मकैसँग साटिँदै स्याउ

रुकुम-भारत तथा चीनको स्याउ नेपालका दुर्गमलगायतका लिल्लामा पुग्ने गरेको भए पनि रुकुमका दुर्गम गाउँमा उत्पादित स्याउ भने बिक्री हुन सकेको छैन । यसले गर्दा किसानलाई समस्या परेको छ । सडक सञ्जाल नपुगेका रुकुमका दुर्गम गाउँमा घोडाखच्चर र मानिसले बोकेर ढुवानी गर्दा बजारमा अन्य स्याउको भन्दा मूल्य निकै महंगो पर्ने भएपछि बिक्री नभएर खेर गएको हो ।
यहाँका किसानले उत्पादित स्याउ ढुवानीका लागि सरकारसँग अनुदान माग गरेका छन् । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँमा फलेको स्याउ अहिलेसम्म पनि बिक्री हुन सकेको छैन । गत असोजमै टिपिएका स्याउ बिक्री नभै कुहिने भएपछि स्थानीयले त्यसलाई मदिरा बनाउन थालेका छन् । पुथाउत्तरगंगा गाउँपालिकाको २ र १ नम्बर वडामा फलेका स्याउको मदिरा बनाउन सुरु गरिएको छ । स्याउ बिक्री नहुने पक्का भएपछि स्थानीयले स्याउको मदिरा बनाउन थालेका हुन् ।
२ नम्वर वडाको पेल्मा र १ नम्वर वडाको मैकोटलगायतका ठाउँमा स्याउ फल्न थालेको धेरै भएको छैन । स्याउ फलाउन थाले पनि बिक्री गर्न सम्भव नभएपछि किसानले समस्या झेलिरहेका छन् । स्याउ टिप्ने क्रममा ढुवानीमा अनुदान पाइने आशमा रहेका किसानले अनुदान नपाएपछि स्याउको मदिरा बनाउन थालेका छन् भने कतिले मकैसँग स्याउ पनि साट्न थालेको गाउँ कार्यपालिका सदस्यसमेत रहेका पेल्मा निवासी स्याउ किसान जिताराम कामीले बताए । उनका अनुसार तीन माना स्याउ बराबर एक माना मकै साटिने गरेको छ । स्याउ कुहिनु भन्दा स्याउ नफल्ने तथा कम फल्ने ठाउँतिरकासँग मकैसित स्याउ साट्न सुरु गरेका छन् । मैकोट तथा पेल्मासम्म सडक नपुगेका कारण ढुवानी नै महंगो पर्ने भएकाले आफूहरूले स्याउ बिक्री गर्न नसकेको गुनासो उनको छ ।
गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ढुवानी अनुदान दिँदा १ सय २० क्विन्टल स्याउ बिक्री भएको थियो । रोयल र डेलिसियस जातको स्याउ एक सयदेखि एक सय ४० रूपैयाँसम्म प्रतिकिलो बिक्री भएको थियो । असोजमा टिपिएका स्याउ किसानले असोजमै खच्चड मार्फत गाडि पुग्ने ठाउँ सेरासम्म ढुवानी गरेका थिए । परियोजनाले प्रतिकिलो स्याउ ढुवानीका लागि २७ रूपैयाँ अनुदान दिएको थियो भने किसानले प्रतिकिलो १५ रूपैयाँ तिरेर स्याउ ढुवानी गरेका थिए । यो वर्ष पनि ढुवानी अनुदानको आशमा बसेका किसान स्याउ कुहिन लाग्दासमेत ढुवानी अनुदान नआएपछि स्याउबाट मदिरा र मैकसँग साट्न बाध्य भएका हुन् । कतिपय किसानले केही स्याउ बाग्लुङसम्म खच्चडबाट ढुवानीसमेत गरेका थिए । खच्चडबाट ढुवानी गर्दा महंगो पर्ने भएकाले बुर्तिवाङतर्फ स्याउ पठाउन सम्भव नभएको कामीले बताए । “स्याउ फलाइयो तर बिक्री नभएपछि हामी समस्यामा छौं, स्थानीय सरकारले ठूलो अनुदान दिन सक्ने अवस्था छैन,” कामीले भने, “संघीय र प्रदेश सरकारले माल भएर पनि चाल नपाएपछि हामी मारमा परेका छौं ।”
पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ वडाका साथै अन्य वडामा हरेक वर्ष स्याउ लगाउने किसान त बढ्दैछन् नै स्याउका बोट र स्याउ फल्ने बोट पनि बढेकै छन् । हरेक बर्ष स्याउ फल्ने बोट बढ्ने भएपछि स्याउ उत्पादन बढ्दै छ । फलेका स्याउ बिक्री हुन नसक्ने भएपछि आफूहरू समस्यामा परेको स्याउ किसान लक्ष्मीप्रसाद पुन मगरले बताए । बिक्री नहुने पक्का भएपछि फलेका स्याउ टिप्न पनि ध्यान नदिइएको उनको भनाइ छ । “स्याउ फलेकै थियो, फल्ने बोट पनि बढेका थिए, तर बिक्री हुने सम्भावना नभएपछि स्याउ टिप्न वास्ता गरिन, स्याल, ओद र कागले खायो, कतिपय स्याउ बाटो हिँड्नेले खाए,” उनले भने ।
सरकारले हुम्ला, जुम्लामा दिएको जस्तै ढुवानी अनुदान दिन सके पुथाउत्तरगंगा गाउँपालिकबाट धेरै स्याउ बाहिरिने र स्थानीयको जीवनस्तर पनि उकासिने सरोकारवालाहरूको भनाइ छ । पुथाउत्तरगंगा गाउँपालिकाको १, २, ५, १० र ११ नम्बर वडामा धेरै स्याउका बोट छन् । त्यसका अलावा ६, ९, १२, १३ र १४ नम्बर वडाका विभिन्न ठाउँमा पनि स्याउका बोट छन् । गाउँपालिकाभर ३० हजार बढी स्याउका बोट छन् । जसमा ३ हजार बढी स्याउ फल्न थालेका छन् । घरैपिच्छे स्याउका बोट लाउन थालिए पनि बजारसम्म पु¥याउन उपयुक्त माध्यम वा ढुवानी गर्न महंगो पर्ने हुँदा किसान चिन्तित छन् । हाल पुथाउत्तरगंगा गाउँपालिका–१३, पिपलटुङसम्म मात्रै गाडि पुगेको छ । किसानले स्याउ टिप्ने समयमा भने गाडि त्यहाँसम्म पनि पुग्न सम्भव छैन ।