावकारी र लोकप्रिय काम नपुगेको साँचो हो । अर्को सालमा काममा गति हुन्छ । स्वयं प्रधानमन्त्रीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्यप्रगतिको समीक्षा गर्नुभएको छ ।”
उनले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भिर रुपमा समीक्षा गर्नुपर्ने बताए । नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए । उनले भने, “सम्माननीय राष्ट्रपतिज्यूले मलाई यो प्रकृतिको गाडी चाहियो भनेर माग्नुभएको छैन । गाडी खरिद गर्ने निर्णय ०७१ सालमै भएको हो ।” राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस् भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ ।

 

प्रतिक्रिया दिनुहोस्