स्वास्थ्य चौकी पुनर्निर्माण गर्न भारतद्वारा सहयोग «

स्वास्थ्य चौकी पुनर्निर्माण गर्न भारतद्वारा सहयोग

नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का परियोजना निर्देशकले चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । धादिङमा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कुल २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माण हुन लागेको हो । २०७२ सालको भूकम्पले क्षति पु¥याइएका यी स्वास्थ्य चौकी ५३ करोडको लागतमा पुनर्निर्माण हुन लागेको हो ।
सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच चारवटा ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्पप्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष स्थानमा पर्दछ ।
नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । सोही प्रतिबद्घताअनुरुप १४७ वटा स्वास्थ्य परियोजनामध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत हुन लागेको हो । बाँकी परियोजना बोलपत्र आह्वान प्रक्रियाको सुरुवाति चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्