सडक आसपासमा बसाइँ सर्ने क्रम बढ्यो «

सडक आसपासमा बसाइँ सर्ने क्रम बढ्यो

धनकुटा-जताबाटो उतै ब्यापार भनेझैं मध्यपहाडी राजमार्ग निर्माणले गतिलिएसँगै सुविधाको खोजी र ब्यापार ब्यवसाय सञ्चालनका लागि राजमार्ग र अन्य प्रमुख राजमार्गसँगै जोडिएका सडक आसपासमा बसाइँ सर्ने क्रम बढेको छ ।
गाउँछाडेर स्थानीय बसोबासका लागि सडक पहुँच खोज्दै निस्कने क्रम बढेपछि पुराना ग्रामीण केन्द्र स–साना बजारका रूपमा विकशित हुँदै गएका छन् । गाउँको ३७ रोपनी खेती छाडेर पाख्रिबास–४ धनकुटाका शोभित निरौला मध्यपहाडी राजमार्गले छोएको पाख्रिबास बजार सरेका छन् । घोर्लिखर्कका हस्तबहादुर तामाङ पनि बन्दब्यपार चल्ने सडक पुहँच खोज्दै डिकुरे बजार निस्केका छन् । निरौला र तामाङमात्र होइन, मध्यपहाडी राजमार्गसँगै प्रमुख राजमार्गसँग जोडिएका सडक आसपासमा बसाइँ सर्ने क्रम बढेको हो । सुविधा र सम्भावित ब्यावसायिक योजना लिएर गाउँबाट राजमार्ग छेउमा बसाइँ सर्ने क्रम बढेको हो । धनकुटाको चौबिसे क्षेत्रका डाँडाँबजार, राजारानी, मौनाबुधुक र ६ नम्बर बुधबारे भेडेटारबाट पाँचथरहुँदै इलाम जोड्ने सडक विस्तार र विकास हुँदै गएपछि यस सडकको आसपासमा पनि बसाइँ सर्नेको संख्या बढ्दै गएको छ । त्यस्तै धनकुटा हँुदै भोजपुरसम्म यातायत चल्न थालेपछि पाख्रिबास, महालक्ष्मी नगरपालिकामा पर्ने जितपुर, लेगुवा र दमारलगायतका स्थानमा समेत चहलपहल बढेको महालक्ष्मी नगरपालिकाका शिवकुमार तुम्बाले बताए । उनले भने, “पहिला बजार भनेकै धरान थियो बाटोको विस्तार धनकुटामा भयो सडक छेउ आएर मान्छे बस्न थाले गाउँका केन्द्र स–साना बजारका रूपमा विकास भए,” थलथले, छिन्ताङ र त्रिवेणीघाट सहिदभूमि गाउँपालिकामा सडक सञ्जाल ब्यवस्थित भएसँगै यी स्थानमा समेत व्यापारिक केन्द्र बन्दै गएका छन् । त्यस्तै छथरजोरपाटि गाउँपालिका चुलाचुली, काजिमाने पनि विस्तारै बजार बन्दै गएका छन् । नयाँ ठाउँ खोज्दै ब्यापारिक र ब्यावसायिक ब्यक्ति तथा समूह, संघसंस्थाका साथै निजी लगानीका बैंक र वित्तीय संस्था पनि सडक आसपासमै गाउँगाउँ पुगेका छन् ।
लेगुवा, पाख्रिबास, हिले, जोरपाटि, सिंधुवा र वसन्तपुरजस्ता ग्रामीण केन्द्र सडकसँगै बजारका रूपमा विस्तार हुँदै गएका स्थान हुन् । विस्तार हुँदै गएका स–साना बजारले ग्रामीण उपभोक्ताका आवश्यकता पनि स्थानीयस्तरमै परिपूर्ति गरेको छ । मध्यपहाडी सडक सञ्जाल विस्तार र ब्यवस्थित हुँदै गएपछि बजार पनि विकेन्द्रिकृत भएका छन् । विकेन्द्रिकृत बजार ब्यवस्थाले गाउँको दैनिकी सहजमात्र बनाएको छैन । स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ । यसरी जोडेका यस्ता सडकको मर्मत संभार, संरक्षण र स्तरोन्नतिको दायित्व उपभोक्ता र स्थानीय सरकारलाई छ । सडकसँगै पुग्ने बजारलाई स्वस्थ र विविधतायुक्त बनाउन सके ग्रामीण भेगका बासिन्दाले समय र पैसा खर्चेर पहिलाझैं सदरमुकाम धाउनु पर्ने बाध्यता सधैंका लागि अत्य हुने थियो ।
विकास घिमिरे

प्रतिक्रिया दिनुहोस्