Logo

कार्यान्वयनमा पनि नेपाल उदाहरणीय बनोस्

यस प्रविधिबाट जुनसुकै ठाउँको माटोको गुणस्तरका बारेमा परीक्षण गर्न सकिने नार्कको भनाइ छ ।

दक्षिण एसियामा नेपालले धेरै आयोजना तथा कार्यक्रम अन्य मुलुकभन्दा पहिले गरेको छ । नेपाल राष्ट्रिय कम्प्युटर केन्द्र खुल्दा भारतलगायत दक्षिण एसियाली मुलुकमा कम्प्युटरको कुनै बहस सुरु नै भएको थिएन । यस्तै, २०४६ सालको परिवर्तनपछि नेपालले उदार अर्थनीति अँगाल्दा भारतमा नियन्त्रित अर्थतन्त्र नै थियो । भारतले नेपालभन्दा पछाडि नै आफ्नो अर्थतन्त्र खुला गर्दै गएको हो । यस्ता धेरै उदाहरणहरू छन्, जसमा नेपाल दक्षिण एसियामा पहिलो भएको । तर, कालान्तरमा नेपाल ती सबै लागू गर्ने र कार्यान्वयनमा जाने क्रममा सधैं चुकेको छ । यसपटक पनि संयोगले दक्षिण एसियाली सहयोग संगठनका मुलुकमा डिजिटल नक्सामार्फत माटोको परीक्षण सुरु गर्ने नेपाल पहिलो मुलुक बनेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको माटो विज्ञान अनुसन्धान केन्द्र, सिमिट नेपाल र नेपाल सीड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा माटोको डिजिटल नक्सा तयार गरेसँगै नेपाल पहिलो बनेको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्सांकनको शुभारम्भ गरे । यस प्रविधिबाट जुनसुकै ठाउँको माटोको गुणस्तरका बारेमा परीक्षण गर्न सकिने नार्कको भनाइ छ । नार्कका अनुसार माटोको उर्वरा शक्ति, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट किसानलाई सहजै उपलब्ध गराउने उद्देश्यले मुलुकमा पहिलो पटक माटोको डिजिटल नक्सा तयार गरिएको हो । आफ्नो जग्गामा मलको मात्रा, कति प्रयोग गर्ने, कस्तो खालको बाली लगाउन उपयुक्त हुने आफ्नो माटो कसरी सुधार गर्ने भन्ने विषयमा यसबाट किसानले जानकारी दिन पाउनेछन् । यसबाट किसानलाई फाइदा नै पुग्ने देखिन्छ ।
चार वर्ष लगाएर माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको यस प्रविधिले माटोको उर्वरा शक्तिका बारेमा जानकारी लिनुका साथै स्थानअनुसार कुन बाली कुन ठाउँमा उत्पादन गर्न सकिने भनेर पनि यसबाट सहजै पत्ता लगाउन सकिनेछ । पछिल्लो समय माटोको उर्वरा शक्ति घट्दै गएको हुनाले यसबाट उनीहरू लाभान्वित हुन सक्छन् ।
नार्कले सातै प्रदेशबाट २३ हजार २ सय ७३ वटा माटोको नमुनाको परीक्षण गरी नतिजा विश्लेषण गरी नेपालका लागि आवश्यक पर्ने प्रविधि अपनाई नक्सा तयार गरेको छ । उक्त नक्सा हेर्नका लागि अलग्गै वेबपोर्टल पनि तयार गरेको छ । डिजिटल नक्सा हेर्नका लागि सोइलडटनार्क डटजीओभी डटएनपीमा गएर आफूले चाहेको प्रदेश, जिल्ला, पालिका, वडा र घरधुरीसम्म जान सकिन्छ । जसमा कुन ठाउँको माटोको अवस्था कस्तो छ भनेर सजिलै हेर्न सकिनेछ । इन्टरनेटको सुविधा भएको ठाउँमा किसानले वेब पोर्टलमार्फत माटोको गुणस्तरका बारेमा सजिलै जानकारी लिन सक्ने हुनाले यो प्रविधिले किसानलाई आफ्नो माटोको उर्वरा शक्ति पहिचान गरी त्यसैअनुरूप उत्पादन लगाउन र बढाउन सहयोगी हुने छ ।
किसानले खेतबारीको माटो कस्तो छ भनेर हेर्न सक्ने हुँदा कृषिको उत्पादन र उत्पादकत्व बढाउन सक्छन् । त्यसैले डिजिटल नक्सामार्फत माटोको गुणस्तरको अवस्था थाहा पाउन सकिने, माटोको गुणस्तर थाहा पाउन सकिने हुँदा कुन ठाउँमा कुन उत्पादन लगाउने भन्नेबारेमा पनि यसबाट थाहा हुनेछ । डिजिटल नक्सामार्फत माटोमा प्रांगारिक पदार्थको मात्रा, नाइट्रोजनको मात्रा, फोस्फरसको मात्रा, पोटासको मात्रा कति छ भनेर सजिलै जानकारी लिन सकिन्छ । यसरी दक्षिण एसियामै पहिलोे पटक माटोको डिजिटल नक्सा तयार गर्न नेपाल सफल भएको भए तापनि अन्य कार्यक्रम तथा आयोजना जस्तै यो सुरु गर्ने चाहिँ नेपाल पहिलो मुलुक हुने तर यसबाट फाइदा लिने र कृषिको विकास तथा तथा किसानको विकास गर्ने मुलुकचाहिँ अन्य नहोस् । किनकि आधुनिक युगमा नयाँ प्रविधिको माध्यमबाट कृषिमा फड्को मार्न अन्य मुलुक पनि यसमा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्