समृद्धिका लागि स्थिरता आवश्यक : अध्यक्ष गोल्छा «

समृद्धिका लागि स्थिरता आवश्यक : अध्यक्ष गोल्छा

पर्वत-नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन् ।
पर्वत उद्योग बाणिज्य संघको २८औं साधारणसभा तथा १७ औं अधिवेशनको बुधबार उद्घाटन गर्दै अध्यक्ष गोल्छाले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए । मुलुकमा आर्थिक विकासका थुप्रै सूचकहरुको सम्भावना रहेपनि लगानीको अभाव रहेको बताउँदै अध्यक्ष गोल्छाले अस्थिरताका कारण लगानीको वातावरण बन्न नसकेको बताए ।
उनले उद्योग बाणिज्य महासंघले ५२ वटा आर्थिक विकास सम्बन्धि योजनाहरु समेटेर भिजन पेपर तयार गर्न थालेको बताउँदै त्यसलाई राष्ट्रिय मार्गचित्रको रुपमा अघि बढाउने बताए । उक्त भिजन पेपर कार्यान्वयनका लागि सरकाले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धिको योजनासहित उद्योग बाणिज्य महासंघ अघि बढेको बताउँदै अध्यक्ष गोल्छाले सोहीअनुसार सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । गोल्छाले राज्य उद्योगी, व्यावसायीका लागि उदार बन्नुपर्ने बताए । उनले व्यावसायीहरुको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्ने बताए । राज्यले लगानीको सुनिश्चितता गर्ने, लगानी कर्ताहरुलाई प्रवद्र्धन गर्ने र उनीहरुको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने उनको भनाइ छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकका उद्योगी, व्यवसायीहरुको सुरक्षाका लागि महासंघ निरन्तर सक्रिय रहेको बताए । निजी क्षेत्रनै मुलुकको समृद्धिको प्रमुख साझेदार रहेको बताउँदै राज्यले जिम्मेवारी लिने हो भने लगानीको अभाव नहुने बताए । उद्योग, पर्यटन, कृषि क्षेत्रको लगानीबाट नै मुलुक समृद्ध बन्न सक्ने उनको भनाइ छ ।
जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर बी पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि तीन खम्बे अर्थनीतिलाई अवलम्वन गर्नुपर्ने बताउनुभयो । उनले सरकार र निजि क्षेत्रको साझेदारीमा सञ्चालित आयोजनाहरुनै दिगो हुने बताउनुभयो ।
संघको आगामी निर्वाचन चैत ७ गतेका लागि तोकिएको छ । सो अवसरमा वर्तमान कार्यसमितिले तीन वर्षको अवधिमा गरेका कामहरु समेटिएको स्मारिका महासंघका अध्यक्ष गोल्छा र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले विमोचन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्