आयोगको अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान «

आयोगको अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान

एमबीबीएस सुरु गर्न
जुम्ला
-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ सञ्चालनका लागि निर्माण गरेका पूर्वाधार तथा अन्य तयारीको अवस्थाबारे आयोगको टोलीले अनुगमन गर्नेछ । त्यसपछि मात्रै एमबीबीएस सुरु हुनेछ ।” यही फागुन अन्तिमसम्म आयोगको टोली अनुमगमा आउने र आयोगले सिट निर्धारण गरेपश्चात आउँदो वैशाखसम्म जुम्लामै एमबीबीएस सुरु हुने उनको भनाइ छ ।
एमबीबीएस सञ्चालनका लागि आधारभूत विज्ञान र क्लिनिक, प्राध्यापक नियुक्तिलगायतका विषयमा अनुगमनका लागि चिकित्सा शिक्षा आयोगलाई आग्रह गरिएको थियो । चिकित्सा शिक्षा आयोगको टोली अनुगमनका लागि गत पुस महिनादेखि आउने भने पनि हालसम्म नआउँदा एमबीबीएस पढाइ सुरु गर्न केही ढिला भएको प्रतिष्ठान स्रोतले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाअध्यक्ष निरेश थापाले एमबीबीएस कक्षा सञ्चालनका लागि तयारी भएको र अब अनुगमनको खाँचो रहेको बताए । उनले भने, “एमबीबीएसका लागि बेसिक ८ र क्लिनिकल १४ विषय र प्राध्यापकसहितको टोली तयारी अवस्थामा छ । कक्षा कोठालगायत आवश्यक उपकरणसमेत तयारी अवस्थामा छन् चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेसँंगै पठनपाठन सुरु गरिने छ ।” एमबीबीएस पठनपाठन जुम्लामै हुने भएपछि कर्णालीबासी उत्साहित छन् ।
एमबीबीएस पढाइ कार्यक्रम प्रक्रियामै रहे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीएमएको पढाइ भने तत्कालै सुरु हुने भएको छ । कर्णाली प्रतिष्ठानमा एमडीएमएस पढनका लागि विद्यार्थी आउँदैनन् भन्ने भ्रम फैलाए पनि ५ जना विद्यार्थी भर्ना भइसकेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्