शिक्षाको विकासमा बजेटको वितरण «

शिक्षाको विकासमा बजेटको वितरण

उषा अधिकारी
आर्थिक वर्ष २०७७-०७८ का लागि सरकारले विनियोजन गरेको रकम १ खर्ब ७१ अर्ब ७१ करोड रहेको छ, जुन गत वर्षको भन्दा केहीे बढी भए पनि कोरोनाबाट परेको असर कम गर्नका लागि अपुग नै देखिएको छ ।
विगतमा पटक–पटक शिक्षा क्षेत्रको बजेट न्यून भएकाले पनि अपेक्षित विकास गर्न नसकिएको भन्ने चर्चा व्यापक रूपमा उठेको थियो । शिक्षाको विकासका लागि कुल बजेटको कम्तीमा पनि २० प्रतिशत रकम विनियोजन हुनुपर्ने धारणा यससँग सम्बन्धित व्यक्तिहरूले बताउँदै आएका छन् ।
विकासको आधार भनेकै शिक्षा भएकाले यसको विकासमा गम्भीर हुनुपर्नेमा विमति नरहला । हामीले समसामयिक र व्यावहारिक शिक्षाको विकास गर्न सकेका छैनौं ।
सीपमूलक तथा रोजगारी सिर्जना गर्ने शिक्षाको विकास गर्न नसक्दा आज लाखौंको संख्यामा बेरोजगार बन्न बाध्य भएका छन् । स्वदेशमा नै रोजगारी उपलब्ध हुन नसक्दा दैनिक १ हजारभन्दा बढी युवा जनशक्ति बिदेसिने गरेका छन् ।
कोरोनाबाट प्रभावित पठनपाठनलाई कसरी अगाडि बढाउने भन्ने ठोस उपाय बजेटमा नआएकाले पनि थप अन्योल थपिएको देखिन्छ । वर्तमान परिवेशमा प्रविधिलाई आत्मसात् गरी अगाडि बढ्नुपर्नेमा कार्यकम चुनौतीपूर्ण देखिँदैन ।
विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सहयोगबाट मात्र हालको समस्यालाई समाधान गर्न सकिन्छ । शिक्षामा सबै कार्यकम पुरानै आएकाले थप उत्साहित बनाउने देखिएन ।
बिस्तारै विद्यालय संचालनमा आउँदे छन् । शैक्षिक वर्षलाई कसरी मिलाउने हो समस्या बाँकि नै छ । त्यसैले आजको आवश्यकतालाई सम्बोधन गर्न सरकार असक्षम भएको अनुभव सर्वत्र गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्