दैनिक ३१५ जान्छन्, १४२० फर्कन्छन «

दैनिक ३१५ जान्छन्, १४२० फर्कन्छन

वैदेशिक रोजगारमा असन्तुलन
कोभिड–१९ अघि प्रत्येक दिन सरदर १ हजार ५ सय रोजगारीका लागि जाने गरेका थिए तर अहिले फर्कनेको संख्या दैनिक १५ सय पुग्न थालेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, चालू आर्थिक वर्ष ०७७÷७८ को ६ महिनामा २ लाख ५७ हजार रोजगारका लागि गएका नेपाली फर्केका छन् भने यो अवधिमा जानेको संख्या ५७ हजार मात्र छ । यसलाई दैनिक रूपमा सरदर जानेको संख्या ३१५ जना देखिन्छ भने फर्कनेको संख्या १४ सय २० रहेको तथ्यांकले देखाएको छ । यसले कोभिड संक्रमणका कारण वैदेशिक रोजगारीमा जाने र आउने नेपालीको संख्यामा असन्तुलन देखिएको छ ।
गत चैतयता वैदेशिक रोजगारी जानेको भन्दा रोजगारी गुमाएर फर्कनेको संख्याको संख्या ४ गुणा बढी छ । यसअघि भने वैदेशिक रोजगारीमा जाने र फर्कर्नेको संख्या सामान्य मात्र फरक हुने गरेको थियो । गत आर्थिक वर्षमा पुनः श्रम स्वीकृती सहित वैदेशिक रोजगारीका लागि ३ लाख ६८ हजार ४३३ जना गएका थिए । गत वर्षको चैतबाट सरकारले वैदेशिक रोजगारीको श्रम स्वीकृति रोकेको थियो । चालू आर्थिक वर्षको माघसम्म पुनः श्रम स्वीकृतिसहित ५७ हजार ५ सय ४५ नेपाली युवा मात्र वैदेशिक रोजगारीमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेका माघको तथ्यांकमा उल्लेख छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आएसँगै नेपाल आउने रेमिट्यान्स घटेको नदेखिए पनि वृद्धिदर भने निरन्तर ओरालो लाग्दै गएको छ ।
चालू आर्थिक वर्षको माघसम्म वैधानिकीकरणसहित नयाँ श्रम स्वीकृति लिनेको संख्या २ हजार ३ सय ९२ मात्र छ । यसैगरी बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको संख्या भने ३७ हजार १ सय ५३ रहेको छ । सरकारले कोभिड संकटपछि स्वदेशमा रोजगारी नयाँ विकल्प सिर्जना गर्न नसक्दा रोजगारी जान चाहने नेपालीको संख्या धेरै रहेको विज्ञले जनाएका छन् । वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि नेउपानेले कोभिड संकटपछि भर्खरमात्र रोजगारदाताले माग प्रमाणीकरण लागि आवेदन दिन थालेको बताए । कोभिडका कारण नै विश्वव्यापी मन्दी भए पनि रोजगारीमा संकुचन भएका कारण श्रम गन्तव्यबाट नै मागमा कमी आएकाले नेपाली विदेश जान नपाएको बताए ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा एक्कासि कमी आएको हालसम्मकै यो नै पहिलो घटना हो । १० वर्षअघि आव ०६७-६८ मा समेत यो अवधिमा ३० हजार नेपाली युवा रोजगारीमा गएको देखिन्छ । वैकल्पिक रोजगारीको रूपमा मानिँदै आएको वैदेशिक रोजगारीमा मासिक औषत ४० हजारको संख्यामा नेपाली युवा विदेश जाने गरेका थिए । कोरोना संक्रमणका कारण रोजगारदाताले कर्मचारी कटौती गरेकाले त्यसको असर नेपालको रोजगारीमा परेको छ ।
वैदेशिक रोजगारीमा जानेमध्ये बिदामा आएको संख्या लगभग ८० प्रतिशतको हाराहारी हुने भए पनि यो वर्ष भने संख्या अझ घटेको छ । नेपालका प्रमुख ४ श्रम गन्तव्यमा रोजगारी गुमाएर फर्कनेको संख्या २ लाख ५७ हजारभन्दा बढी पुगेको छ भने रोजगारी गुमाउनेको संख्या बढदै गइरहेको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी यूएईमा रहेका नेपालीले रोजगारी गुमाएको देखिन्छ । हालसम्म यूएईबाट ९० हजार, कतारबाट ७० हजार, साउदी अरबबाट ३० र मलेसियाबाट ३३ हजारको हाराहारीमा नेपाली फर्किसकेका छन ।
नेपाल राष्ट्र बैंकको विगत ६ महिनाको तथ्यांकले पनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६ महिनाको अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्