एफटीएले दक्षिण कोरियाको निर्यातमा वृद्धि «

एफटीएले दक्षिण कोरियाको निर्यातमा वृद्धि

स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा आएका ५२ मुलुकमा भएको दक्षिण कोरियाली निर्यात अघिल्लो वर्षको तुलनामा गत वर्ष झन्डै २० प्रतिशतले वृद्धि भएको छ ।
एफटीए साझेदार मुलुकमा भएको जनवरीदेखि नोभेम्बरसम्मको निर्यातमा १९.६ प्रतिशतले वृद्धि भई ३८०.३५ अर्ब डलर पुगेको छ । यो देशको कुल निर्यात ५२४.८ अर्ब डलरको ७२.५ प्रतिशत भएको कोरिया इन्टरनेसनल ट्रेड एसोसियसन (किटा) ले जनाएको छ ।
अघिल्लो वर्ष समान व्यापार साझेदारहरूसँग भएको निर्यात कुल ३५०.४३ अर्ब डलरको ७०.७ प्रतिशत भएको पनि किटाले जनाएको छ ।
गत वर्षको सुरु ११ महिनाको अवधिमा दक्षिण कोरियाले चीनमा गरेको निर्यात १२८.३ अर्ब डलर पुगेको थियो । दोस्रोमा अमेरिकामा भएको निर्यात ६३.३ अर्ब डलर छ । भियतनाममा भएको निर्यात ४३.७ अर्ब डलर र अस्ट्रेलियामा भएको निर्यात १९ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ ।
यसैबीच यी मुलुकबाट कोरियाले गरेको आयातमा पनि १५.९ प्रतिशतको वृद्धि भई २७४.४ अर्ब डलर पुगेको छ । यो ११ महिनाको अवधिमा भएको कुल आयात ४३४.८ अर्ब डलरको ६३ प्रतिशत भएको पछिल्लो तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्