भ्रष्टाचारको चिरफारको पुस्तक «

भ्रष्टाचारको चिरफारको पुस्तक

‘पुस्तक किन पढिन्छ ?’ कुनै पनि विषयवस्तुमा ज्ञान हासिल गर्न, विषयवस्तुको सार बुझ्न र आफूले खोजेका प्रश्नहरूको जवाफ पाउनको लागि । पुस्तक पढ्दै गर्दा लेखकले कुन विषयलाई कस्तो तरिकाले प्रस्तुत गरेको छ ? त्यस विषयमा उसको पकड कस्तो रहेछ र आफ्नो लेखनशैलीको मद्दतले उसले पाठकलाई त्यसको भाव बुझाउन सक्यो वा सकेन, त्यो महत्वपूर्ण रहन्छ । लेखक शरदचन्द्र पौडेलले ‘भ्रष्टाचार कारण, परिणाम र नियन्त्रणका उपाय’ पुस्तक लेख्दै छन् भन्ने थाहा पाउँदा बजारमा निकै चासो थियो । लामो समय सरकारी सेवामा रहेका लेखकले भ्रष्टाचार जस्तो गम्भीर विषयलाई कसरी पस्कन्छन् भन्ने उत्सुकताले गर्दा पनि होला, पुस्तकको प्रतिक्षा थियो, बजारमा ।
एउटा पाठक भएर पुस्तकको अध्ययन गर्दा पुस्तक तथ्यगत र भावनात्मक हिसाबले लेखिएको महसुस हुने उनको पुस्तक बढो रोचक छ । पाठकले अनुमान लगाएभन्दा बाहिरका कतिपय विषयवस्तुहरू पनि भेट्नेछन् । ‘उपहार, दान, बकस’ नियतवश फरक हुन सक्छन् । कसैलाई प्रभावमा पार्नका लागि पनि उपहार, दान र बकसको प्रयोग गरिएको हुन सक्छ । लेखकको भ्रष्टाचारसम्बन्धी विश्लेषण बुझाइ र प्रस्तुति बडो रोचक लाग्यो । साँच्चिकै भन्ने हो भने यो पुस्तक न्याय र कानुनका क्षेत्रमा कार्यरत जोकोहीले पनि पढ्न जरुरी छ । त्यसैगरी प्रशासन क्षेत्रमा कार्यरत व्यक्तिलगायत राजनीतिक शिखर व्यक्तिहरूले पनि यो पुस्तक अध्ययन गर्न र बुझ्न उत्तिकै महत्व राख्छ ।
भ्रष्टाचार के हो ? कसरी हुन्छ, कसले गर्छ भन्ने धेरै विषयलाई पुस्तकले समेटेको छ । सार्वजनिक दायित्वमा रहेका राजनीतिक, सरकारी वा निजी क्षेत्रका कर्मचारीले समाजप्रदत्त अधिकार र शक्तिको दुरुपयोग गरेर कसरी भ्रष्टाचार गर्छन् ? त्यसमा व्यापारी तथा स्वार्थ समूहको कस्तो हात रहन्छ ? भ्रष्टाचारलाई प्रोत्साहन गर्न सर्वसाधारणको भूमिका कस्तो हुन्छ लगायतका विविध विषयलाई समेटेर यो पुस्तक तयार पारिएको छ ।
क्षेत्रगत रूपमा कस्तो प्रक्रियालाई प्रभावमा पार्न कस्तो वस्तु र क्रिया हुन्छ । जस्तै, न्यायमूर्तिको सवालमा होस् वा अदालतमा वा जुनसुकै कार्यालयमा काम गर्ने प्रशासनिक व्यक्तिहरूको सवालमा । उसलाई प्रभावमा पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेस्रो व्यक्तिको हातबाट कसरी लेनादेना गरिन्छ ? त्यस्तै जमिनका विषयहरूमा निर्णय गर्नुपर्दा जमिन नै उपहार लिनु, खानु र काम गरिदिनुजस्ता कुराहरू कसरी गरिन्छ भन्नेसम्मका विषयलाई लेखकले जोडदार रूपमा पुस्तकमा प्रस्तुत गरेको पाइन्छ ।
तर, एनजीओ आईएनजीओ, गैरसरकारी संघसंस्था र निजी क्षेत्रसम्म पुगेर अनियमितता र भ्रष्टाचारको विश्लेषण गर्दै गर्दा निजी क्षेत्रले पुँजी घटाएर गर्ने अनियमितता र भ्रष्टाचारका कुरा पुस्तकले उल्लेख गर्न भ्याएको छैन । तर, लेखकले स्रोत र तथ्य बिब्लियोग्राफीमा समेटेर विश्लेषण र तथ्यगत कुराहरूलाई जसरी प्रकाशन गरे, त्यसलाई सामान्य कुरा मान्न सकिँदैन । उनको साहस र हिम्मतलाई कदर गर्नुपर्छ ।
जम्मा ७ सय ६६ पृष्ठको यस पुस्तकमा यति धेरै कुरा समेटिएको छ, त्यसको विश्लेषण, अध्ययन र त्यसका समग्र कुरालाई समेटेर पुस्तक समीक्षा लेख्न लामै हुन्छ । तर प्रशासन क्षेत्रमा रहँदा निष्पक्ष, स्वतन्त्र र निर्भीक भएर लोभलालचलाई अस्वीकार गर्दै इमानदारपूर्वक काम गरेका लेखकले पुस्तकमा जुन विषय उठान गरेका छन्, त्यो आफैंमा साहसी काम हो ।

प्रतिक्रिया दिनुहोस्