सिंगटीका भूकम्पपीडितले अनुदान पाउने

विगू गाउँपालिका– ४ सिंगटीका भूकम्पपीडितले अब आवास निर्माणका लागि अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंगटी बजार क्षेत्रमा आवास निर्माण गर्ने भूकम्पपीडितहरूलाई अनुदान वितरणका लागि परिपत्र गरेको हो ।
नदी किनार र पहिरोको जोखिममा रहेका कारण सिंगटी बजारमा प्राधिकरणले आवास निर्माणका लागि अनुदान रोकेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिरकण दोलखाका प्रमुख सागर आचार्यले अहिले अनुदान अनुमतिका लागि केन्द्रबाटै परिपत्र आएकाले समस्या समाधान हुने जानकारी दिए ।
बजारभन्दा माथिको पहिलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले रोकथाम गर्ने र तामाकोसी नदीको कटान जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले तटबन्ध गरेकाले बजार सुरक्षित हुनसक्ने भएकाले स्थानीय जनप्रतिनिधिले सुरक्षित ठाने मापदण्डअनुसार अनुदान वितरण गर्नसक्ने उनले बताए । विगतमा पहिलो र नदी कटानकै समस्याका कारण अनुदान रोक्दै आएको थियो ।
विगू गाउँपालिका–४ का वडाध्यक्ष बुक्ताम तामाङले सिंगटीको समस्या समाधान भएको सुने तापनि आधिकारिक जानकारी नभएको बताए । पुरानो बजार हटाउन पनि नसकिने भएकाले रोकथामका लागि विभिन्न निकायले काम गरिरहेकाले अब सुरक्षित होला भन्ने आश रहेको बताए । सिंगटीका भूकम्पपीडितले पहिलो किस्तावापतको ५० हजार अनुदान पाए तापनि अनुमति बिना ४ सय बढी भूकम्पपीडितले घर बनाउन पाएका थिएनन् । भूकम्पपीडितमध्ये देशकै पहिलोपटक स्थायी आवासको सम्झौता गरी पहिलो किस्ता प्राप्त गर्ने जिल्लाको उत्तरी व्यापारिक केन्द्रका बासिन्दा अहिले आएर निरास छन् ।
दोलखाको सबैभन्दा बढी भूकम्पले क्षति पुराएको भनिएको यो बजार अझै पनि जोखिमयुक्त छ भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो किस्ता उपलब्ध गराउन आनाकानी गरेपछि उनीहरूमा निरासा आएको हो । अर्कोतर्फ, यहाँका बासिन्दालाई सरकारले दिने आवास निर्माणवापतको अनुदान लिन अर्को जिल्ला धाउनु पर्ने सास्ती त छँदैछ ।
दुईतर्फबाट बगेको खोलाको बहाव थेग्नुपर्ने यो बजारलाई चारैतर्फ भीरको चुनौती छ । यस्तै चुनौती देखाएर जिल्लाको तीन ठूला बिगू, गौरीशंकर र कालिञ्चोक गाउँकार्यपालिकाको विनिमय केन्द्र सिंगटी बजारलाई जोखिमयुक्त सूचीमा राखिदिएपछि प्राधिकरणले दोस्रो किस्ता दिन रोकेको हो ।
जलविद्युत् आयोजनाहरूका कारण सिंगटी बजार भूकम्पले तहसनहस पारे पनि केही समयपछि नै गुलजार बनेको थियो । २०७२ वैशाख २९ गतेको भूकम्पको केन्द्र विन्दु यो बजारनजिकै परेकाले बढी क्षति भएको हो । बजार थिग्रिदै गर्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख सुशील ज्ञवालीले निजीआवास अनुदान सम्झौताको सुरुवात सिंगटीबाटै गरेका थिए । डेढ वर्षअघि ज्ञवालीको हातबाट सम्झौतापत्र पाएका पीडितहरूले नै दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् ।
यहाँका करिब साढे तीन सय होटल र पसलमा दैनिक करिब एक हजार जनाको आउजाउ हुन्छ । नागरिकतासमेत प्राप्त गर्न सकिने इलाका प्रशासन, सरकारी अस्पताल, केही निजी स्वास्थ्य केन्द्र, बैंक, लघुवित्त र सहकारीको कारोबारले यो बजारलाई चमक थपिदिएको छ ।