नजिकिँदै गरेको नारी दिवसको महत्व «

नजिकिँदै गरेको नारी दिवसको महत्व

विश्वभरि नै मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय नारी दिवस हर्षोल्लासका साथ मनाइन्छ । उक्त दिनमा विश्वभर रहेका सम्पूर्ण कार्यरत नारीहरूलाई सम्मानस्वरूप सार्वजनिक बिदा दिने गरिन्छ । विभिन्न किसिमका संरचनात्मक कार्यक्रमहरू आयोजना गरेर नारी दिवस मनाइन्छ ।
हामी नारीहरूका लागि यो खुसीको कुरा हो कि २१ औं शताब्दीका नारीहरू आफैंमा सक्षम र यति धेरै शक्तिवान् छन् कि आफ्नो हकहितका लागि आफैं आवाज उठाउन र आफ्नो खुट्टामा उभिएर समाजमा केही उपलब्धिमूलक कार्य गर्न सक्छु भन्ने अटल हिम्मत र विश्वास आफूमा राख्ने गर्छन् । पुरुषसरह हरेक क्षेत्रमा डटेर काम गर्न पनि पछि पर्दैनन् ।
हाम्रो देशमा पनि अहिले पहिलेको दाँजोमा महिला साक्षरता र महिला जनसहभागिता बढी मात्रामा रहेको छ । हरेक क्षेत्रमा महिला सहभागिता बढ्दो क्रममा छ, जस्तै— डाक्टर, इन्जिनियर, वकिल, व्यवसायी, पत्रकारिता क्षेत्र, संसद्, सरकारी कार्यालय, गैरसरकारी तथा शैक्षिक क्षेत्र र यस्तै अन्य क्षेत्रमा महिलाको बढ्दो सहभागिता रहेको छ । अहिलेका नारीहरू घरमा खाना पकाउनेदेखि लिएर देश चलाउनसम्म सक्षम रहेका छन् । यहाँसम्म नारीले सफलता हासिल गरिसकेका छन् कि चन्द्रमामा समेत पाइला टेकेर यो प्रमाणित गरेका छन् कि सपना देख्नु पाप हैन । तर, उक्त सपना पूरा गर्न गर्नुपर्ने मेहनत र आफूमा अघि बढ्ने हौसला सदैव उच्च राखेमा जीवनमा कहिले पनि हार खानु पर्नेछैन । चन्द्रमामा पाइला टेक्नु, सगरमाथामा पाइला टेक्नु भनेको सुन्दा मात्र सजिलो लाग्छ । तर, त्यहाँ पाइला टेक्नका लागि उहाँहरूले गरेको संघर्षको जति बढी प्रशंसा गरे पनि त्यो सायद कम नै हुन्छ ।
हाम्रो देशमा राष्ट्रपतिजस्तो सम्माननीय पदमा विद्यादेवी भण्डारी र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालजीलाई देखेर गर्व लाग्छ । तर, त्यो पदसम्म पुग्नका लागि उहाँहरूले कुन हदसम्म त्याग र संघर्ष गर्नुभयो होला भनेर हामी अनुमान लगाउन सक्दैनौं । महिलाहरूले गरेको उन्नति–प्रगति देखेर खुसी लाग्छ, तर विगत केही समयदेखि देशमा बढ्दै गएको महिला हिंसाका कारणले त्यो खुसी अधुरो पनि छ । हर्षोल्लासका साथ नारी दिवस मनाएर मात्र पनि के गर्नु, जब नारी घरबाट बाहिर निस्कनासाथ नै असुरक्षित छिन् । हरेक ती परिवार जसको घरमा चेलीबेटी हुन्छन्, उक्त परिवारमा चेलीबेटी साँझ घर समयमा नफर्किंदा उनीहरूको मनमा यो पीर हुने गर्छ, कतै केही अनुचित घटना त घटेको छैन ?
देशमा कतिपय त्यस्ता घटनाहरू घटिरहेका हुन्छन्, जस्तै— बलात्कार, एसिड प्रकरण, जबर्जस्ती करणी, हत्या तथा अन्य कैयौं घटनाहरू छन् । अधिकांश घटनाहरूको न त दोषी पत्ता लागेको छ, न त दोषीले उपयुक्त सजाय नै पाएका छन् । प्रत्येक दिन कुनै न कुनै ठाउँमा महिलामाथि हिंसा भइराखेको हुन्छ । ती नारीहरूले न्याय पाएको भए अझै बढी हर्षका साथ मनाइन्थ्यो होला नारी दिवस, तर विडम्बना यो छ कि यहाँ नातावाद, सत्ताशक्ति र कृपावादको कारणले कतिपय घटनाहरू त समाजमा दबाउने गरिन्छ । यदि यस्तो नहुँदो हो त पक्कै निर्मला पन्तको हत्यारा भेटिन्थ्यो होला । चौतर्फी दबाब दिँदासमेत निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न नसकिनुलाई कुन अर्थमा बुझ्ने हामीले ? के देशमा न्याय हराएकै हो त ? तत्कालको घटना हो भागरथी भट्टको बलात्कारपछिको हत्याकाण्ड, जसको देशभर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल र विरोध जुलुस तथा -यालीमार्फत विरोध प्रदर्शन गरियो र अन्त्यमा हत्यारा सार्वजनिक गरियो । परिवारले आफ्नी छोरी त फिर्ता अवश्य पाउँदैनन् तर हत्यारालाई सजाय दिएर चेलीको परिवारले न्याय पाउनु भनेको पनि अन्याय र पापको विरुद्ध न्यायको जित हो ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्