वडाअध्यक्ष चन्दले ज्यानमार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा

बैतडी जिल्ला सुनर्या गाउँपालिका–१ का पदमराम टेलरले सोही वडाका वडा अध्यक्ष गजेन्द्रबहादुर चन्दले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको मोटरसाइकलमा आगो लगाउन र कुटपिट गर्न दिएको आदेश नमान्दा उल्टै आफूलाई ज्यानमार्ने धम्की दिएको आरोप लगाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित टेलरले वडाअध्यक्ष चन्दले आफूलाई ज्यानमार्ने धम्की दिएको सुनाएका हुन् । र, उनले शान्ति, सुरक्षाको समेत माग गरेका छन् । टेलरले बैतडी जिल्ला सुनर्या गाउँपालिका–१ का वडा अध्यक्ष गजेन्द्रबहादुर चन्दले आफूलाई ज्यानमार्ने धम्की र अपमानजन्य व्यवहार गरेको सुनाए ।
उनले २०७६ सालमा भएको उपनिर्वाचनमा आफू नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेद्वारी दिएको भए पनि जिल्ला कार्यसमितिको सल्लाहमा चुनावमा गजेन्द्र चन्दलाई सहयोग गर्ने र अर्को चुनावमा आफूलाई दिने आश्वासन र सहमति भएको बताए । सहमति भएपछि निर्वाचन प्रचार प्रसारका लागि दास ढोली संयोजक र उनलाई उप–संयोजकमा जिम्मोवारी लिएर निर्वाचनमा गएको टेलरले स्मरण गराए ।
‘वडा अध्यक्षका उम्मेदवार चन्द्रले नेकपाका कार्यकर्ताको मोटरसाइकलमा आगो लगाउन र नेकपाका प्रतिनिधि दशरथबहादर चन्दलाई कुटपिट गर्न आदेश दिएका थिए ।’ उनले भने, ‘उनको त्यही आदेश नमानेकाले नै सोही दिनदेखि मसँग व्यक्तिगत रिसीबी राखेर मेरो नाममा मुद्दा दिने, गालीगलौज, सार्वजनिक स्थानमा जातीय भेदभाव र अपमान गर्दै आइरहेका छन् ।
कुटपिट, गाली÷गलौज बेईज्जीतगरेको आरोपमा उल्टै चन्दले नै २०७६ साल पुस २१ गते आफूमाथि मुद्दा दर्ता गराएको उनले सुनाए । उनले भने, ‘त्यो मुद्दाको फैसला फागुन ४ गते भयो तर उनीहरूले झुटा गरेको कारण उनीहरूकै पक्षमा भयो ।’
वडाअध्यक्ष चन्दले आफ्ना दाइ रमेश दासलाई पनि राजनीतिक आस्थाको आधारमा भेदभाव गरेको गुनासो पोखे । उनले १ लाख रुपैयाँ गजेन्द्र चन्दबाट ग्लोबल आईएमी बैंकमार्फत सापटी लिएका थिए । बैंकमा रकम हाल्ने व्यक्ति चन्दका सालो हुन,् उनले भने । टेलरले पछि नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत १ लाख रुपैयाँ फिर्ता गरेको बताए । पैसाफिर्ता गरेपछि उनले पैसा पठाएको जानकारी दिन खोज्दा विभिन्न किसिमका गालीगलौज तथा ज्यान ‘तिमीलाई काटी दिन्छु’ भनेर मार्ने धम्की दिएको सुनाए ।
उनले यस सम्बन्धमा प्रहरी प्रशासनलगायत सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी निज चन्दलाई कारबाही गर्नुपर्ने पनि माग राखेका छन् । उनले आफू र आफ्नो परिवारका सदस्यहरूको समेत शान्ति सुरक्षा गरिदिन माग गरेका छन् । वडाअध्यक्ष चन्दले आफूलाई ज्यान मार्ने भनेर धम्की दिएको अडिओ आफूसँग सुरक्षित रहेको भन्दै छिट्टै सार्वजनिक गर्ने पनि उनले जानकारी दिए ।