हिमाली जिल्लामा हात्तीपाइले रोगको रक्त नमुना संकलन «

हिमाली जिल्लामा हात्तीपाइले रोगको रक्त नमुना संकलन

ताप्लेजुङ-हिमाली जिल्लामध्ये ताप्लेजुङसहित ४ वटा जिल्लामा हात्तीपाइले रोगको अवस्थाबारे रक्त नमुना संकलन कार्य सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले ताप्लेजुङ, संखुवासभा, दोलखा र रसुवामा नमुना संकलन काम सुरु गरेको हो । राष्ट्रिय हात्तीपाइले रोग निवारणसम्बन्धी इन्डीमीसिटी म्यापिङ कार्यक्रमको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा इन्टेमोलोजिस्ट सुशील पन्तले १५ दिनभित्रमा संकलन अभियान सम्पन्न गर्ने तयारी भएको जानकारी दिए । ताप्लेजुङका ९ वटा स्थानीय तहका ३८ वटा विद्यालयमा अध्यनरत ४ सय ८० जना विद्यार्थीमा परीक्षण गरिने भएको छ । कक्षा–४ देखि ८ सम्मका विद्यार्थीमा रक्त नमुना संकलन गरिने छ । हातको औलाबाट १ थोपा अर्थात् ७५ माइक्रो लिटर रगत नमुनाका लागि संकलन गरिन्छ । इन्टेमोलोजिस्ट पन्तले भने, “प्रत्येक पालिकामा जनप्रतिनिधि, शिक्षा शाखा र सम्बन्धित विद्यालयका प्रअसँग बैठक गर्छौ । कार्यक्रमबारे जानकारी गराएर छनोटमा परेका विद्यालयमा पुगेर काम गर्छौं ।”
नमुना परीक्षणका क्रममा ४ सय ८० जनामध्ये ३ जनाभन्दा माथिमा रोग देखापरेमा सरकारले कार्यक्रम लागू गर्नुपर्ने प्रावधान छ । हात्तीपाइले रोग छ वा छैन भनेर १५ मिनेट अवधिमा नतिजा प्राप्त हुन्छ । यदि रोग भएको पाइए गोपनीयता कायम गरेर सम्बन्धित विद्यार्थी वा अभिभावकलाई जानकारी गराउने गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीसँग समन्वय गरेर कार्यक्रम हुने भएकाले आवश्यकताबमोजिम समन्वय गर्ने काम प्रशासनले गर्ने प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागार्इंले बताए । प्रजिअ चापागाईँले भने, “भौगोलिक बनावटअनुसार छनोटमा परेका केही विद्यालय धेरै टाढाको पाइयो । बेलामै समय र कार्यक्रम व्यवस्थापन गर्न समन्वय गरांै ।” सदरुकामनजिकका विद्यालयदेखि अढाइ दिन पैदल दूरीमा अवस्थित घुन्सासम्म नमुना संकलनका लागि टोली परिचालन हुनेछ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भटराईले छनोटमा परेका विद्यालयसँग समन्वय गर्न सहजीकरण गर्ने बताए ।
नेपालमा हात्तीपाइले रोगको बेसलाइन सर्भे सन् २००१ मा सुरु भएको थियो । सन् २००३ मा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सुरु भएको हो । ६३ वटा जिल्लामा कार्यक्रम लागू भएको थियो । रोग देखापरेकालाई ५ वर्षसम्म वर्षमा १ पटक औषधि खुवाउने कार्यक्रम सम्पन्न भएको छ । बाँकी १२ वटा जिल्लामा फागुन २९ गतेदेखि औषधि खुवाउने कार्यक्रम सुरु हुन लागेको पन्तले बताए । उनले भने, “१२ जिल्लामध्ये कुनैमा ३ वा ४ पटक औषधि खुवाउने कार्यक्रम भएको छ । वर्षमा १ पटक औषधि खुवाउँदा ५ वर्षमा पूरा हुन्छ ।” हात्तीपाइले रोग ३ प्रजातिका परजीवीका कारण हुन्छ । यो रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । विश्वका ५२ वटा देशमा ८५.६ करोड मानिस हात्तीपाइले रोगको जोखिममा छन् । हात्तीपाइले रोग देखापरेका ७३ वटा देशमध्ये २१ वटा देशले आमऔषधि सेवन कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा ६३ वटा जिल्ला जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्